न्यायपालिकालाई संकटबाट बचाउन प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्छ : सर्वोच्च बार
सर्वोच्च अदालत बार एसोसिएसनले न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि मार्गप्रशस्त गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई आग्रह गरेको छ।
काठमाडौं, कात्तिक ८ : सर्वोच्च अदालत बार एसोसिएसनले न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि मार्गप्रशस्त गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई आग्रह गरेको छ ।
सोमबार विज्ञप्तिमार्फत सर्वोच्च बारले अहिलेको परिस्थितिमा न्यायिक नेतृत्व सम्पूर्ण रूपमा असफल भएको ठहरका साथ प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।
न्यायपालिकाभित्रका विकृति विसंगति अन्त्य गरी न्याय सम्पादन तथा न्याय प्रशासन सञ्चालन गर्न न्यायिक नेतृत्वले प्रभावकारी भूमिका वहन गर्न नसकेको ठहर पनि सर्वोच्च बारको छ ।
‘सर्वोच्च अदालतको नेतृत्वबाट सिर्जित विश्वासको संकटका कारण आज २०७८ कात्तिक ८ मा सर्वोच्च अदालतको न्याय सम्पादनको काम कारवाही पूर्ण रूपमा ठप्प भई नागरिकको न्यायिक हक प्रचलनमा गम्भीर अवरोध सिर्जना भएको यस बारको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उचित न्यायिक नेतृत्व गर्न नसकेका कारण आजैका लागि तोकिएको पूर्ण बैठक (फुलकोर्ट) समेत बस्न नसकेबाटै वर्तमान प्रधानन्यायाधीशले नेपालको संविधानको धारा १३६ बमोजिम प्रभावकारी भूमिका वहन गर्न असफल र असक्षम रहेको यस बारको निष्कर्ष छ ।’











