कांग्रेस निर्वाचन समितिले महाधिवेशन तालिकाबारे पदाधिकारीसँग छलफल गर्ने

काठमाडौं, कात्तिक ८ : सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टी नेतृत्वसँग छलफल गर्ने भएको छ ।
समितिको सोमबार बसेको बैठकले महाधिवेशनको कार्यतालिका बारे छलफल गर्नका लागि पार्टी पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले काठमाडौं प्रेसलाई बताए ।
आज बसेको निर्वाचन समितिले बैठकले मंगलबार पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको भएपछि समय भने तय गरि नसकिएको श्रेष्ठले जानकारी दिए । मंसिर ९–१३ गतेका लागि तोकिएको कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार अधिवेशन हुन सकेको छैन ।
निर्वाचन समितिले वडा अधिवेशन नभएका जिल्लामा तिहारअघि पालिका अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । हिमाली २१ जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने कांग्रेसको निर्णय थियो, तर १३ जिल्लामा मात्रै अधिवेशन भएको छ ।
अन्य अधिकांश जिल्लामा पालिका अधिवेशन मात्रै भएको छ ।











