Kathmandu Press

राजीनामा दिएर ‘फेस सेभ’ गर्न प्रधानन्यायाधीशलाई कानून व्यवसायीको आग्रह

कानून व्यवसायीहरूले राजीनामा दिएर ‘फेस सेभ’ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सल्लाह दिएका छन्।
राजीनामा दिएर ‘फेस सेभ’ गर्न प्रधानन्यायाधीशलाई कानून व्यवसायीको आग्रह

काठमाडौं, कात्तिक ८ : कानून व्यवसायीहरूले राजीनामा दिएर ‘फेस सेभ’ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सल्लाह दिएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरूले सर्वोच्च अदालतकै न्यायाधीशहरूले ‘विद्रोह’ गरेको सन्दर्भमा राजीनामा दिएर समस्यालाई निकास दिनुमै प्रधानन्यायाधीश जबराको हितमा हुने बताए ।

पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीशले ढिलो नगरी अब २–३ घण्टाभित्रै राजीनामा दिनुपर्ने बताए । ‘उहाँले आजै राजीनामा दिनुपर्छ । व्यक्तिगत रूपमा पनि यसले हित हुँदैन, उहाँ जति बस्नुहुन्छ उहाँलाई त्यति ठूलो क्षति हुन्छ,’ श्रेष्ठले भने, ‘न्यायालय र व्यक्तिगत क्षति रोक्ने हो भने तत्काल राजीनामा दिनुपर्छ । १४ जना न्यायाधीशले विद्रोह गर्नुभयो । कमान्डर मात्रै बाँकी भएको युद्ध कस्तो हुन्छ ? धेरै समय नलगाउनुहोस् । अब २–४ घण्टाभित्रै राजीनामा दिनुपर्छ ।’

प्रधानन्यायाधीशमाथि अझै धेरै प्रश्न उठ्नेवाला रहेको दाबी गर्दै श्रेष्ठले भने, ‘अहिले बाहिर–बाहिरको कुरा आएको छ, भित्री कुरा प्रवेश गरेपछि अझै छताछुल्ल हुन्छ । धेरै घण्टा पनि नलगाउनुहोस । तत्काल राजीनामा दिनुहोस् ।’

यस्तै, पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले अहिलेको अवस्थामा न्यायालयको साख जोगाउनका लागि प्रधान्यायाधीशले निकास दिनुपर्ने बताए । ‘न्यायालयको विषयमा गम्भीर प्रश्न उठेको छ । प्रधानन्यायाधीशको बारेमा जुन विषय उठान भएका छन् । उहाँमाथि जति पनि आरोप र विवाद आएका थिए, त्यो स्पष्ट पार्ने जिम्मेवारी थियो । तर अब समय घर्किसकेको छ, फस्र्योट गर्ने समय गुज्रिसकेको छ,’ उनले भने, ‘न्यायपालिका जनताको अभिभावक हो । त्यसको भावना र मर्मलाई न्यायिक नेतृत्वले आत्मसात गर्नुभएन । राजनीतिक दलसँग सौदावाजी गर्नुभयो ।’

वरिष्ठ अधिवक्ता परशुराम कोइरालाले पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिएर फेस सेभ गर्नुपर्ने बताए । मैदानमा अब टिम क्याप्टेनले मात्रै खेलेर केही नहुने भन्दै उनले प्रधानन्यायाधीशले राजीनामा दिँदा नै राम्रो हुने तर्क गरे । १४ जना न्यायाधीशले फुलकोर्टमा जाँदैनौँ भन्नु ठूलो प्रश्न भएको उनले बताए ।

वरिष्ठ अधिवक्ता महेश नेपालले भने प्रधानन्यायाधीश जबराले स्वेच्छाले राजीनामा दिए अलग कुरा भएको तर कसैले माग्दैमा राजीनामा दिन नहुने धारणा राखे । प्रधानन्यायाधीश जबराको सवालमा कुनै एउटा विषयलाई हेरेर हट्नुपर्छ वा पर्दैन भन्न नहुने उनको टिप्पणी थियो । ‘मलाई चित्त बुझ्यो कि बुझेन भनेर राजीनामा वा हट्नुपर्छ भन्ने कुरा गर्नुहुँदैन, प्रधानन्यायाधीशले संवैधानिक अधिकारभन्दा बाहिर गएर भूमिका खेलेको हो भनेर मान्ने हो भने उहाँलाई राजीनामा दिएर मात्रै उन्मुक्ति दिनुहुँदैन । प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता गर्नुपर्छ,’ उनले भने, ‘साँच्चै नै उहाँले गलत गर्नुभएको छ भने उहाँलाई महाभियोग लगाएर पदबाट हटाउनुप¥यो । दलहरूले आफ्नो दायित्व पूरा नगर्ने अनि भन्ने के भने प्रधानन्यायाधीशले ठाउँ खाली गर्नुपर्छ, यसको म पक्षमा छैन ।’

प्रकाशित मिति: १७:१४ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्