हङकङमा पत्रकारिता गर्दै आएका राईको खोटाङमा भिरबाट लडेर मृत्यु
खोटाङ, कात्तिक ८ : हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ।धरान नगरपालिका–१५ घर भई हाल हङ्कङमा...
खोटाङ, कात्तिक ८ : हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ।
धरान नगरपालिका–१५ घर भई हाल हङकङमा बसेर पत्रकारिता गर्दै आएका ५३ वर्षीय पत्रकार राईको आइतबार साँझ खोटाङको पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो।
खोटाङबाट भोजपुर जानेक्रममा आइतबार साँझ करिब साढे ५ बजेको समयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित पङ्खुखोला नजिकैको भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए।
‘मृतक पत्रकार राई काठमाडौंको नागार्जुन नगरपालिका–२ बस्ने सशस्त्र प्रहरी बलका पूर्व प्रहरी उपरीक्षक (एसपी) प्रेम श्रेष्ठसँग घुम्न आउनुभएको रहेछ,’ उनले भने, ‘दिक्तेलबाट भोजपुर जानेक्रममा दोर्पास्थित पङ्खुखोलानजिकै गाडीबाट ओर्लिएर दिसा बस्न जाने क्रममा भिरबाट लडेर करीब २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।’
हङकङबाट नेपाली भाषामा प्रकाशन हुने पत्रिका ‘एभरेस्ट साप्ताहिक’का प्रकाशक एवं सम्पादक रहेका राईको शव परीक्षणका लागि आइतबार राति नै जिल्ला अस्पताल दिक्तेलमा ल्याएर राखिएको छ। पत्रकार राईको शव हङकङबाट आफन्त आएपछि परीक्षण गरेर जिम्मा लगाउने प्रहरीले जनाएको छ।
पत्रकार राईको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए। ‘मृतक पत्रकार राई र एसपी सा’ब साथीसाथी हुनुहुँदो रहेछ,’ उनले भने, ‘नेपाल आएको समयमा साथीसाथी सँगै भ्रमण निस्कनुभएको समयमा घटना भएको बुझिएको छ।’
पत्रकार राईको मृत्युपछि पूर्व एसपी श्रेष्ठ र चालकसहित तीनजनालाई जिल्ला प्रहरी कार्यालयमै राखेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । यद्यपि, उनीहरुलाई पक्राउ गरेर राखिएको भने होइन।
मृतक पत्रकार राईसहितको टोली प्रदेश २–०१–०२४ च ३८०२ नम्बरको निजी कार लिएर भ्रमणमा आएको बुझिएको छ। घटनापछि उनीहरुले प्रयोग गरेको कारसमेत जिल्ला प्रहरी कार्यालयमै राखिएको छ।
मृतक पत्रकार राई नेपाल पत्रकार महासङ्घ हङ्कङ शाखाका वर्तमान अध्यक्ष, एनआएनका पूर्व महासचिव, नेपाल आदिवासी जनजाति महासङ्घ हङकङका वर्तमान अध्यक्ष, किराँत राई यायोख्खा हङकङका पूर्वअध्यक्ष एवम् वर्तमान सल्लाहकारलगायतको भूमिकामा थिए। पत्रकार राईलाई यसै वर्ष हङकङ सरकारले ‘चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’ले सम्मान गरेको थियो।
दुई दशकदेखि हङकङमा पत्रकारिता तथा विभिन्न सङ्घसंस्थाको नेतृत्व गरिरहेका मृतक पत्रकार राईका दुई छोरा युके तथा आमा र पत्नी हङकङमा रहेको पारिवारिक स्रोतले जनाएको छ। पुर्ख्यौली घर ओखलढुंगा भएका मृतक पत्रकार राईका धरानस्थित आफन्त सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ।











