Kathmandu Press

गृहमन्त्रीको पहलमा सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच २० फागुन ०७७ मा भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा आइतबार छलफल भएको छ ।
गृहमन्त्रीको पहलमा सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

काठमाडौं, कात्तिक ७ : सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच २० फागुन ०७७ मा भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा आइतबार छलफल भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको पहलमा गृह मन्त्रालयमा भएको छलफलमा दुवै पक्षले तथ्यांक संकलन गरी ‘भेरिफाइ’ गर्ने र कानूनसम्मत नेकपाका विभिन्न घटनामा पक्राउ परेका बन्दीहरूलाई रिहाइ गर्ने तथा मुद्दा फिर्तालाई अगाडि बढाउन दुवै पक्ष सहमत भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका तर्फबाट गृहमन्त्री खाण, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू र महान्यायाधिवक्ता खम्मबहादुर खाती तथा नेकपाको तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।

विभिन्न स्थानमा रहेका कानूनसम्मत फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने र कैदीबन्दीलाई रिहाइ गर्ने विषय सकारात्मक रूपमा अघि बढेको महान्यायाधिवक्ता खातीले जानकारी दिए । आइतबारको छलफलमा नेकपाले विभिन्न जेलमा रहेका पार्टीका कैदीबन्दी र मुद्दाको सूची सरकारलाई जानकारी गराएको छ ।

यस्तै, दुवै पक्षबीच सहमति र सहकार्यमा अघि बढ्ने विषयमा सकारात्मक छलफल भएको खातीले जानकारी दिए ।

बैठकमा नेकपाका तर्फबाट आफूहरू अब संविधान र कानूनबमोजिम पार्टीको संगठन निर्माणमा जुट्ने र त्यसमा सहयोग गर्न सरकारलाई आग्रह गरिएको महान्यायाधिवक्ता खातीले बताए । नेकपाले सूची उपलब्ध गराउने र सरकारले पनि आफ्नोतर्फबाट सूची खोजेपछि ‘भेरिफाइ’ गरी अन्तिम सूची तयार हुने भएको छ । तयार भएको अन्तिम सूचीका आधारमा बाँकी रहेका मुद्दाहरूलाई कसरी किनारा लगाउन र बन्दीहरूलाई रिहा गर्न सकिन्छ, त्यसको प्रशासनिक, कानूनी र प्राविधिक निकास निकाल्ने सहमति पनि दुवै पक्षबीच भएको छ ।

बैठक सकारात्मक रूपमा अघि बढेको र केही दिनमै नतिजा निस्कने नेकपाका प्रवक्ता प्रकाण्डले बताए ।

यसअघि २ कात्तिकमा गृहमन्त्री खाणको पहलमा नेकपा र सरकारबीच तीनबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको थियो । त्यसअघि ३१ असोजमा गृहमन्त्री खाणले सहमति कार्यान्वयनबारे सरकारी पक्षसँग तयारी बैठक गरेका थिए ।

छलफल खासगरी सहमतिको बुँदा नम्बर ३ मा उल्लेखित ‘नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्न सहमतभएको छ’ भन्नेमा केन्द्रित थियो ।

प्रकाशित मिति: २०:१३ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्