राष्ट्रसङ्घ र नेपालबीच अनुपम सम्बन्ध छ : रक्षामन्त्री डा रिजाल
काठमाडौं, कात्तिक ७ : रक्षामन्त्री डा मीनेन्द्र रिजालले विश्व शान्ति स्थापनामा नेपाली सुरक्षा फौजको अथक प्रयास र दृढ शक्तिले नेपाललाई शान्ति सैनिकको देश...
काठमाडौं, कात्तिक ७ : रक्षामन्त्री डा मीनेन्द्र रिजालले विश्व शान्ति स्थापनामा नेपाली सुरक्षा फौजको अथक प्रयास र दृढ शक्तिले नेपाललाई शान्ति सैनिकको देश भनेर परिचित गराएकामा गौरवको अनुभूति गराएको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको ७६औँ स्थापना दिवसका अवसरमा नेपाली सेनाद्वारा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आज आयोजित कार्यक्रममा उनले शान्ति सैनिकको अनुशासन, निर्देशनपालना र उच्चस्तरको व्यावसायिक कार्यले नेपाल राष्ट्रसङ्घको विश्वासिलो सहयात्री बन्न पुगेको बताए। रक्षामन्त्री डा रिजालले भने, ‘नेपाल सधैँ शान्ति सेनाको सङ्ख्या मात्र होइन, गुणस्तर वृद्धि गर्न जोड दिन्छ भन्नेमा विश्वास दिलाउँछु।’
विश्वका द्वन्द्वरत मुलुकमा स्थापना भएका ४३ शान्ति मिसनमा रही एक लाख ३५ हजार ३९९ नेपाली शान्ति सैनिकले योगदान दिइसकेका छन्। हाल विश्वका १२ शान्ति मिसनमा रही १८१ महिलासहित पाँच हजार १६८ नेपाली शान्ति सैनिक परिचालित छन्। शान्ति स्थापनामा नेपाली सुरक्षा फौजले दिएको योगदान गौरवपूर्ण रहेको बताउँदै उनले आपसी विश्वास, सहयोग र सम्मानद्वारा राष्ट्रसङ्घ र नेपालबीच बलियो एवं अनुपम सम्बन्ध स्थापित भएको स्पष्ट पारे।
विश्वमा व्याप्त द्वन्द्व अन्त्य गर्न नेपाल संयुक्त राष्ट्रसङ्घ मिलेर काम गर्छ भन्ने प्रमाणका रुपमा शान्ति सेनामा धेरै सेना पठाउने सूचीमा नेपालको स्तरोन्नतिले पुष्टि गरेको उल्लेख गर्दै रक्षामन्त्री रिजालले नेपालको शान्ति प्रयासमा राष्ट्रसङ्घले गरिरहेका सहयोगको पनि प्रशंसा गरे। नेपाल धेरै शान्ति सैनिक पठाउने मुलुको सूचीमा दोस्रो नम्बरमा छ।
सबैसँग मित्रता, कसैसँग पनि वैरभाव नराख्ने मान्यतालाई नेपालले सधैँ पालना गरिहेको बताउँदै उनले राष्ट्र सङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानूनको उद्देश्य र सिद्धान्तप्रति दृढ विश्वास राख्दै आएको बताए। राष्ट्र सङ्घको प्रयासमा शान्ति र मानवताका लागि योगदान दिने दिवङ्गत सैनिक र नागरिकप्रति श्रद्धाञ्जलि प्रकट गर्दै रक्षामन्त्री रिजालले घाइते सुस्वास्थ्यका लागि कामना गरे।
नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आयसानी इलान्का मेडागान्डा लावेले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना र मानवीय सहायता कार्यक्रममा नेपालले पु¥याउँदै आएको सहयोगको प्रशंसा गरे। बलाध्यक्ष रथी बालकृष्ण कार्कीले संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाली सेनाका अनुशासित, व्यावसायिक जनशक्तिले चुनौतीपूर्ण अवस्थामा पनि दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै आएको बताए।
नेपाली सेना शान्ति सेना निर्देशनालयका प्रमुख सहायकरथी सुदर्शन सिलवालले शान्ति सेनामा नेपालको गौरवमय इतिहास रहेको बताए। यसअघि समारोहमा स्थापना दिवसका अवसरमा संयुक्त राष्ट्र सङ्घको झण्डोत्तोलनका साथै विश्व शान्ति स्थापनाका सिलसिलामा वीरगति प्राप्त शान्ति सैनिकको सम्मानमा त्यहाँस्थित शान्ति स्मारकमा पुष्पहार अर्पण गरियो।
त्यस अवसरमा कङ्गोमा शान्ति स्थापना कार्यमा खटिरहेकै अवस्थामा विद्रोहीको आक्रमणमा परी वीरगति प्राप्त गरेका मानार्थ प्रमुख सेनानी कवीन्द्रजङ्ग थापालाई राष्ट्र सङ्घद्वारा प्रदान गरिएको ‘ड्याग ह्यामर शोल्ड मेडल’ उनका परिवारका तर्फबाट उक्त केन्द्रलाई हस्तान्तरण गरियो।
समारोहमा वीरगति प्राप्त प्रमुख सेनानी थापाकी श्रीमतीलाई नेपाली सेनाका तर्फबाट प्रशंसापत्र प्रदान गरियो। रक्षा सचिव, परराष्ट्र सचिव, पाँचखाल नगरपालिकाका प्रमुख, नेपालस्थित कूटनीति नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नेपालका तर्फबाट संयुक्त राष्ट्र सङ्घका विभिन्न नियोगमा काम गरेका पूर्वपदाधिकारी तथा शान्ति मिसनमा काम गरेका पूर्वसुरक्षाकर्मी कार्यक्रममा सहभागी थिए। संयुक्त राष्ट्र सङ्घ स्थापना दिवस (अक्टोबर २४) का अवसरमा नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रम गरेको हो।




-1757142095.jpg)




-1757142095.jpg)

