Kathmandu Press

साफ च्याम्पियनशिपमा नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

काठमाडौं, साउन २३ : भारतमा आयोजना हुने साफ यू-१५ फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको ....

साफ च्याम्पियनशिपमा नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

काठमाडौं, साउन २३ : भारतमा आयोजना हुने साफ यू-१५ फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।

भारतको कल्याणीमा हुने च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ। प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ।

नेपाल आगामी भदौ ४ गते हुन प्रतियोगिता उद्घाटन समारोहमा भारतसँग भिडने भएको हो। त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भदौ ६ गते श्रीलङ्कासँग खेल्नेछ भने १० गते बङ्गलादेशसँग र १२ गते भूटानसँग खेल्नेछ।

यसअघि नेपालमा नै सम्पन्न अघिल्लो श्रृङ्खलाको साफ च्यापियनसिपमा बङ्गलादेश च्याम्पियन बन्दा नेपाल चौथो भएको थियो। प्रतियोगिताका लागि यू-१५ का मुख्य प्रशिक्षक सुनिल श्रेष्ठ, सहायक प्रशिक्षक राजकुमार केसी र गोलकिपर प्रशिक्षक विनोद महर्जनले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन्।

छनोट हुने खेलाडीमध्ये  गोलकिपरमा ईश्वर गुरुङ, मनोज दाहाल र जिनियस केसी छन् भने डिफेन्डरमा प्रज्ञान महर्जन, अविशेक वाइवा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बू र रोशन थापा छन्।

त्यस्तै मिडफिल्डरमा जन्मेजय धामी, निराजन मल्ल, प्रदीप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, बिपिन तुम्सिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री र अनिल चौलागाईं छन्। फरवार्डमा कृष्ण अधिकारी यादव, कृष सापकोटा, सुगन जिमी र शशाङ्क बोहरा छन्।

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, साउन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्