कुन नेताको दसैं कस्तो ?
कुनै कम्युनिस्ट नेता पारिवारिक माहोलमा दसैं मनाउँदै छन् भने कोही वर्षौंदेखि दसैं नै मनाउँदैनन्। विगतमा भव्य रूपमा दसैं मनाउने गरेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल यसपालि बिरामीका कारण भीडभाडविहीन दसैं मनाउने योजनामा छन्।
काठमाडौं, असोज २९ : पूर्वप्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी ओलीले यसपालिको दसैंका लागि खासै योजना बनाएनन् । उनका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार दसैंमा यही गर्ने भन्ने ठ्याक्कै योजना नभए पनि अघिल्ला वर्षजस्तै सामान्य ढंगले मनाउने योजनामा छन्, ओली ।
कोरोना भाइरसको जोखिमका कारण धेरै भीड जम्मा नगरी सामान्य तरिकाले मनाउने योजनामा रहेको उनी बताउँछन् । ‘यसपालिको दसैंं सतर्कतासहित उहाँलाई भेट्न आउने नेता कार्यकर्तालाई भेट्नुहुुन्छ,’ उनी भन्छन्, ‘नवमीको दिन झापा जानुभएको छ, बुवासँग टीका लगाउने र आशिर्वाद लिने योजनामा हुनुुहुुन्छ ।’
अघिपछिभन्दा दसैंंमा समय हुने र माया गर्ने नेता–कार्यकर्ता टीका लगाउन आउने हुनाले फिर्ता पठाउन नमिल्ने भएकाले सीमितलाई टीका लगाइदिने योजना पनि छ, ओलीको छ ।
नेकपा (एकीकृत समाजवादी)की सचिव तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्री गुल्मीमा जन्मेकी हुन् । उनको श्रीमानको घर भने धनकुटा हो । २१ वर्षदेखि उनी काठमाडौंमै छिन् । यसपालि पनि घर पुगेर दसैं मनाउने योजना बनाएकी छैनन् ।
कोरोना भाइरसका कारण घर र माइतमा भएका बुढा आमाबुवाको स्वास्थ्यको ख्याल राख्दै काठमाडौंमै दसैं मनाउने योजना रहेको उनी बताउँछिन् । ‘दसैंंमा टीका लगाउने चलन छ, यसपालि दसैं यतै मनाउने योजनामा छौँ, बरु दसैंपछि भीडभाड कम भएपछि घुम्न जाने योजना छ ।’
एमाले नेतृ विन्दा पाण्डेको यसपालिको दसैंं परिवार सबैजना एकै ठाउँमा जम्मा भएर मनाउने योजना छ । खुुमलटारस्थित ठूलो दाइको घरमा सबै परिवार जम्मा भएर सामान्य तरिकाले दसैंं मनाउने योजनामा रहेको उनी बताउँछिन् । दसैंमा भीडभाड बढी हुने भएकाले बाहिर जाने योजना नरहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘दसैंंमा सबै परिवार एकै ठाउँमा भेटघाट गर्छौँ, बरु भ्याएँ भने दुुईवटा जति पुस्तक पढ्ने योजनामा छुु ।’
दसैंंपछि भने काठमाडौं बाहिर रिसर्चका लागि जाने योजनामा उनी छिन् । ०४६ सालको परिवर्तनअघिका भूमिगत नेताहरूलाई सेल्टर दिनेहरूको बारेमा अध्ययन गरिरहेको र सो खोजका लागि काठमाडौं बाहिर जाने योजना रहेको उनी बताउँछिन् । भन्छिन्, ‘खासगरी भूमिगत नेतालाई कसरी सहयोग गर्नुभयो, सेल्टरदाताको भूमिकाको विषयमा अभिलेखीकरणको काम गर्दैछु, त्यसका लागि काठमाडौं बाहिर जान्छु ।’ पार्टी कसले बनायो भन्ने कुरा आइरहेको बेला सेल्टरदाताको योगदान कस्तो रह्यो, कसरी नेता–कार्यकर्तालाई खुवाए, पिलाएलगायतको खोज–अनुसन्धान पूरा गर्ने उनको मिसन छ ।
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल यो वर्षको दसैं गत वर्षको जस्तो भेटघाट, घुमघाम नहुने बताउँछन् । भर्खरै मात्र दिल्लीमा उपचार गरेर आएका कारण आराम गर्ने योजनामा छन् उनी । ‘विगत वर्षमा निकै उत्साहजनक तरिकाले दसैं मनाउँथ्यौँ, यो वर्ष भने म आराम गरेर मनाउँछु,’ उनी भन्छन्, ‘मेरा परिवार, आफन्तलगायत सम्पूर्ण देशवासीलाई दसैंको विशेष शुभकामना छ ।’
गएका वर्षहरूमा खनालको घरमा दुई–चार सय नेता–कार्यकर्ताको भीड लाग्थ्यो । यस वर्ष त्यस्तो भीडभाड नगरिने उनी बताउँछन् । एकआध नेताहरूसँग भेटघाट गरे पनि सामाजिक दूरी कायम गरी स्वास्थ्यप्रति विशेष सावधानी अपनाइने उनी बताउँछन् । भन्छन्, ‘दसैंको मौका पारी भेट्न आउने केही सीमित नेताहरूलाई सम्पूर्ण नियम पालना गरी भेट्ने छु ।’
एमाले उपाध्यक्ष तथा वागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ०३६ सालमा भूमिगत भई हिँड्दादेखि नै दसैं मनाउन छोडेकी हुन् । पूर्ण रूपमा पार्टीको कार्यकर्ता भएपछि जनताको माझमा दसैं मनाउँदै आएको उनी बताउँछिन् । ‘अधिकांश समय जनतासँग बिताउँछु तसर्थ जनताका माझ जनताले जस्तो मनायो उसैगरी मनाउँदै आएकी छु,’ उनी भन्छिन् । यसपालिको दसैंमा पनि उनी विभिन्न कार्यक्रममा जाने र शुभकामना आदानप्रदान गर्ने योजनामा छिन् । दसैं विशेष भनेर टीका, जमरा थाप्ने चलन नरहेको तर भेटघाट शुभकामना लिनेदिने गरेको उनी बताउँछिन् ।
वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ले ०४१ सालदेखि नै दसैं मनाएका छैनन् । यसपालि पनि त्यसैको निरन्तरता हुने उनी बताउँछन् ।