Kathmandu Press

भक्तपुर अस्पतालमा थन्कियो डायलाइसिस मेशिन

भक्तपुर, माघ १६ : भक्तपुर अस्पतालमा डायलायसिस सेवा सञ्चालन गर्नका लागि दाताले दिएको दुई मेशिन थन्किएर बसेको छ ।

जर्मनीको एक दातृ संस्था....

भक्तपुर अस्पतालमा थन्कियो डायलाइसिस मेशिन

भक्तपुर, माघ १६ : भक्तपुर अस्पतालमा डायलायसिस सेवा सञ्चालन गर्नका लागि दाताले दिएको दुई मेशिन थन्किएर बसेको छ ।

जर्मनीको एक दातृ संस्थाले दिएको दुई करोड रूपैयाँ बराबरका दुई डायलाइसिस मेशिन चिसो भुइँमा ११ महिनादेखि थन्किएर बस्दा खिया लागेर बिग्रने अवस्थामा पुगेको छ ।

अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले डायलाइसिस मेशिन सञ्चालन गर्न अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुधा देवकोटालाई आफू अध्यक्ष हुँदादेखि नै पटक–पटकभन्दा पनि अटेर गरेर मेशिन थन्क्याएर राखेको बताए ।

Hardik ivf

खड्काले भने – “म अध्यक्ष हुँदा दातृ संस्थालाई गुहारेर दुई करोड रूपैयाँ पर्ने दुई वटा डायलाइसिस मेशिन ल्याएँ । मैले मेशिन सञ्चालनमा ल्याउन खोजेको थिएँ तर सकिनँ । अहिले पनि मैले पटक–पटक ती मेशिन सञ्चालनमा ल्याउन मेडिकल सुपरिन्टेन्डेन्टलाई भन्दै आएको छु तर मेशिन सञ्चालनमा आएन । अब दातृ संस्थाले मेशिन नै फिर्ता लगेर अरू अस्पताललाई दिन्छु भन्दैछ ।”

दातृ संस्थाले केही दिनअघि मात्रै त्यो मेशिनबाट कतिजना बिरामीले सेवा पाए भनेर सोधे पनि मेशिन सञ्चालनमा नआएको जानकारी पाएपछि मेशिन सञ्चालनमा नल्याए अर्को अस्पताललाई दिने जानकारी गराएको उनले बताए ।

उक्त मेशिन सञ्चालनमा आए थप तीन करोड रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको दातृ संस्थाबाट उक्त सहयोगसमेत नआउने अवस्थामा पुगेको खड्काको भनाइ छ ।

अस्पतालको चिसो भुइँमा मेशिन थन्क्याएर राख्दा खिया पर्न थालेको छ । अस्पतालका प्रशासन प्रमुख विश्वराम न्यौपानेले अस्पतालमा डायलाइसिस मेशिन आएको आफूले हल्ला मात्रै सुनेको बताए । उनले भने – “कसले मेशिन ल्यायो ? कसरी मेशिन आयो ? के मेशिन हो ? कुन अवस्थामा छ ? सञ्चालनमा आउँछ कि आउँदैन ? यसबारे मलाई केही थाहा छैन । म प्रशासन प्रमुख भए पनि मेशिन आउँदा र आएपछि पनि मलाई जानकारी गराइएको छैन । यसबारे मलाई केही थाहा छैन । मेडिकल सुपरिन्टेन्डेन्टलाई सोध्नुस् ।”

यसबारेमा जानकारी लिन खोज्दा अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा. सुधा देवकोटा सम्पर्कमै आईनन् ।

भक्तपुर अस्पतालसँगै जोडिएको शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रमा मिर्गौलाको डायलाइसिस गर्ने बिरामीले मेशिन नपाउँदा चार सय बिरामीले नियमित रूपमा डायलाइसिस गर्न पालो कुरेर बसेका छन् । केन्द्रका केही मेशिन बिग्रिएको र बिरामीको चाप अत्यधिक रूपमा बढेपछि मेशिन अभावमा बिरामीले पालो कुर्नुपरेको छ भने सँगैको भक्तपुर अस्पतालमा आएको मेशिन ११ महिनादेखि थन्किएर बसेको छ ।

केन्द्रले उक्त मेशिन माग गर्दा पनि भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. देवकोटाले मेशिन नदिएको र सञ्चालनमा पनि नल्याएको गुनासो बढेको छ ।

एउटा मेशिनबाट एक दिनमा आठजना बिरामीको डायलाइसिस गर्न सकिन्छ । दुई वटा मेशिन थन्किँदा दैनिक १६ जना बिरामी सेवाबाट वञ्चित हुनुपरेको छ ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख एवम् भक्तपुर अस्पतालका पूर्व अध्यक्ष नवराज गेलालले सक्षम नेतृत्व नहुँदा भक्तपुर अस्पतालको सेवा लथालिङ्ग भएको गुनासो चौतर्फी आएको बताए ।

अस्पतालमा आएको मेशिनसमेत थन्किनु नराम्रो भएको बताउँदै आफू अध्यक्ष हुँदा सघन उपचार कक्ष सञ्चालन गर्न ल्याएको मेशिन वर्षौंसम्म थन्काएर राखेको र चौतर्फी दबाब दिएपछि बल्ल सघन उपचार कक्ष सञ्चालन नगरी ‘हाइकेयर युनिट’ सञ्चालनमा आएको उनले बताए ।

अस्पतालका अर्का पूर्व अध्यक्ष सुरेश न्यौपानेले डायलाइसिस मेशिन खिया लाग्ने अवस्थामा पुगेको आफूले जानकारी पाएको बताउँदै हालै नियुक्त अस्पताल अध्यक्ष र अस्पताल प्रशासनसँग उक्त मेशिनको व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।

अस्पतालका अध्यक्ष मिलन सुवालले आफू आएपछि अस्पतालको बेथिति अन्त्य गर्न र थन्किएर रहेको डायलाइसिस मेशिनलाई सञ्चालन गर्ने वा सेवा प्रदायक अर्को अस्पताललाई हस्तान्तरण गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।

 

प्रकाशित मिति: १६:४६ बजे, बुधबार, माघ १६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्