Kathmandu Press

सेक्सपियरको ‘एज यु लाइक इट’ : प्रेम, सत्ता र शक्तिको संगम

ग्रेटा राणाले अनुवाद र निर्देशन गरेको सेक्सपियरको नाटक ‘एज यू लाइक इट’मा प्रेम, सत्ता र शक्तिलाई चित्रण गरिएको छ। ६ महिनाको अभ्यासको नतिजाका रूपमा कलाकारहरूको बेजोड प्रस्तुती देख्न सकिन्छ।
सेक्सपियरको ‘एज यु लाइक इट’ : प्रेम, सत्ता र शक्तिको संगम

काठमाडौं, असोज २२ : ओर्ल्यान्डो आफ्ना कामदार एडमसँग झोँकिन्छन्, ओर्ल्यान्डोका दाजु ओलिभरको क्रुुरता र व्यवहारलाई लिएर गुनासो पोखिरहेका हुन्छन्। ओर्ल्यान्डो र ओलिभरका पिता रोल्यान्ड डे बोइसको भर्खरै मृत्यु भएको हुन्छ। मृत्युअघि रोल्यान्डले ओर्ल्यान्डाेको ख्याल राख्नु भने पनि दाइ ओलिभरले त्यसो गर्दैनन्। बरु उल्टो भाइलाई शिक्षा, रेस्लिङ तालिमलगायत केही पनि जिम्मेवारी पूरा गर्दैनन्। साझेदारीका लागि अस्वीकार गर्ने दाजु र भाइबीच कुस्ती चल्छ। ओर्ल्यान्डोले दाइ ओलिभरलाई पछारेर चुनौती दिन्छन् र त्यहाँबाट झोँक्किँदै निस्किन्छन्।

नाटकका अर्का पात्र हुन्, चार्ल्स। उनी रेस्लर हुन्, उनले ओलिभरलाई भेट्छन्। रेस्लिङमा ओर्ल्यान्डोलाई चोट पुर्‍याउन सकिन्छ भनेर ओलिभरले रेस्लर चार्ल्सलाई प्रश्न गर्छन्। सोहीअनुुरूप ड्युक फ्रेडरिकको अगाडि चार्ल्सले ओर्ल्यान्डाेलाई हराउने योजना बनाउँछन्, ड्युक फ्रेडरिक राजा हुुन्। तर, ओलिभरले भाइ ओर्ल्यान्डाेको साहसबारे चार्ल्सलाई सचेत गराएका हुुन्छन्।

नाटकका पात्र ड्युक फ्रेडरिकले राज्यसत्ता कब्जा गरेका हुन्छन्। फ्रेडरिकका दाइ ड्युक सिनियरलाई राज्यबाट निष्कासन गरेपछि उनी अर्डेनको जंगलमा बफादार भएर प्राकृतिक जीवन बाँचिरहेका हुन्छन्। सहयोगी र गोठालाहरू ड्युक सिनियरको सरल जीवनशैलीका पारखी हुुन्छन्। ड्युक सिनियरकी छोरी रोजालिन्ड र ड्युक फ्रेडरिककी छोरी सेलिया निकै मिल्ने साथी हुन्छन्। एकअर्काका सारथिजस्ता, जो सँगै खान्छन्, सँगै दुःख, सुख साट्छन्। एकअर्काका गोप्यकुरा साटासाट गर्छन्।

Hardik ivf

रेस्लर चार्ल्स र ओर्ल्यान्डाेबीच रेस्लिङ तय हुन्छ। ड्युक फ्रेडरिक, उनी छोरी रोजालिन्ड, सेलिया र सेवक टचस्टोनले रेस्लर चार्ल्स र ओर्ल्यान्डाेबीचको रेस्लिङ हेरिरहेका हुन्छन्। रेस्लिङको सुरुमा चार्ल्सले ओर्ल्यान्डाेलाई पछार्छन्। खेलको अन्तिममा भने ओर्ल्यान्डाेले बहादुरी प्रदर्शन गर्छन् र जित्छन्।

ओर्ल्यान्डाेको बहादुरी र धैर्यको पारखी हुन्छिन्, रोजालिन्ड। उनको आँखामा ओर्ल्यान्डाेप्रतिको प्रेम झल्किन्छ। रोजालिन्ड र ओर्ल्यान्डाेबीच पहिलो नजरमै प्रेम अंकुराउँछ। भनिन्छ नि ‘पेहेली नजरमे भी प्यार होताहे’ प्रकारको। दुुईबीच केही क्षण नजर जुध्छ, एक आपसमा हराउँछन् र केही संवाद गर्छन्। रोजालिन्डले चम्किलो लकेट लगाएकी हुन्छिन्,  आफूले लगाएको लकेट प्रेमपूर्वक ओर्ल्यान्डाेलाई पहिराइदिन्छन्। र, प्रेमको उपहार दिएर साथी सेलियासँग जान्छिन्। रोजालिन्डको प्रेमिल उपहार पाएका ओर्ल्यान्डाे एकटकले रोजालिन्डलाई हेरिरहेका हुुन्छन्।

ओर्ल्यान्डाे र ओलिभरबीचको तिक्तता दिनप्रतिदिन बढिरहेको हुन्छ। केही समयपछि ओर्ल्यान्डाेविरुद्ध ओलिभरले गरेको षडयन्त्र आफ्ना सेवकबाट ओर्ल्यान्डाेले थाहा पाउँछन्। ओलिभरका गोठाले कामदार एडम र ओर्ल्यान्डाे मिल्ने साथी हुन्छन्। षडयन्त्रका बारेमा ओर्ल्यान्डाेले उनैबाट जानकारी पाउँछन्। र, दुवैजना आर्डेन जंगलमा जान्छन्। जंगलमा दुुईजना लामो समय हिँडेकाले थकित र कमजोर हुन्छन्। आर्डेनको जंगलमा भोकै, प्यासै यात्रा गरेका दुुईमध्ये एडम निकै कमजोर हुुन्छन्, उनी हिँड्न नसक्ने अवस्थामा पुुग्छन्।

ओर्ल्यान्डाे जंगलमा खानेकुरा खोज्न हिँड्छन्। सोहीक्रममा उनी ड्युक सिनियर भएको ठाउँमा पुुग्छन्। आफूसँग भएको तरबारको सहारामा ड्युक सिनियरलाई धम्क्याएर खानेकुरा माग्छन्। ओल्र्यान्डोको थकित अनुहार देखेर ड्युक सिनियरलाई दया लाग्छ, उनले ओर्ल्यान्डाेलाई सबै खानेकुरा लिएर जाऊ भन्छन्। कैयौँ दिनदेखिका भोका, प्यासा ओर्ल्यान्डाेले ड्युक सिनियरलाई धन्यवाद दिन्छन् र आफ्ना साथीलाई शरण दिन बिन्ती गर्छन्। थकित र कमजोर दुुई यात्री ड्युक सिनियर भएको ठाउँमा शरण लिन पुुग्छन्।

निकै भलाद्मी, सहयोगी र शान्त स्वभावका ड्युक सिनियरले आफूले खान लागेका फलफूल एडमलाई खान दिन्छन्। र, उनीहरूलाई आश्रय पनि दिन्छन्। ड्युक सिनियरको त्यो सहयोगी व्यवहार देखेर ओर्ल्यान्डाे चकित पर्छन्। यति सज्जन मान्छे पनि हुन्छन्, बिनायुद्ध, बिनाद्वन्द्व सहयोग गरेको देख्दा ओल्र्यान्डोले हार्दिकता जनाउँछन्।

ओर्ल्यान्डाेको प्रेममा डुुबेकी रोजालिन्डको प्रेमको बारेमा उनकी साथी सेलियालाई मात्र जानकारी हुुन्छ।  रोजालिन्डलाई  ड्युक फ्रेडरिकल राज्यबाट बहिष्कार गर्ने सूचना पाएपछि रोजालिन्ड र सेलिया राज्यबाट भागेर आर्डेनको जंगलमा जाने निर्णय गर्छन्। रोजालिन्ड र सेलिया मात्र जंगलमा जाँदा खतरा हुने डरले उनीहरूले सहयोगी टचस्टोनलाई पनि जान मनाउँछन्। र, टचस्टोनले उनीहरूको यात्रामा साथ दिन्छन्।

आर्डेनको भयानक जंगलमा सुरक्षित रहन रोजालिन्डले एक जवानको पहिरन लगाएकी हुुन्छिन्। सेलियाले सामान्य गोठालाले लगाउने पहिरन लगाएकी हुुन्छिन्। आर्डेनको जंगलमा लुक्न हिँडेका तीन पात्रहरू बिनागन्तव्य भौँतारिइरहेका हुन्छन्। थकित तीन यात्रीमध्ये टचस्टोनको भूमिका निकै प्रशंसनीय छ, नाटकमा। घना जंगलमा गोठालाहरूको आवतजावतले तीनजना निकै भयभित देखिन्छन्। कोही आएको, कुरा गरेको उनीहरू लुकेर ध्यानपूर्वक सुन्छन्।

यता, ड्युक फ्रेडरिक भने आफ्नी छोरी राज्यमा नभएको कुराले क्रोधित हुन्छन्। फ्रेडरिकले छोरी हराउनुको पछाडि ओर्ल्यान्डाेको हात रहेको शंका गर्छन्। अनि, फ्रेडरिकले ओलिभरलाई निर्देशन दिन्छन्। यदि ओलिभरले ओल्र्यान्डो पत्ता नलगाए उनका बुुवाले छोडेर गएका भएभरको सम्पत्ति कब्जा गर्ने धम्की दिन्छन्। फ्रेडरिकको कुरा सुन्दै गर्दा ओलिभरलाई थाहा हुन्छ, उसको भाइ ओर्ल्यान्डाे सोही जंगलमा छ, जहाँ रोजालिन्ड गएकी हुन सक्छिन्। फ्रेडरिकले सम्पती कब्जा गर्ने डरले ओलिभर ओल्र्यान्डोलाई खोज्न सहमत हुन्छ र अर्डेनको जंगलमा जान्छ।

यता, ओर्ल्यान्डाे रोजालिन्डको प्रेममा परेर कवि बनिसकेका हुन्छन्। र, रोजालिन्डको यादमा रुखका हाँगा–हाँगामा कविता लेखिएको कागज टाँस्दै हिँडेका हुन्छन्। सोही जंगलमा रोजालिन्ड, सेलिया र टचस्टोन हिँडिरहेका हुन्छन्, उनीहरूले रुखमा टाँसिएका कविता लेखिएका पानाहरू फेला पार्छन्। टचस्टोनले उक्त कविता चिच्याई-चिच्याई पढ्छ, कवितामा उल्लेख गरिका शब्दहरू सुनेर रोजालिन्ड भने लाजले भुतुक्क हुन्छिन्। त्यही समयमा ओल्र्यान्डोले रुखमा टाँसिरहेको दृश्य रोजालिन्ड, सेलिया र टचस्टोन लुकेर हेरिरहेका हुन्छन्।

सोही समयमा ज्याक्स आउँछन् र ओर्ल्यान्डाेलाई कविता लेखिएका पानाहरू रुखमा नटाँस्न अनुरोध गर्छन्। ओर्ल्यान्डाेलाई देख्नासाथ उत्साही हुुने रोजालिन्ड नाटकीय शैलीमा ओर्ल्यान्डाेलाई अभिवादन गर्छिन्, नयाँ युवकजसरी। ओर्ल्यान्डाेको प्रेम अभिव्यक्ति देखेर रोजालिन्डले प्रेमको उपचार गर्न सक्ने कुरा बताउँछिन्। र, भरोसा दिलाउँछिन् र बुुझ्न खोज्छिन्, ओर्ल्यान्डाेको प्रेम। तर, ओर्ल्यान्डाेलाई त्यो जवान जो पुरुषको भेषमा छ, ऊ नै रोजालिन्ड हुन् भन्ने थाहा पाउँदैनन्। यता, रोजालिन्डसँग गएका टचस्टोन पनि अड्रे नामक एक गोठाले केटीसँग प्रेममा पर्छन्।  सोही क्रममा ओलिभर भाइ ओर्ल्यान्डाेलाई खोज्दै रोजालिन्ड र सेलिया भएको ठाउँमा पुुग्छन्। ओलिभर र सेलियाको नजर जुध्छ र दुवैजना एकअर्काको प्रेममा पर्छन्। नाटकको अन्तिम चरण, जसमा रोजालिन्डले एउटा योजना बनाउँछिन्, जहाँ सबै प्रेमीहरू एकअर्कालाई गर्नेछन्।

यहाँसम्म आइपुुग्दा सबैजना बेखबर हुुन्छन्, के हुँदैछ र के हुनेछ भन्नेमा। रोजालिन्डको योजनाअनुरूप ड्युक सिनियर, गोठालाहरू भेला हुन्छन्। अनि, सेलिया र ओलिभर, टचस्टोन र अड्रे, ओर्ल्यान्डाे र रोजालिन्ड तथा अर्का दुुई जोडी विवाहका लागि उपस्थित हुुन्छन्। तर, के हुँदैछ केही थाहा छैन उनीहरूलाई। जब रोजालिन्ड युवकको भेषबाट आफ्नो असली भेषमा आउँछिन्, तब सबै चकित पर्छन्। अनि त्यो जमघट विवाह उत्सवमा परिणत हुन्छ। सबै जोडी विवाह बन्धनमा बाँधिन आतुर हुुन्छन्। सबैले आफूले माया गरेको मान्छेसँग विवाह गर्छन्। नाटकको अन्यमा ड्युक सिनियरले आफ्नो सत्ता फिर्ता पाएको सन्देशसहित ताज लिएर दुई सैनिक स्टेजमा आउँछन् र नाटक सकिन्छ।

प्रेम, सत्ता र शक्तिलाई चित्रण गरिएको सेक्सपियरको नाटक ‘एज यु लाइक इट’ ग्रेटा राणाले अनुवाद र निर्देशन गरेकी हुन्। नाटक दुई घण्टा लामो छ। दर्शकलाई दुई घण्टा बिताएका पत्तै हुँदैन। किनकि, एकपछि अर्को कौतुहलले दर्शकलाई नाटकमा बाँधिरहन्छ।

६ महिनाको अभ्यासको नतिजाका रूपमा कलाकारहरूको बेजोड प्रस्तुती देख्न सकिन्छ। नाटकमा प्रयोग भएका संवादले दर्शकलाई हँसाएको र खुशी अभिव्यक्त गर्न गड्गहाट ताली बजाएको सुन्न सकिन्छ। यो नाटकमा विशुद्ध अंग्रेजी भाषामा छ। र, सेक्सपियरको कमेडीको अंश पनि हो।

स्टेजमा देखिने कलाकारमध्ये टचस्टोनको भूमिकामा रहेका सन्दीप श्रेष्ठ, गुञ्जन दीक्षित, सरोज अर्याल, प्रशान्त शर्मा, सगुन शाहलगाएतका सबै कलाकारकाे अभिनय बेजोड छ। कलाकारको प्रस्तुतिले दर्शकलाई निराश बनाउँदैन। कोरोना महामारीका कारण नाटकघरहरू लामो समय बन्द रहे। लामो समय पर्खाइको फल मिठो हुन्छ भनिन्छ। त्यही मिठो फल हो- नाटक ‘एज यू लाइक इट’।

प्रकाशित मिति: १०:२६ बजे, शुक्रबार, असोज २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्