Kathmandu Press

जोन्टी रोड्स डिपिएलको सद्भावना राजदूत

धनगढी, १६ माघ : धनगढीमा आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको सद्भावना राजदूतमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स नियुक्त भएका छ....

जोन्टी रोड्स डिपिएलको सद्भावना राजदूत

धनगढी, १६ माघ : धनगढीमा आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको सद्भावना राजदूतमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स नियुक्त भएका छन् ।

दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स उत्कृष्ट फिल्डिङका कारण विश्व प्रसिद्ध छन् ।

प्रतियोगिताको ‘गुडविल एम्बास्डर’(सद्भावना राजदूत) का रुपमा जोन्टीको आगमनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र विश्व क्रिकेट जगत्को ध्यान प्रतियोगितामा तानिने विश्वास आयोजकको छ ।

माघ २६ गतेबाट आयोजना हुने डिपिएल क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । डिपिएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिइसकेको छ ।

डिपिएल प्रतियोगिताको आयोजनासँगै देशमा पहिलो पटक खेलाडीको बोलकबोल (अक्सन) गराउँदै नेपाली क्रिकेटलाई व्यावसायिक रुपमा अघि बढाइएको छ । प्रतियोगितामा सहभागी हुने ६ वटै टोलीलाई दुईजना अनिवार्य व्यावसायिक खेलाडी राख्नुपर्ने प्रावधानअनुरुप खेलाडीको बोलकबोल (अक्सन) को शुरूवात गरिएको हो ।

रूस्लान डिपिएलको तेस्रो संस्करण अनुमानित पाँच करोड रूपैयाँको लागतमा धनगढीको फाप्ला क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डन्स गरी ६ वटा फ्रेन्चाइजी टोलीले सहभागिता जनाउँदैछन् ।

६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन् । डिपिएलका प्रत्येक टोलीले अक्सनबाट १२ खेलाडी, एक रणनीतिक खेलाडी र दुई विदेशी गरी १५–१५ खेलाडीलाई टोलीसँग आबद्ध गराईसकेका छन् ।

टी–२० प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ । लिग चरणमा प्रत्येक टोलीले अरु टोलीसँग एक–एक खेल खेल्ने जनाइएको छ ।

शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टोलीको विजेता फाइनलमा पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

रासस

प्रकाशित मिति: १६:२२ बजे, बुधबार, माघ १६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्