Kathmandu Press

दुई तन्‍नेरीको उत्साह, लकडाउन र ‘येजु’ चकलेट

लकडाउनको फुर्सदमा दुई साथीले आफ्नै केही नयाँ काम गर्ने योजना तयार पारे। योजना बन्यो, स्वदेशी चकलेट उत्पादनको। त्यसैको परिणाम हो, ‘येजु चकलेट’। ‘येजु’ अर्थात् नेपाल भाषामा ‘माया गर्ने मान्छे’ २२ वटा स्वादमा उपलब्ध छ।
दुई तन्‍नेरीको उत्साह, लकडाउन र ‘येजु’ चकलेट

काठमाडौं, असोज १८ : सानो टेबल, टेबलमा छरिएका चकलेट। चकलेट राख्‍ने स-साना पेपर बक्सहरू रातो, बैजनी अनि थरिथरि। हतारमा थिइन्, सलोनीदेवी शाक्य।

‘आज त १२ नै बजिसक्यो, आउनै ढिला भयो,’ ब्याग भुइँमा राख्दै बोलिन् उनी। टेबल पहिल्यै तयार थियो, ब्यागबाट टेबलमा राख्‍ने कपडा झिकिन् अनि मिलाइन्। ब्यागबाट थरिथरिका चकलेट, पेपर बक्स र टेस्टिङ चकलेटहरू टेबलमा सजाइन्। त्यतिबेलासम्म उनको निधार पसिनाले पोतिएको थियो। ‘एकैछिन् है, चकलेटहरू मिलाएर राखिहाल्छु, जामले गर्दा समयमा आउन सकिएन,’ बोल्दै थिइन् उनी।

यो दृश्य हो कमलपोखरीस्थित सिटी सेन्टरको, जहाँ महिला चेम्बरको आयोजनामा दशैँ-तिहार विशेष १५ दिने मेला सञ्‍चालनमा छ।

Hardik ivf

सोही मेलामा चकलेटको स्टल राखेकी छन्, सलोनीले। उनी २१ वर्षकी भइन्। बीबीएस तेस्रो वर्ष अध्यनरत उनी आफैँ चकलेट उत्पादन गर्छिन् अनि बेच्छिन्। सलोनीले बेकरी आइटमसम्बन्धी पाँचमहिने डिप्लोमा क्लास सकेकी हुन्। बेकिङमा रुचि राख्‍ने यी तन्‍नेरी व्यवसायीलाई चकलेट उत्पादन र बिक्रीमा भ्याइनभ्याइ छ।

भक्तपुर चाँगाथलीमा येजु चकलेट उत्पादन गर्ने कारखाना खोलेका छन्। कार्यालय भने ललितपुर पुल्चोकमा राखेका छन्।

लकडाउनको फुर्सदले जुराएको संयोग

कोभिड-१९ महामारीले संसार नै ठप्प थियो। लकडाउनमा बन्द कोठामा थिइन्, सलोनी। दिनभर मोबाइलमा भुलेर बस्ने उनको मनमा केही काम गरौँ भन्‍ने सोच थियो, तर के गर्ने भन्‍ने गन्तव्य तय थिएन। सलोनीलाई बेकिङ गर्न मन पर्ने उनका साथी सौरभमणि शाक्यलाई थाहा थियो। दुईबीच केही नयाँ तर मन पर्ने काम गरौँ भन्‍ने सल्लाह भएपछि चकलेट उत्पादनको योजना बनाए।

दुईजना साझेदार भएर काम अगाडि बढाउने सल्लाह भयो। उनीहरू दिनरात नभनी चकलेटको विषयमा रिसर्चमा जुटे। नेपालमा चकलेटहरू कुन-कुन देशबाट आउँछन् ? कुन ब्रान्डको चकलेट नेपालमा बढी खपत हुन्छ ? नेपाली उपभोक्ताले कुन फ्लेबरको चकलेट मन पराउँछन् ? निरन्तरको अध्ययनको सूची यस्तै थियो उनीहरूको।

सलोनीका एक भारतीय साथी थिए, जो भारतमा चकलेट उत्पादन गर्छन्। सलोनी र सौरभमणिले तिनै भारतिय साथीसँग सल्लाह गर्दै काम अगाडि बढाउने तयारी गरे।

चकलेट तयार पार्न आवश्यक ‘इन्ग्रेडियन्स्’मध्ये महत्त्वपूर्ण हुन्छ, ‘कोको बिन्स्’। यो नेपालमा नपाइने भएकाले उनीहरूलाई समस्या लाग्यो। सबैजसो मुलुक लकडाउनमा थिए, यो सामान मगाउन सजिलो थिएन। तर, भारतीय साथी उनीहरूका सहारा बने। उनकै सहयोगमा भारतबाट ‘कोको बिन्स्’ मगाए।

‘सुरुको लटमा चकलेटका लागि आवश्यक इन्ग्रेडियन्स् १०-१० किलो मगायौँ,’ उनले भनिन्, ‘सुरुमा चकलेट बनाउन कसरी सुरु गर्ने भन्‍ने नै प्रमुख चुनौती थियो।’ नेपाली उपभोक्तालाई नयाँ स्वाद दिनुपर्ने चुनौती थियो, उनीहरूलाई।

भारतबाटै चकलेट बनाउन उपकरण मगाए। ४-५ महिनाको निरन्तर रिसर्च र सोधखोजपछि स्वदेशमै चकलेट उत्पादन गर्ने तयारीमा लागे, उनीहरू। ‘हामीले इन्टरनेटमा युट्युब, गुगललगायत माध्यमको अधिक प्रयोग गरी चकलेट बनाउन तयार भयौँ,’ उनले भनिन्। चकलेट उत्पादनका लागि सुरुवातमा ५० हजार रूपैयाँ खर्चेर सामग्री जम्मा पारे। नेपालमा पाइने प्रिमियम डार्क चकलेटहरू विदेशबाटै आयात हुने पत्ता लगाए।

‘खासमा चकलेट भन्‍नेबित्तिकै गुलियो स्वाद मात्र सम्झना हुन्छ तर हामीले चकलेटका विभिन्‍न भेराइटी चखाउने उद्देश्यले साथी र मैले चकलेट उत्पादन सुरु गरेका हौँ,’ उनले भनिन्।

‘येजु’ चकलेट अर्थात् ‘लभ्ड वान’

सलोनी र सौरभको योजनाअनुरूप नै फटाफट काम अगाडि बढ्यो। अब चकलेटको नाम के राख्‍ने त ? किनकि, बजारमा पुर्‍याउन ब्रान्ड अत्यावश्यक हुन्थ्यो। सामान मात्र राम्रो भएर बजारले चिन्दैन, ब्रान्ड पनि त चाहियो !

चकलेटको नाम राख्‍ने धुनमा कैयौँ दिन बिताए। सलोनी र सौरभको सल्लाहमा चकलेट उत्पादन गर्ने कम्पनीको नाम जुराए, ‘येजु’। नेपाल भाषाको ‘येजु’ शब्दको अर्थ हुन्छ, ‘लभ्ड वान’ अर्थात् ‘माया गर्ने मान्छे’।

‘प्रायः हामीले चकलेट उपहारस्वरूप आफ्ना मनको मान्छेलाई दिन्छौँ, खुशी बाँड्छौँ,’ येजुका अर्का सञ्‍चालक सौरभमणिले भने। चाडपर्व र अन्य अवसरमा उपहारमा चकलेट दिने ट्रेन्ड नयाँ होइन। पछिल्लो समय यो ट्रेन्ड अझ बढेको छ। येजु चकलेटमा आफ्नो मनपर्ने र उपहार दिन खोजेको मान्छेको तस्बिर ‘कस्टोमाइज’ गरेर उपहारस्वरूप दिन सकिने उनले बताए।

‘चकलेटको नाम सुन्दै हाम्रो मन फुरुंग हुन्छ,’ उनले भने, ‘कसैलाई चकलेट उपहारस्वरूप दिँदा अनुहारमा एकप्रकारको खुशी आउँछ, चकलेटले मुस्कान ल्याउँछ।’ उपहारस्वरूप ‘येजु’ चकलेटबाट आफूले माया गरेको मान्छेलाई जन्मदिन, विशेष दिन र पर्वहरूमा उपहार पठाउनेहरू बढेको देख्दा सौरभमणिलाई असीम आनन्द प्राप्त हुन्छ आजकल। चकलेटमा झल्किने त्यही खुशी, माया, प्रेमलाई समेट्न ब्रान्डको नाम पनि ‘येजु’ राखेको उनले बताए।

‘छोरीप्रति समाजको दृष्‍टिकोण बुझ्‍ने अवसर’

लकडाउनले बिनाकाम घरमै खुम्चिनुपर्दा सलोनीलाई सौरभको चकलेट कम्पनी खोल्ने प्रस्ताव औधी चित्त बुझ्यो। आफूले सिकेको सीप र पढेको ज्ञानलाई सदुपयोग गर्दै आफ्नो व्यवसाय सुरु गर्छु भन्दा परिवारलाई विश्‍वस्त बनाउन समस्या परेको उनी बताउँछिन्। भन्छिन्, ‘साथीसँग मिलेर बिजनेस गर्ने सल्लाह भयो तर मेरो परिवार र आफन्तलाई विश्‍वस्त बनाउन अलिक अप्ठेरो भयो।’ केटा साथीसँग मिलेर बिजनेस गर्ने कुराले आफन्तको शंकाको नजर सामना गर्नुपरेको उनी बताउँछिन्।

उनका साथीलाई भने चकलेटको बिजनेस गर्छु भन्दा परिवारबाट शंकाको नजरले हेरिएन तर आफूलाई घरमा बुझाउन समस्या भएको उनी बताउँछिन्। ‘सौरभ केटा, म केटी, हामी साथी तर मान्छेको सोचाइ केटी मान्छेलाई हेर्ने नजर कतिसम्म भने,’ उनी हाँस्दै भन्छिन्, `म र साैरभ पुल्चोकस्थित येजुकाे अफिसमा काम गर्दा केटी मान्छे भएर केटासँग एउटै अफिसमा काम गर्ने भन्ने खालकाे प्रश्न पनि आयो।´

तथापि, जब उनीहरूको व्यापार गर्ने चाहना परिवारले बुझ्यो, त्यसपछि भने सहज वातावरण तयार भयो। उनीहरूले गरेको मिहिनेतअनुसार बजारबाट माग बढेको छ र अहिले परिवार सबै खुशी रहेको उनी बताउँछिन्।

केही नयाँ काम गर्न खोज्दा परिवारभन्दा पनि समाजले बाधा पुर्‍याउने, चाहिने-नचाहिने टीका टिप्पणी सुन्‍नुपर्ने नौलो अनुभव उनले गरिन्। ‘आफ्नो काममा प्रतिबद्ध भएर मिहिनेतका साथ निरन्तरता दिँदा एकदिन अवश्य सफल भइन्छ,’ उनी भन्छिन्, ‘केही गर्छु भन्दा ममीले अरूको कुरा नसुन, आफ्नो काम गर भनेर ढाडस दिएकाले यो व्यवसाय थाल्न मद्दत पुग्यो।’

उनले ठूला व्यवसाय गर्ने उद्यमी महिलाका जीवन कथा उनले पढेकी थिइन्। त्यसैले एक दिन सबैलाई मनाउन सक्छु भन्‍ने आत्मविश्‍वासमा उनी थिइन्। तथापि, उनले नयाँ व्यवसाय सुरु गर्ने क्रममा समाजले छोरीलाई हेर्ने दृष्‍टिकोण पत्ता लगाइन्।

सबैका लागि ‘येजु’ चकलेट

२२ वटा स्वादमा उनीहरूले उत्पादन गर्छन्, ‘येजु’ चकलेट। नेपालमा चकलेट भन्‍नेबित्तिकै गुलियो स्वाद मनमा आउँछ। उनीहरूले चकलेटमा स्विटनेस् मात्र नभई ह्वाइट, डार्क, मिल्क, सेमी स्विट, फ्रुट्स एन्ड नट्स, क्यानबेरी एन्ड रोस्टेड अल्मोन्ड, ब्लुबेरी, कफी, कुकिज एन्ड क्रिमलगायत स्वादमा चकलेट उत्पादन गर्छन्।

‘कसैलाई गुलियो मन नपर्ने हुन्छ, कसैलाई गुलियो खान नमिल्ने हुन्छ। अहिले मानिसहरू स्वास्थ्यप्रति सचेत भएका छन्। तसर्थ, सबैलाई मन पर्ने चकलेट बनाउन खोजेका छौँ,’ सलोनी भन्छिन्, ‘७० प्रतिशतसम्मको डार्क चकलेट उत्पादन गर्छौँ। आवश्यकता र फ्लेबरअनुसार ब्लुबेरी, फ्रुट्स एन्ड नट्स राखेर तयार पारेका छौँ।' 

पछिल्ला दिनमा नेपालमा पनि भेगान परिकार मन पराउनेहरू बढेका छन्। त्यो भनेको चौपायाको दूध र दुग्धजन्य पदार्थ नखाने संस्कृति हो। भेगान पारखीका लागि पनि ‘येजु’ चकलेट बजारमा उपलब्ध छ।

‘येजु’ चकलेटको न्यूनतम बजार मूल्य डेढ सय रुपैयाँ छ। फ्लेबरअनुसार मूल्य निर्धारण गरेका छन्। सबैभन्दा महँगो चकलेटको मूल्य चार सय रुपैयाँ छ। ‘येजु चकलेट फ्लेबरमध्ये सबैभन्दा बढी रुचाइएको चकलेट ह्वाइट मार्समेलो हो,’ उनी भन्छिन्। मासिक पाँच लाखदेखि ६ लाख रुपैयाँसम्म कमाउन थालिसकेका छन्, उनीहरूले।

अनलाइनबाटै ‘येजु’

येजु चकलेट क्याफे र स्टोरहरूमा उपलब्ध रहेको सलोनी बताउँछिन्। उनीहरूले आफ्नै पसल भने खोलेका छैनन्। ‘अहिले हामीले ‘येजु’ चकलेटको बजार माग हेरिरहेका छौँ, छिट्टै आफ्नै पसल खोल्ने योजनामा छौँ,’ उनी भन्छिन्।

अहिले विभिन्‍न संस्थाले आयोजना गर्ने मेला, उत्सवमा स्टल राख्दै आएका छन्। विभिन्‍न समारोहमा पनि आफ्नो उत्पादन लिएर पुग्छन्। क्याफे र स्टोरहरूमा अर्डरअनुसार उत्पादन गरेर पुर्‍याउँछन्। ‘येजु’ चकलेट नेपाल प्रालिमा ६ जना सदस्य आबद्ध छन्। ‘हामी दुईजना बिजनेस पार्टनर अनि बाँकी चार जना उत्पादनमा काम गर्ने दिदीहरू हुनुहुन्छ,’ उनी भन्छिन्। सामाजिक सञ्‍जालबाट पनि अर्डर गर्न सकिने व्यवस्था मिलाएका छन्।

प्रकाशित मिति: १६:१२ बजे, सोमबार, असोज १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्