जुलाई पृथ्वीकै सबैभन्दा गर्मी महिना
युरोप, अमेरिका र उत्तरी ध्रुवमा यो वर्षको तापक्रम हालसम्मकै उच्च रह्यो।
ग्लोबल वार्मिङ पनि बढेको समयमा जुलाई २०१९ हालसम्मकै सबैभन्दा गर्मी महिना भएको वै....
युरोप, अमेरिका र उत्तरी ध्रुवमा यो वर्षको तापक्रम हालसम्मकै उच्च रह्यो।
ग्लोबल वार्मिङ पनि बढेको समयमा जुलाई २०१९ हालसम्मकै सबैभन्दा गर्मी महिना भएको वैज्ञानिकहरूले बताएका छन्। पृथ्वीको तापक्रमको अभिलेख राख्न सन् १८८० देखि अमेरिकी राष्ट्रपति रूदरफोर्ड बि. हेइसको पालामा सुरू गरिएको हो।
अर्को शब्दमा, जनवरी १८८० देखि बितेका एक हजार ६ सय ७५ महिनामा जुलाई २०१९ सबैभन्दा तातो हुने सम्भावना बढी छ। मानिसकै कारण भएको जलवायु परिवर्तनले यस्तो प्रचण्ड गर्मी भएको हो।
“जलवायु परिवर्तनकै कारण यो हालसम्मकै गर्मी महिना भएको हो,” पेन स्टेट युनिभर्सिटीका जलवायु वैज्ञानिक माइकल म्यानले भने।
यसअघि जुलाई २०१७ सबैभन्दा गर्मी महिना थियो। औपचारिक तथ्याङ्क अगष्टको पहिलो साता मात्रै आउने भए पनि धेरै वैज्ञानिकहरूले ट्वीटरमा आ आफ्नो पूर्वानुमान पोस्ट गरेका छन्।
“विश्वभरि नै जुलाई हालसम्मकै गर्मी महिना हुनेछ,” युनिभर्सिटी अफ ओक्लाहोमाका मौसमविद् जेसन फुर्टाडोले भने।
बिएमका मौसमविद् रायन मोय भन्छन्,“मेरो विचारमा जुलाई २०१९ अभिलेख राखिएको सबैभन्दा गर्मी महिना हुने सम्भावना ९० प्रतिशत छ।”
“पृथ्वी यो जुलाई सबेभन्दा तातो हुनेछ,” स्टेफान राह्मस्टोर्फले भने। उनी पोट्सड्याम इन्स्टिट्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चमा अर्थ सिस्टम एनलाइसिसका प्रमुख हुन्।
नासा र नेसनल ओसनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए)को तथ्याङ्क अनुसार अभिलेखमा राखिएका सबैभन्दा गर्मी दशमध्ये ९ वटा वर्ष सन् २००० यता छन्। वैज्ञानिकहरूले मानव गतिविधिबाट उत्सर्जन हुने हरित ग्यास नै मुख्य कारण औंल्याएको क्यापिटल वेदर ग्याङ्ले जनाएको छ।
तेल, ग्यास र कोइलाजस्ता जैविक इन्धन जलाएर ग्लोबाल वार्मिङ अथवा जलवायु परिवर्तन भएको हो। यसले वायुमण्डलमा कार्बन डाइअक्साइडजस्ता हरितगृह ग्यास उत्सर्जन गर्दछ। यस्ता ग्यासले गर्मी सोस्ने र तापक्रम बढाउने काम गर्छन्। एनओएएका अनुसार अभिलेख राखिएका हालसम्मका सबैभन्दा गर्मी तीन वर्षमा सन् २०१९ पर्ने सम्भावना निश्चितप्राय: छ।
विश्वभरि नै प्रचण्ड गर्मी छ। जुनको अन्तिमतिर युरोपमा “हिट वेभ” आयो। फ्रान्समा हालसम्म मापन गरिएको त्यो नै सबैभन्दा उच्च तापक्रम थियो। युरोपको प्रचण्ड तापक्रमले पृथ्वीको सबैभन्दा तातो जुन मापन गरिएको हो।
गएको सप्ताहन्त न्यूयोर्क, लिटल रक र मेम्फिस लगायतका शहरमा तापक्रम ३७ डिग्रीभन्दा माथि पुग्यो। यो साता युरोपमा पनि तापक्रम बढ्ने छ।
युरोप, एसिया र अष्ट्रेलियामा“हिट वेभ” बारम्बार आइरहेको विज्ञहरू बताउँछन्। पृथ्वी तातिँदै जाँदा अझ धेरै “हिट वेभ“ आउने उनीहरू बताउँछन्।