जीवन, भोगाइ र शिक्षाको पर्याय ‘टु सर, विथ लभ’
विद्यार्थीहरू उद्दण्ड, उग्र र अभद्र छन्। यसअघिका शिक्षकले उनीहरूकै कारण जागिर छाडेका थिए। तिनलाई सम्हाल्ने जिम्मेवारी सिनेमाका प्रमुख पात्र थाकरीले पाउँछन्, जसमा उनी सफल हुन्छन् र ती विद्यार्थीलाई आफूतिर आकर्षित गर्छन्।काठमाडौं, असोज १६ : दुई भिन्न विचारधाराको एकमुष्ट स्वरूप हो, सन् १९६७ मा बनेको बेलायती ड्रामा फिल्म ‘टु सर, विथ लभ’। यो अंग्रेजी चलचित्र एक अश्वेत शिक्षक र विद्यार्थीबीचको द्वन्द्व र कालान्तरमा परिणत भएको श्रद्धा र मायामा केन्द्रित छ। चलचित्रका प्रमुख पात्र हुन्, मार्क थाकरी। कलाकार सिड्नी पोटियर उक्त भूमिकामा छ। चलचित्रका पात्र थाकरी इन्जिनियर हुन्। यद्यपि, आफ्नो योग्यताअनुसारको रोजगारी नपाउँदा उनी पुग्छन्, बेलायतको नर्थ क्वे सेकेन्डरी स्कुल। जीवीकोपार्जनको बाध्यतावस उनी शिक्षण पेशामा होमिन्छन्।
शिक्षण उनका लागि पेशाभन्दा पनि जीवीकोपार्जनको माध्यम अर्थात् जागिर हो। स्कुलका प्रधानाध्यापक मिस्टर फ्लोरियन (एडवार्ड बर्नह्याम)ले उनलाई विद्यार्थीहरू निकै उद्दण्ड भएको र यसअघिका शिक्षकले पनि सोही कारण राजीनामा दिएको बताउँछन्। उनका सहकर्मीबाट पनि मिश्रित प्रतिक्रिया पाउँछन्। उनलाई जागिरको आवश्यकता छ, त्यसैले इन्जिनियरिङ पेशामा आबद्ध नहुन्जेल उनलाई सोही अफरमा भए पनि टिक्नुछ।
सन् १९५९ मा प्रकाशित एडवार्ड रिकार्डो ब्रेथवेटको उपन्यास ‘टु सर, विथ लभ’मा आधारित छ, यो चलचित्र।
चलचित्रका पात्र थाकरीको शिक्षक जीवन सुरु हुन्छ। विद्यार्थीहरू उद्दण्ड, उग्र र अभद्र छन्। दुई विद्यार्थी पामेला डेयर र डेनहेम यस्ता गतिविधिका लिडर हुन्। यसअघिका शिक्षक उनीहरूकै कारण राजीनामा दिएर बाहिरिएका थिए। विद्यार्थीहरूको मनोविज्ञान पनि शिक्षकलाई दुःख दिएर, दिक्क लगाएर जसरी हुन्छ कक्षामा पस्न नदिनु हुन्छ। यसैमा उनीहरूको जितको अभिलाषा पूर्ण हुन्छ। यस्ता विद्यार्थीलाई सम्हाल्ने जिम्मेवारी प्रमुख पात्र थाकरीको काँधमा छ।
बाध्यतामा परेका थाकरीका लागि यो जिम्मेवारी ‘फलामको चिउरा चपाउनु’सरह छ। शिक्षणको सुरुवाती दिनमा उनलाई सहज हुँदैन। विद्यार्थीहरूले साह्रै दुःख दिन्छन्। हेपाहा र अभद्र व्यवहारदेखि बेइज्जतिपूर्ण ‘प्र्यांक’सम्म बेहोर्नुपर्छ उनले।
सुरुमा उनी सहेरै बस्छन्। तर, विद्यार्थीको ज्यादति अझ बढ्दै जान्छ। र, उनले होस गुमाउँछन् र विद्यार्थीलाई गाली गर्छन्। उनी कठोर बन्न पुग्छन्। यद्यपि, शिक्षकलाई वाक्क पार्ने विद्यार्थीहरूको अभिलाषामा आफू फसेको उनले महसुस गर्छन्। र, आफ्नो सिकाइको शैली परिवर्तन गर्छन्।
थोरै कठोरतासँगै उनले विद्यार्थीहरूको अवस्था बुझ्छन्। एक सहकर्मीमार्फत उनले ती विद्यार्थीका अवस्था बुझ्दै पढाउँदै जान्छन्। हरेक व्यक्तिको आचरण, बानी र व्यवहार उसको दैनिक जीवनसँग गाँसिएको हुन्छ। र, त्यसले परिवारको आर्थिक अवस्था पनि जिम्मेवार हुन्छ। आर्थिक अवस्था कमजोर भएको व्यक्ति स-साना विषयमा चिढिन्छ। थाकरी पनि सोही अवस्थाबाट गुज्रिएर आएका कारण विद्यार्थीहरू माझ आफैँलाई देख्छन् र पढाइका पद्धति फरक बनाउने जर्मको गर्छन्।
सैद्धान्तिक र किताबी ज्ञानभन्दा विद्यार्थीको रुचिकेन्द्रित पढाइमा उनी लाग्छन्। सन् १९६० को दशकको बेलायत फेसन र संगीतमा क्रान्ति गर्दै थियो। उनले विद्यार्थीका रुचिकर विषयमा विस्तारै प्रवेश गर्छन्। र, सिनेमाको कथाको क्रमिक विकासमा विद्यार्थीहरूसँग उनको सुमधुर सम्बन्ध स्थापना हुन्छ।
आफ्नो इन्जिनियरिङतर्फको प्रयास भने उनले छाडेका हुँदैनन्। सोही क्रममा उनले रुचाएको पेशााबाट थाकरीलाई अफर आउँछ। र, उनले जाने निर्णय पनि गर्छन्। विद्यार्थीहरूबाट उनलाई छुटकारा मिल्छ। उनी अवाक् हुन्छन्। र, विद्यालयको छुट्टै कोठामा बसिरहेका हुन्छन्। एक्कासी नयाँ विद्यार्थीहरू आउँछन् र उनलाई चिढ्याउँछन्। तब उनले इन्जिनियरिङ पेशाका लागि आएको अफरको पत्र च्यातेर फालिदिन्छन्। चलचित्र त्यही विन्दुमा सकिन्छ।
पहिचानको खोजी
किशोरावस्था साँच्चै नै बाल्यकाल र बयस्क उमेरबीचको संक्रमणकालसरह हो। व्यक्ति बालक रहँदैन र उसलाई समाजले बयस्कका रूपमा पनि स्वीकारेको हुँदैन। हुर्कँदो उमेरबीच सबैलाई आफू ठूलो हुँ भन्ने अहम् विकास भएको हुन्छ। व्यक्तिलाई पहिचानको अभावमा हुन्छ।
पहिचानको खोजीमा रहेका विद्यार्थीहरू शिक्षकबाट सम्मानजनक स्थान पाउने इच्छा राख्छन्। त्यही मनोविज्ञान बुझेका थाकरीले विद्यार्थीहरूलाई आफूसरहकै समान भाव दिन्छन्। त्यही व्यवहार विद्यार्थीले अरू शिक्षकबाट पाएका हुँदैनन्। उक्त कदम विद्यार्थीहरूका लागि नौलो हुन्छ। ‘रफ-टफ’ बोलीचाली साथीमाझ पनि गर्न नमिल्ने नियम थाकरीले बुझाउँछन्। यसरी हुर्कँदो उमेरका ती विद्यार्थीका लागि यो सुन्दर व्यावहारिक प्रस्तुति हुन्छ।
‘वाट्सन थ्यौरी अफ बिहेभरिजम’ले पनि बच्चाहरूलाई जसरी हुर्कायो, त्यसरी नै हुर्किने सिद्धान्त प्रतिपादन गरेका छन्। र, भनिन्छ बालबच्चा वा विद्यार्थीले पढाइभन्दा पनि आफूभन्दा ठूलाको व्यवहारबाट सिक्छन्। यो सिनेमामा थाकरीले विद्यार्थीलाई सम्मान दिएर उनीहरूबाट पनि सम्मान पाउन थाल्छन्। जुन उनको पहिलो सफलता हो। कक्षामा शिक्षक भए-नभएको वास्ता नगरी कक्षामा कराउँदै आएकी एक विद्यार्थी पामेला डेरलाई उनले पुनः कक्षामा अनुशासनका साथ आउन अनुरोध गर्छन्। यसरी आवश्यक स्थानमा थोरै कठोरताको डर र सम्मानको भाव उनले विद्यार्थीमा बिजारोपण गर्छन्।
जीवन भोगाइमा शिक्षण पद्दति
चलचित्रको कथा सरल अनि सुन्दर छ। कुनै ट्विस्ट छैन। चलचित्रले बाहिरी सतहमा सिकाइका विषयमा प्रश्न गरेको छ। सन् १९६० को दशकमा जब बेलायत हरतरिकाबाट क्रान्तिका लागि अग्रसर थियो, शिक्षण पद्धति भने पछाडि नै थियो। शिक्षक र विद्यार्थीबीचको सम्बन्ध कुनै नश्लभन्दा पनि उनीहरूको परिवेश र जीवन भोगाइले निर्धारण गर्ने सिनेमामा देखाइएको छ। बेलायतजस्तो संसारभर उपनिवेश स्थापना गरेको देशमा थाकरी अश्वेत जातिका हुन्। तर, फिल्ममा नश्लको विषयलाई सूक्ष्म राखेर अन्य विषयलाई चित्रण गरिएको छ।
भारतीय शिक्षाविद् गिजुभाइका सिद्धान्त
भारतीय शिक्षाविद् गिजुभाइ बढेकाका अनुसार विद्यार्थी तथा शिक्षकको पृष्ठभूमिले उनीहरूको सिकाइ र पढाइमा महत्त्वपूर्ण स्थान राख्छ। जुन यो चलचित्रमा स्पष्ट देख्न सकिन्छ। बेलायतको निम्न मध्यवर्गीय कामदार परिवारका यी विद्यार्थीहरूलाई सानो उमेरदेखि नै काम गर्नुपर्छ। उनीहरू स्कुले समयपछि काममा जान्छन्। कसैको पारिवारिक सम्बन्ध सुमधुर हुँदैन।
विद्यार्थीहरूको सिकाइ उपलब्धीमा घरायसी कामले असर गर्ने एक अध्ययनले देखाएको छ। विद्यार्थीलाई घाँसदाउरा, भान्सा र गाईवस्तुको स्याहारजस्ता घरायसी कामकाजमा बढी लगाउँदा पढाइसिकाइमा समय अभावका कारण असर पर्ने त्यस अध्ययनको निष्कर्ष छ। त्यस्ता विद्यार्थीको सिकाइ कमजोर देखिने गरेको छ।
दोस्रो विश्वयुद्धले तहसनहस पारेको अर्थतन्त्रका कारण तत्कालीन बेलायतका विद्यार्थीले पनि जीवीकोपार्जनका लागि श्रम गर्नु आवश्यक थियो। हुर्कँदो उमेर र व्यावहारिक जिम्मेवारीमा पिल्सिएका उनीहरूको कठोर व्यवहार सोही अवस्थाको उपज हो।
‘ह्यापिनेस अफ चिल्ड्रेन’ सिद्धान्तका आधारमा मात्र विद्यार्थीलाई पढाइ-सिकाइमा आबद्ध गराउन सकिने गिजुभाइको विचार छ। अर्थात्, विद्यार्थीहरूको प्रफुल्लता र इच्छाशक्तिमा मात्र शिक्षण सिकाइ प्रभावकारी हुन सक्ने उनको निष्कर्ष छ।
चलचित्रमा किताबी ज्ञानबाट परिष्कृत हुँदै थाकरीले विद्यार्थीको उत्सुकता वा कौतुहलतर्फ आफूलाई मोडेका छन्। त्यससँगै विद्यार्थीमा ‘सेल्फ रियलाइजेसन’ विकास भएको सिनेमामा देखाइएको छ। सत्य त्यही हो। व्यावहारिक जीवनमा आफ्ना नानीबाबुलाई पढ्नुपर्छ भन्ने बोध जबसम्म गराउन सकिँदैन, तबसम्म उनीहरूमा पढाइप्रतिको झुकाव र आत्मबोध हुँदैन।
चलचित्रको एउटा दृश्यमा शिक्षक थाकरीले विद्यार्थीहरूलाई सरसफाइमा जोड दिएका छन्। उनले ‘रफ’ भएर विद्यालय आउन निषेध गरेका छन्। त्यसको विरोध गर्ने विद्यार्थीप्रति उनी खरो हुन्छन्। आफूलाई सफासुग्घर राख्नु व्यक्तिगत मात्र नभई सामाजिक अनुशासनतर्फको पहिलो कदम भएको विषयमा पनि शिक्षाविद् गिजुभाइको सिद्धान्त यहाँ पनि मिल्न जान्छ।
‘टु सर, विथ लभ’ र एडवार्ड थोर्नडाइकको ‘कनेक्सनिजम’
आधुनिक मनोविज्ञानका पिता मानिने एडवार्ड थोर्नडाइकले विद्यार्थीहरूको व्यवहार र मनोविज्ञानलाई केन्द्रित भएर अध्ययन गरे। उनले कुनै पनि सम्बन्ध स्थापनाका लागि प्रोत्साहन र प्रतिक्रिया आवश्यक हुने औँल्याएका छन्। सिनेमामा प्रोत्साहनलाई दैनिक व्यवहारमा आइपर्ने अवस्थाको चित्रण र उक्त व्यवहारले व्यक्तिमा पार्ने असरलाई प्रतिक्रियाका रूपमा देखाउन खोजिएको छ।
एडवार्ड थोर्नडाइकको सिद्धान्त ‘कनेक्सनिजम’कै आधारमा थाकरीले विद्यार्थीहरूलाई आफूतिर आकर्षित गरेका छन्। विद्यार्थीकालमा उनीहरूले जस्तै आफूले पनि गरेका संघर्ष, भविष्यमा विद्यार्थीहरू के चाहन्छन् र त्यसको लागि वर्तमानमा के गर्नुपर्छ भन्ने कुरामा उनी सचेत देखिन्छन्।
जीवन र भोगाइका विषयलाई उनले विद्यार्थीसँग जोड्छन्। विवाह र कामको विषयमा पनि विद्यार्थीहरूमाझ थाकरीले विशेष जोड दिन्छन्। महिलालाई सुन्दर, सफा र सभ्य भए मात्र केटाहरूले मन पराउने तथा केटालाई भविष्यमा आउने जिम्मेवारीबारे बोध गराउँछन्। उनको आफ्नै वैवाहिक जीवनको विषयमा पनि विद्यार्थी उत्सुक हुन्छन्, जसमा उनले पढाइ तथा काममा बढी केन्द्रित भएका कारण हालसम्म विवाह गर्न केटी नभेटिएको बताउँछन्।
चलचित्रमा एउटा दृश्य छ, जहाँ विद्यार्थीलाई उनले सलाद बनाउन सिकाउँछन् त्यो पनि सलाद बनाउन आवश्यक महँगा वस्तुबिनै। त्यसलाई उनी नर्मल सलादको नाम दिन्छन्। उनले विद्यार्थीहरूलाई जीवनका लागि तयार गर्छन्। मानिससँग पैसा नहुँदा पनि कसरी सलाद बनाएर खान सकिन्छ, जसलाई ‘सर्भाइभल ट्रिक’ भन्छन्। उत्सुक विद्यार्थीहरूले उनीसँग पैसा नहुँदाको समयबारे बुझ्न खोज्छन् र उनले आफ्नो भोगाइ सिकाउँछन्। कनेक्सनिजमको सिद्धान्तअनुसार कुनै पनि विषय धेरै नौलो भने हुनु हुँदैन, नत्र त्यहाँ कनेक्सन हुँदैन।
विद्यार्थीहरू जीवन-जगत, विवाह, पैसा, जागिर, फेसन, मायाप्रेमबारे उत्सुक छन्, जसका बारेमा उनीहरूले थोरै बुझेका छन्। अनि अझ बुझ्ने इच्छा राख्छन्। यसरी उनी र विद्यार्थीबीच थोर्नडाइकले भनेजस्तै कनेक्सनिजम विकास भएको छ।
थाकरी र विद्यार्थीहरूको सम्बन्ध स्थापित हुनु एक प्रमुख कारण हो, जीवनकालमा गरेका संघर्षको सान्दर्भिकता। जिम्मेवारीसँगै विद्यार्थीलाई वास्तविक जीवनको विगत, वर्तमान र भविष्यको बोध गराउँछन् थाकरीले।
वर्तमान नेपाल र १९६० को बेलायती शिक्षाको समानान्तर रेखा
नेपालमा वैज्ञानिक मदन राईले खोटाङमा सुभद्रा-मदन फाउन्डेसन स्कुलको स्थापना गरेका छन्, जहाँ विद्यार्थीहरूले व्यावहारिक माध्यमबाट अध्ययन गरिरहेका छन्। उनीहरू आफैँ अन्नबाली उब्जाउने, सरसफाइ राख्ने, भवन बनाउने, घाँसदाउरा आदि गर्छन्। नत्र आजकलका विद्यार्थीलाई चामल कहाँ कसरी बन्छ भनेर कसैले सोध्यो भने जवाफ आउन सक्छ, सुपर मार्केटबाट।
केही वर्ष अघिसम्म नेपालमा शिक्षण पेशा बाराका रविकान्तले अनुभव गरेजस्तै वैकल्पिक पेशाको रूपमा स्थापित थियो। कुनै पनि व्यक्ति आफ्नो लक्ष्यको जागिर र व्यवसायमा आबद्ध हुन नसक्दासम्म शिक्षण गर्ने वा कुनै काम नपाएपछि अन्त्यमा शिक्षक बन्ने परिपाटी चलेको थियो। हामीले दैनिक जीवनमा भेटिने कोही दोस्रो व्यक्तिले उसको जीवनकालमा कुनै समय पढाएकै वा शिक्षक बनेकै हुन्छ। यो सबैको लागि सहज पेशा बनेको छ।
शिक्षण सबैका लागि रोजीरोटी जुटाउने पेशा बनिदियो। जब कि, विदेशमा शिक्षण पेशालाई सबैभन्दा उच्च ओहोदा दिइन्छ। सन् १९६० को दशकको बेलायतको बेरोजगारीको उपज बनेको छ, शिक्षण पेशा। त्यसलाई त्यतिबेला निकै हल्कासँग लिइएको पाइन्छ। नेपालमा केही समययता मात्र शिक्षण पेशामा गम्भीरता आएको हो कि भन्ने छनक पाउन थालिएको छ।
युनेस्कोको ‘एजुकेसन फर अल ग्लोबल मोनिटरिङ रिर्पोट’ले सन् २००५ मा नेपालमा गुणस्तरीय शिक्षालाई विद्यार्थीहरूको बौद्धिक विकाससँगै एक जिम्मेवार नागरिक र स्वस्थ भावनात्मक विकासको दायरा राखेको छ। यद्यपि, नेपालमा भने रटन्ते विद्या र पाठ्यक्रम आधारित शिक्षाले विद्यार्थीको चेतनशीलता र सिर्जनशीलतालाई भने प्राथमिकतामा नराखेको बताएको छ।
उक्त चुनौती सामना गर्न ‘नेपलिज स्कुल सेक्टर डेभलपमेन्ट’ले २०१६-२०२३ सम्मका लागि परियोजना सञ्चालन गरेको छ। जहाँ माध्यमिक तहका विद्यार्थीलाई ‘सफ्ट स्किल’, ‘लाइफ स्किल’ तथा ‘कोर्र स्किल’ गरी तहगत रूपमा सिर्जनशीलताका साथ ‘टिचिङ पेडियोगोजी’को प्रयोग हुन्छ। यसरी हेर्दा शिक्षा क्षेत्रलाई पनि गम्भीरतासाथ हेर्न थालिएको आभास हुन्छ। शिक्षा क्षेत्रका समस्यालाई समयमै सम्बोधन नगरिएमा रविकान्तजस्ता अन्य धेरै विद्यार्थीको विद्रोही आवाज निस्कन समय लाग्दैन।
मोड 'सब-कल्चर' र नश्लवादको कुरा
‘ए स्टोरी एज फ्रेस एज द गर्ल्स इन मिनिस्कर्ट’ फिल्मको ब्यानरले सन् १९६० ताकाको फेसनलाई उजागर गरेको छ। र, चलचित्रमा छुटाउन नसकिने अर्कोे पक्ष पनि हो बेलायती संस्कृति। मोड एक ‘सब-कल्चर’ हो, जुन लन्डनबाट सुरु भएर ‘द ग्रेट ब्रिटेन’भर फैलिएको थियो। संगीत र फेसनलाई बढी समेटेको यस संस्कृतिले रफ-टफ लुक्स, जिङ्ग्रिङ देखिने लामो कपाल, केटीहरूले लगाउने स्कर्ट आदि लन्डनको किशोरावस्थाका केही समूहले सन् १९५० मा सुरु गरेका थिए। तिनैलाई पछि गएर मोर्डनिस्टको संज्ञा दिइयो। यही नै त्यसताकाको मोड कल्चर थियो।
मिनिस्कर्टबाट सुरु भएको यो कल्चर अझै पनि फेसनको दुनियाँमा पुरानो भएको छ्रैन। भेस्पा स्कुटर, ज्याज, ब्लुज त्यही समयदेखि चल्दै आएका चलन हन्। चलचित्रमा विद्यार्थीहरूले आफूलाई रेबेलियनको रूपमा मोड कल्चरमा ढालेका छन्। कक्षा खाली हुने समयमा उनीहरू संगीत बजाएर नाच्ने गर्छन्। केटा होस् वा केटी लामा कपाल अनि पहिरनमा प्रयोग भएका स्कर्ट, लेदर ज्याकेट, विद्यालय हातामा खुल्लमखुल्ला चुरोट पिउनु आदिले उनीहरूको मोड कल्चरप्रतिको झुकाव दर्साउँछ।
यो चलचित्रको छुटाउन नमिल्ने पाटो नश्लवाद पनि हो। सन् १९६० को दशकसम्म पनि बेलायतले विश्वका विभिन्न देशलाई उपनिवेश बनाएको थियो। मार्क थाकरी आफैँ पनि दक्षिण अमेरिकास्थित ब्रिटेन गिनियाबाट आएका हुन्। उपनिवेशकै कारण उनले बेलायती लवाइखुवाइ र पहिरनमा ढालिनु परेको छ भने कक्षामा पनि उनलाई गोरा विद्यार्थीबाट रंगको सन्दर्भमा अनावश्यक प्रश्नको सामना गर्नुपर्छ । नश्लवादकै अर्को उच्च उदाहरण कक्षाका एक विद्यार्थी सिल्स हुन्। उनकी माताको अन्तिम संस्कारमा कक्षाको कुनै साथीको भौतिक उपस्थिति चाहँदैनन् उनी। जब कि, उनीहरू अश्वेत जातिका सिल्सलाई अति माया र स्नेह गर्छन्। तर, त्यतिबेला अश्वेत जातिका व्यक्तिलाई साथ दिँदा समाजमा विरोध सामना गर्नुपर्थ्यो।
यस्तै, चलचित्रको सुरुमा पनि उनका एक सहपाठीले जंगली भनेर मजाक गर्छन्। त्यसप्रति उनले केही प्रतिक्रिया जनाउँदैनन्। यस्तै, अल्पसंख्यक अश्वेत जातिको विरोधको त्यतिबेलाको बेलायतमा कुनै अर्थ पनि हुन्थेन। जस्तो- चलचित्रमा पामेला डेयरले कक्षाकै अश्वेत साथी सिल्सलाई पटक-पटक शिक्षक थाकरीलाई नश्लको आधारमा गरिने भेद र मजाकमा आफूलाई साथ दिन भन्छिन्। यसलाई ‘ह्वाइट्स म्यान बर्डन’ भनिन्छ, जसमा सामाजिक व्यवस्थामा श्वेत जातिको अभिन्न भूमिका हुने दाबी गरिन्छ। यस विषयको उठान बेलायती कवि ‘रुडयार्ड किप्लिङ’ले आफ्ना कवितामार्फत गरेका थिए। यसरी अश्वेत जातिको छाला र कपालका आधारमा नश्लवाद हुर्किएको थियो, त्यतिबेलाको युरोप र अमेरिकामा। चलचित्रको अन्त्यसम्म पुग्दा भने यो विषय सुल्झिसकेको देखाउन खोजिएको छ।