तुलसी दिवस र दुर्गा घिमिरेलाई हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार
गण्डकी, असोज १५ : विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कारबाट तुलसी दिवस र दुर्गा घिमिरेलाई सम्मान...
गण्डकी, असोज १५ : विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कारबाट तुलसी दिवस र दुर्गा घिमिरेलाई सम्मान गरिने भएको छ।
समितिका संस्थापक स्व. हेमबहादुर प्रधानद्वारा स्थापित उक्त पुरस्कारबाट धनकुटाका संस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवस र महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील धरानकी दुर्गा घिमिरेलाई परस्कृत गरिने भएको हो।
प्रत्येक दुई÷दुई वर्षमा वितरण गरिने पुरस्कारको राशि जनही रु. एक लाख छ। घिमिरेलाई २०७६ सालमै यो पुरस्कार दिने घोषणा गरिएको भए पनि कोरोना महामारीका कारण पुरस्कार वितरण गर्न नसकिएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए।
१९९८ असारमा धनकुटामा जन्मिएका दिवस २९ वर्षको उमेरमै प्राज्ञ भएका थिए। सानैदेखि कला, साहित्य, संस्कृतिमा रुचि राख्ने दिवस उच्च शिक्षाको अध्ययनसँगै साहित्य र संस्कृति अनुसन्धानका क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
जापान, कोरिया, बेलायत, अमेरिकाजस्ता दर्जनभन्दा बढी देशमा लोकवार्तासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका दिवसका नेपाली लोक कथा, नेपाली लोककथा केही अध्ययन, धिमाल प्रदर्शनकारी लोक संस्कृति, धिमाल लोकधर्म र संस्कृति, तुलसी दिवसका कविता, भारतबाट तुलसी दिवसका कविता जस्ता कृति प्रकाशित छन्।
दिवसले सन् १९७४ र १९७८ मा लोकसंस्कृति विषयमा अमेरिकाको इष्ट वेस्ट सेन्टर, हवाई राज्यबाट र सन् १९७६÷१९७७ र १९९६ मा जापानको टोकियो विश्वविद्यालयबाट लोक साहित्य र संस्कृति सम्बन्धमा उच्च क्षिक्षा हासिल गरेका हुन्।
त्यसैगरी दुर्गा घिमिरे चार दशकभन्दा लामो समयदेखि महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील छन्। घिमिरेले महिला बेचबिखन तथा सशक्तीकरणका क्षेत्रमा लामो समयदेखि योगदान दिएका छन्।
उनको योगदानको उच्च कदर र महिला सशक्तीकरणका क्षेत्रमा अरुलाई पनि लाग्न अभिप्रेरित गर्ने भएकाले पुरस्कृत गर्ने निर्णय गरिएको समितिका सचिव श्रेष्ठले बताए। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलद्वारा असोज १६ गते पुरस्कार प्रदान गरिने कार्यक्रम छ।



-1765194974.jpg)








