हजार बुद्धहरूको त्यो मन्दिर : सहरबीच लुकेको कौशल
पाटनको महाबुद्ध मन्दिर निर्माण बौद्ध विद्वान पण्डित अभयराज शाक्यका पालामा सुरु भएर उनका पनातिका पालामा पूरा भयो, त्यसबीचमा पाटनमा फेरिए तीन राजा।काठमाडौं, असोज १३ : गजुरसमेत गरी साततले शिखर शैलीको सुरिलो मन्दिर, तलामाथि उक्लिएसँगै साँघुरो हुँदै जाने चौडाइ। हरेक तलाबाहिर मात्र नभई भित्र पनि फरक-फरक शैलीका वास्तुकलाले सुसज्जित। गर्भगृहमा शाक्यमुनि बुद्धको मूर्ति। भुइँतलामा सामन्तभद्र, रत्नपाणि, पद्मपाणि, विश्वपाणि, ब्रजपाणि र बोधिसत्वका मूर्ति।
भुइँ तलामा गर्भगृहको दायाँ-बायाँ दुवैपट्टि साँघुरो स्थानबाट माटोका ठाडा सिँढी। तिनै सिँढीबाट पुगिन्छ, मन्दिरको पहिलो तलामा। पहिलो तलाको बुर्जाबाट बाहिर निस्कन गाह्रो छैन।
भुइँ तलाबाट पहिलो तलाको गर्भमा अमिताभ बुद्धको मूर्ति स्थापित छ। भुइँ तलाको जस्तै अमिताभ बुद्धको मुर्तिको दायाँ र बायाँ दोस्रो तला उक्लन माटोबाट बनेका अझ साँघुरा र ठाडा सिँढी छन्। दोस्रो तलामा स्वयम्भु चैत्य स्थापना गरिएको छ।
तेस्रो तला उक्लिन भने एउटा काठको सिँढी छ अनि त्यससँगै फलामका सिक्री छन्। त्यही सिक्री समात्दै माथि उक्लिनुपर्छ। तेस्रो तलाको गर्भमा धर्मनाथ धातु स्थापित छ, जहाँ उनको पैताला पनि छ।
चौथो तला उक्लिन धेरै कठिन छ। न त माटोका सिँढी, त न काठका सिँढी वा सिक्रीको मद्दत। पूर्ण रूपमा आफ्नै बलबुतामा चौथो तलामा चढ्नुपर्ने। चौथो तलामा चढ्न तेस्रो तलाको झ्यालमा खुट्टा राखेर हातले मुस्किलले एकजना छिर्न मिल्ने गुफामा शरीरलाई धकेल्नुपर्छ। गुफाको दुवैतिर बेस्सरी समातेर शरीरलाई नठेल्दा चौथो तलामा पुग्न मुस्किल हुन्छ।
चौथो तलामा ‘धर्म धातु मण्डला’ स्थापित गरिएको छ। चौथोबाट पाँचौँ तलामा जान भने कुनै बाटो छैन। पाँचौँ तलामा ब्रज धातुको मण्डला राखिएको मन्दिरका पुजारी डा. रस्किन शाक्य बताउँछन्।
यी दृश्य हुन्, पाटन सुन्धारा ओकुबहालस्थित महाबुद्ध मन्दिरका। शाक्यका अनुसार गजुरमा ‘उस्निश चुडामणि गोल्डेन चैत्य’ स्थापित गरिएको छ। भुइँ तलासहित मन्दिरलाई साततले मानिन्छ। र, भुइँ तलालाई गणना नगर्दा यो मन्दिर ६ तले छ। सामान्यतया यसलाई साततले महाबुद्ध मन्दिर भन्ने गरिएको छ।
‘मन्दिरको चौथो तलासम्म पुग्न गाह्रै हुन्छ, थोरै मात्र यहाँसम्म आउन सक्छन्,’ पुजारी डा. शाक्य भन्छन्, ‘तेस्रो तलामा स्थापित पञ्चजिनालय स्वयम्भू महाचैत्य निकै पवित्र चैत्य हो।’
बाल्यकालमा आफूहरू दगुर्दै मन्दिरको चौथो तलासम्म पुग्ने गरेको डा. शाक्य स्मरण गर्छन्। भन्छन्, ‘त्यो समयमा हाम्रो जिजिबराजुले मन्दिर बनाउनुभएको थाहा त थियो तर बोध थिएन।’
उमेर र जिम्मेवारी बढ्दै जाँदा उनमा आफ्ना जिजुबराजुले निर्माण गरेको यो धरोहरको संरक्षण गर्नुपर्ने बोध भयो उनलाई। पेशाले उनी हाडजोर्नी विशेषज्ञ हुन्। आफ्नो पुर्खाबाट हस्तान्तरण हुँदै आएको उक्त मन्दिरको स्याहार र आराधनाका लागि गुठीले विभाजन गरेअनुसार वर्षमा एक महिनाको समय उनले मन्दिरका लागि छुट्याउनुपर्छ। अहिले उनी त्यही एक महिनाका पुजारी हुन्। व्यावसायिक जीवनमा चिकित्सक र र व्यक्तिगत जीवनमा मन्दिरका पुजारी उनको दुई परिचय हुन्। र, दुवै भूमिकामा उनी आफूलाई प्रस्तुत गरिरहेका छन्।
शाक्य परिवारको पाँच सय वर्ष पुरानो धरोहर
घटना करिब पाँच सय वर्ष पुरानो हो। पाटनका बौद्ध विद्वान् पण्डित अभयराज शाक्य तीर्थयात्राको सिलसिलामा भारत बोधगया पुगेका थिए। ध्यान तथा साधनाका लागि बोधगया पुगेका उनी त्यहाँस्थित महाबोधी मन्दिरको कलाकृतिबाट निकै प्रभावित भए। महाबोधीजत्तिकै ठूलो र अग्लो मन्दिर बनाउन नसके पनि उस्तै कलाकृति प्रयोग गरेर पाटनस्थित आफ्नो निवासमा पनि मन्दिर बनाउने उत्कट अभिलाषा जाग्यो उनको मनमा।
बोधगया उनका लागि निकै मनमोहक र शान्तिपूर्ण थियो। सोही कारण चार वर्ष उनी त्यहीँ बसे र ध्यान-साधनामा लीन रहे। चार वर्षमा महाबोधी मन्दिरका कलाकृति, वास्तु र नाप-नक्सा सबै बुझेर आए उनी।
महाबुद्ध सेवा समिति अध्यक्ष सान्धुमानन्द शाक्यका अनुसार अभयराजका सातमध्ये एकजना भिक्षु बने। अर्को एक सन्तान पाटनबाहिरको बिहिली भन्ने ठाउँमा सरे। अन्य पाँच सन्तानबाट भएको जायजन्मले उनीहरूको वंश धानिँदै आएको छ। अहिले अभयराज शाक्यका शाखा-सन्तान एक सय २० परिवारका रूपमा फैलिएका छन्।
‘बाँकी पाँचजनाबाट हामी सन्तति जन्मिएका हौँ। अभयराजका कान्छा छोरा बुद्धजुपट्टिको सन्तान्त हुँ म,’ अध्यक्ष शाक्य भन्छन्, ‘पाँच सय वर्षको अन्तरालमा अभयराजका एक सय २० भन्दा बढी परिवारका रूपमा सन्तति फैलिएका छौँ।’
तिनै सन्ततिले निजी गुठी स्थापना गरी एक-एक महिना मन्दिरको स्याहार र दैनिक पूजा-आराधनाको जिम्मेवारी लिने गरेका छन्। महाबुद्ध र सँगै रहेको विद्याधारी देवी (आकाश योगिनी) मन्दिरको पूजा-आराधना, आर्थिक, सामाजिक र धार्मिक कार्यका लागि महाबुद्ध सेवा समिति छ। यस्तै, महाबुद्ध मन्दिरकै छुट्टै संरक्षण, आन्तरिक तथा पर्यटक व्यवस्थापनका लागि महाबुद्ध मन्दिर संरक्षण समिति छ।
अभयराजलाई पाटनका राजाको ‘डिठ्ठा’ पदवी
चार वर्षपछि नेपाल फर्किएका बौद्ध विद्धान् अभयराजलाई तत्कालीन पाटनका राजा अमर मल्लले ‘डिठ्ठा’को पदवी दिए। त्यससँगै उनले तामाको सिक्का बनाउन थाले। उनको कामबाट प्रभावित भएका राजा अमर मल्लले उनलाई राजकीय पदवी पनि दिए। सोही समय उनलाई एक रात विद्याधारी देवीले सपनामा हाल मन्दिर भएको स्थानमै मन्दिर निर्माण थाल्न आज्ञा दिइन्।
मनमै सुषुप्त रहेको चाहना पूरा गर्न सपनामा उनले पाएको विद्याधारी देवीको आदेशबाट मन्दिर निर्माणका लागि अनुमति पाएसरह भयो उनलाई। र, विसं १६२१ मा मन्दिर निर्माण थाले।
निर्माण सकिन तीन पुस्ता र तीन राजा
मन्दिरको निर्माण सक्न करिब ३६ वर्ष लाग्यो। अभयराजले सुरु गरेको मन्दिर निर्माणमा नाति र पनातिसम्मको पुस्ताले योगदान दिन पाए। यस्तै, मन्दिरको शिलान्यास राजा अमर मल्लले गरेका थिए, उदघाटन उनका नाति शिवसिंह मल्लले गरे।
‘यसरी हेर्दा मन्दिरको निर्माण अवधिभर तीन पुस्ताको शासन चल्यो,’ अध्यक्ष शाक्य भन्छन्, ‘अमर मल्लको समयमा सुरु भएको निर्माण सदाशिव मल्ल हुँदै शिवसिंह मल्लको समयमा पूरा भएको इतिहास छ।’
पाटनमा लुकेको कौशल
पाटन भन्नासाथ कृष्ण मन्दिर, पाटन दरबार स्क्वायर, होनाचा हरेकको मानसपटलमा आउँछन्। तर, बिनाकुनै राजकीय सहयोग एक व्यक्तिको प्रयासमा बनेको महाबुद्ध मन्दिरको बारेमा थोरैलाई मात्र जानकारी छ। अझ रोचक पक्ष के भने बुद्धका अन्य मन्दिरभन्दा यो मन्दिर निकै पृथक छ।
विभिन्न मूर्ति र कलाको अभ्यास मूर्त र अमूर्त रूपमा देखिने स्थान हो, पाटन। कला कौशलको अनुपम उदाहरण पाटनमा भेटिन्छ। त्यही अनुपम उदाहरण हो, नेपथ्यमा रहेको महाबुद्ध मन्दिर। जुन मावन बस्तीमै छ तर धेरैको जानकारीभन्दा टाढा।
मंगलबजारबाट दक्षिणतर्फ लाग्दा करिब एक किलोमिटर दूरीमा सुन्धारा चोक आउँछ। चोकको मध्य भागमै सुनको लेपन गरिएका तीनवटा ढुंगे धारा छन्। सोही कारण उक्त स्थानको नाम सुन्धारा राखिएको अनुमान गर्न गाह्रो छैन। सुन्धाराबाट पूर्वतर्फ करिब पाँच सय मिटर टाढा बायाँतर्फ महाबुद्ध मन्दिरको गेट देख्न सकिन्छ।
लस्करै रहेका अग्ला घरहरू बीचमा सानो गेटबाट प्रवेश गर्दा मन्दिरमा पुगिन्छ। चारै कुनामा जोडिएर रहेका घरहरूको बीचमा रहेको चोकमा साततले मन्दिर आफ्नो गौरवशाली इतिहासका साथ उभिएको छ। शिखर शैलीमा बनेको उक्त मन्दिर टेराकोटा इँटाबाट निर्मित छ। यस मन्दिरलाई ‘हजार बुद्धहरूको मन्दिर’ पनि भन्ने गरिन्छ।
महाबुद्ध सेवा समितिका अध्यक्ष शाक्यका अनुसार मन्दिरको सुरिलो बाहिरी आवरणमा बुद्धका नौ हजार प्रतिमा कुँदिएका छन्। तर, मन्दिरमा नौ हजार नै बुद्धका मूर्ति भने नभएको शाक्य बताउँछन्। भन्छन्, ‘नौ हजारमा करिब ३४ सय प्रतिमूर्ति बुद्ध र बाँकी बुद्धको संकेत चिन्हहरू हुन्।’ यद्यपि, बुद्धको संकेत गर्ने कमलको फूललगायत गरी नौ हजार कलाकृति पुग्ने उनको भनाइ छ।
तिब्बतीहरूले यस मन्दिरलाई ‘साङ्गे तुङ्गु’ भन्छन्। तिब्बती भाषामा ‘साङ्गे’ अर्थात ‘शाक्यमुनि बुद्ध’, ‘तोङ’ भनेको ‘हजार’ र ‘गु’ भनेको नौ हो। सोहीकारण नौ हजार बुद्धका मूर्तिको मन्दिर भनेर तिब्बतीहरूले मान्दै आएको शाक्य बताउँछन्।
दुई ठूला भूकम्प झेलेको मन्दिर
‘२ माघ १९९० को भूकम्पबाट मन्दिरको माथिल्लो आधा भाग भत्कियो, जसबाट ठूलो नोक्सानी भयो,’ अध्यक्ष शाक्य भन्छन्।
१२ वैशाख ०७२ को विनाशकारी भूकम्पमा मन्दिरको बाहिरी आवरणमा खासै प्रभाव नपरे पनि भित्री संरचना भने क्षतिग्रस्त भएको पनि उनले सझिए, जसका कारण मन्दिरको बरन्डासमेत छुट्टियो।
मन्दिरको बनोट बज्र लेपन (इँटाको धुलो, चुन, मास आदि) बाट बनेको कारण पुनर्निर्माण कसरी गर्ने भन्ने विषयमा पुरातत्त्व विभागसँग समितिले सल्लाह माग्यो। तर, त्यहाँबाट ठोस निर्णय आउन नसकेको शाक्य बताउँछन्। भन्छन्, ‘प्राविधिक र पुरातत्त्वविद्सँगको सल्लाहमा ‘ग्राउडिङ’ गरेर पुनर्निर्माणको विकल्प भन्यो।’
२०७२ सालको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि ३६ लाख रुपैयाँ लागेको उनी बताउँछन्। संयोगवश सोही समय तत्कालीन चिनियाँ राजदूत भ्रमणमा आएको र धार्मिक आस्थाकै कारण पुनर्निर्माणमा उक्त रकम सहयोग गरेको उनले बताए।
नेपाल सरकारबाट भने हालसम्म कुनै सहयोग नआएको उनी बताउँछन्। पुरातत्त्व विभागको बजेटमा ‘चार करोड’ सहयोगका लागि कुराकानी भए पनि अन्तिम सहमति नमिलेको शाक्य बताउँछन्।
प्रायः मन्दिरहरू खुला र अग्लो स्थानमा हुने कारण मानिसहरूको नजरमा पर्छन्। तर, अग्ला भवनहरूको बीचमा हराएका कारण यो मन्दिरका बारेमा खासै प्रचारप्रसार हुन नसकेको शाक्यको बुझाइ छ।
मन्दिरमा पर्यटकहरूलाई विभिन्न चोकमा ल्याउँदाका रमाइला किस्सा पनि छन् उनीसँग। भन्छन्, ‘मन्दिर पुग्नका लागि सुन्धारा मात्र नभई ओकु बहालका विभिन्न कुनाकाप्चा र चोकबाट ल्याउन मिल्छ। यसरी साना गल्ली र चोकबाट ल्याउँदा पर्यटकहरू लुटपाट गर्र्ने हुन् कि भनेर डराउने रहेछन्।’
आगामी दिनमा पुनः मन्दिरमा क्षति नपुगोस् भनेर सम्भव भएका भागमा स्टिलको प्लेट राखी बाहिरबाट नदेखिने गरी वेल्डिङ गरिएको छ।
विसं १९९० सालमा मन्दिर पुनर्निर्माण गर्ने क्रममा पुर्खाले मन्दिरको संरचनाको ‘साँचो’ (कागजात) कहाँ राखे भन्ने अध्यक्ष शाक्य र समितिलाई समेत पत्तो छैन। सोही कारण पनि ०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा प्राविधिक र पुरातत्त्वविद्लाई मन्दिरको पूर्ण अध्ययन गराई अभिलेखीकरण गराइएको छ।
कोरोना महामारीअघि अमेरिका, चीन, भियतनाम, थाइल्यान्ड, जापान, भुटानलगायत बौद्ध धर्मसँग आस्था राख्ने देशका पर्यटक यहाँ प्रशस्त आउँथे। तर, कोरोना महामारी जारी रहँदा विदेशी पर्यटक शून्यमा झरेका छन्।
जर्मन आर्किटेक्टको वर्णन- वास्तुकलाको उत्कृष्ट नमूना
वास्तुकलाको एउटा उत्कृष्ट नमूना यस मन्दिरका बारे धेरै अनभिज्ञ रहँदा जर्मनीका आर्किटेक्ट वल्फग्याग कर्नले आफ्नो पुस्तक ‘द शिखर्स- द ट्रेडिसनल नेवार आर्किटेक्चर अफ द काठमाडौं भ्याली’मा महाबुद्ध मन्दिरको जिकिर गरेका छन्।
मन्दिरको बारे विस्तृत अध्ययन गरेका कर्नले लेखेका छन्, ‘मन्दिर भारत बोधगयाको महाबोधी मन्दिरको रेप्लिका हो, जुन शिखर शैलीमा बनेको छ। मन्दिरको पहिलो तलामा चारवटा बरन्डा छन्, जसबाट दोस्रो तलाका लागि साँघुरो बाटो निस्कन्छ। मन्दिरको कुल उचाइ १९ दशमलव ५ मिटर छ।’
मन्दिरको वास्तुकला निकै उत्कृष्ट छ। जसको सराहना गर्दै कर्नले आफ्नो पुस्तकमा मन्दिरलाई पाटनको एक उदाहरणीय अनि स्मरणीय वास्तुकलाका रूपमा उल्लेख गरेका छन्।