Kathmandu Press

कोरोनाकाल सम्झाउने ‘फाइभ फिट अपार्ट’

भौतिक उपस्थितिमा केही फिटको दूरी हुनुपर्ने नियम अहिले विश्‍वव्यापी छ। दूरीमा बस्‍नैपर्ने बाध्यताले मानव जीवन कहालीलाग्दो बनेको छ। र, चलचित्र ‘फाइभ फिट अपार्ट’ले त्यही मनोविज्ञान उजागर गरेको छ।
कोरोनाकाल सम्झाउने ‘फाइभ फिट अपार्ट’

काठमाडौं, असोज ९ : कोही आफ्नो आँखा अघिल्तिर छ। उसलाई देख्न सकिन्छ, ऊसँग बोल्न, कुराकानी गर्न सकिन्छ। ऊसँगै हाँस्‍न अनि रुन सकिन्छ। तर, एउटा परिधि छ, उसलाई छुन वा स्पर्श गर्न मिल्दैन।

स्पर्शको त्यो आभास प्रसुती पीडाबाट भर्खरै मुक्त भएकी आमालाई भन्दा कसलाई थाहा होला र ! छेउमै रहेको नवजात शिशुलाई नछोएसम्म मातृत्व भाव अतृप्त नै रहन्छ।

हुन त, ‘स्पर्श’ आफैँमा बहु अर्थ दिने शब्द हो। स्पर्श माथि भनेजस्तै भर्खरै जन्मिएको आफ्नो सन्तानलाई छुन लालायित आमाको हातले प्राप्त गर्ने परम आनन्द पनि हुन्छ। अनि धेरैपछि भेट भएको ‘बेस्ट फ्रेन्ड’लाई मारिने अंगालोमा पनि स्पर्शको आनन्द प्राप्त गर्न सकिन्छ। यस्तै, कुनै प्रतियोगिता जितेर वा उपलब्धी हासिल गरेर आएका विद्यार्थी वा सन्तानलाई स्याबास् भन्दै ढाडमा शिक्षक तथा आमा-बुवाले मार्ने धाप पनि हो स्पर्श।

Hardik ivf

आफ्नो मान्छेको वियोगमा आँखाबाट अनवरत झर्ने आँसु पुछिदिने औँलाले पनि स्पर्श गर्छ। दिदीभाइले प्याट्ट् पिट्ने पिटाइदेखि झगडा, मतभेद हुँदा एकअर्कालाई प्रहार गरिने घातक मुक्का पनि हो स्पर्श।

नकार्न नसकिने अर्को स्पर्श हो- प्रेमिल जोडी वा श्रीमान्-श्रीमतीका रोमान्टिक छुवाइ। जसमा कपाल तान्‍नु, गाला सुमसुम्याउनु, अँगालो मार्नु, चुम्बन गर्ने अनि शारीरिक भोगको आनन्द उठाउनु। यसरी हेर्दा स्पर्शबिना सृष्टि नै अघि नबढ्ने रहेछ। अमूर्त देखिने यस्ता अस्पष्ट स्पर्शको आभासले व्यक्तिमा शारीरिक मात्र नभई मानिसक रूपमा पनि ऊर्जाशील तरंग फैलाइदिन्छ।

‘फाइभ फिट अपार्ट’मा दूरीको महत्त्व

‘फाइभ फिट अपार्ट’ अर्थात् ‘पाँच फिट पर’ एउटा यस्तै चलचित्र हो। सन् २०१९ मा बनेको यो चलचित्र विशुद्ध प्रेमकथामा आधारित छ। जस्टिन बाल्डोनीको निर्देशनमा बनेको यस चलचित्रमा स्पर्श र दूरीको तानाबानाका पिल्सिएका पात्र हुन्, ‘स्टेला’ र ‘विल’। दुवै ‘सिस्टिक फाइब्रोसिस (सीएफ)’का दीर्घरोगी हुन्। यो फोक्सोमा लाग्ने रोग हो, जसले रोगीको श्‍वासप्रश्‍वासको अवधिलाई छोट्याइदिन्छ।

सटिक निदान र उपचार नभएको उक्त रोगको उपचारका लागि उनीहरू अस्पतालमा भर्ना भएका छन्। मृत्युसँगको दूरी धेरै टाढा छैन। त्यसैले जीवन उनीहरूका लागि क्षितिज हो, जुन सुन्दर देखिन्छ तर भेट्न सकसपूर्ण छ।

आपसमा दूरी कायम गरेर बस्‍नुपर्ने जटिलतामा छन्, उनीहरू। दूरीको सन्तुलन बिग्रियो भने उनीहरूले मृत्युवरण गर्नुपर्ने हुन सक्छ।

अस्पतालमै भेट भएका यी दुई पात्र विस्तारै नजिकिन्छन् र प्रेममा पर्छन्। प्रेम आफैँमा सुन्दर भाव। प्रेमले मानिसलाई आफू अनि आफ्नो जीवनसँग माया गर्न सिकाउँछ। प्रेमले समय अलिकति लामो भएर तन्किए पनि हुन्थ्यो भन्‍ने अनुभूति दिलाउँछ।

उपचार सफल हुने हो वा होइन भन्‍ने दोधारमा रहेका यी पात्रहरू पनि जीवनप्रति खासै आशावादी छैनन्। स्टेलाको बेस्ट फ्रेन्ड ‘पो’ पनि सोही रोगका शिकार हुन्। उनले आफ्नो मिल्ने साथीसँग पनि दूरी कायम राख्नुपर्छ।

सिनेमाको कथा अघि बढेसँगै उनीहरू प्रेममा पर्छन्। तब उनीहरूले जीवन अनि प्रेम मात्र होइन, स्पर्शको महत्त्व पनि थाहा पाउँछन्। उनीहरूबीच अंकुराएको प्रेम अस्पताल वार्डेन बारबाराले पत्तो पाउँछिन्। यसअघि पनि एक जोडीको मृत्यु भएका कारण बारबाराले उनीहरूलाई भेट्न र नजिकिन रोक लगाउँछिन्।

त्यसैले उनीहरूले अस्पतालको नियमअनुसार ६ फिटको दूरी कायम गर्नुपर्छ। ६ फिटको दूरीमा आफ्ना प्रेमिल भाव र कथा-व्यथा आपसमा बाँड्छन्। रोगले उनीहरूबाट धेरै कुरा छिनेको छ। तर, उनीहरूले अस्पतालको नियमलाई काट्दै एक फिट दूरी घटाउँछन् र पाँच फिट कायम गर्छन्। त्यसैमा आधारित भएर सिनेमाको नाम जुराइएको छ, फाइभ फिट अपार्ट।

स्पर्श उनीहरूका लागि त्रास हो। किनकि, स्टेलाले आफ्नो मिल्ने साथी ‘पो’को निधनमा पनि उनलई अन्तिमपटक छुन पाउँदिनन्। उनको गुनासो यही छ- दूरी र नियमको परिधिमा बाँधिँदा पनि शाश्‍वत सत्य मृत्यु नै हो भने आफ्ना रहर, इच्छा, चाहनालाई मारेर पनि मरणशील जीवन किन जिउने ?

सोही बागी विचारका साथ स्टेला र विल अस्पतालबाट निस्किन्छन् आफ्नै मर्जीमा। अस्पतालको कम्पाउन्डभन्दा परको संसार नदेखेका उनीहरू निकै खुशी हुन्छन्। यता कथाको ट्विस्ट आउँछ, स्टेलाका लागि नयाँ फोक्सो पाइन्छ। उनकी नर्स बारबरा त्यसबारे खबर गर्न उनको रुममा जान्छिन्। तर, स्टेला त त्यहाँबाट उन्मुक्त संसारमा पुगिसकेकी हुन्छिन्। र, स्टेलालाई साथ दिएका हुन्छन् विलले। स्टेलाले मेसेजमार्फत खबर पाउँछिन्। तर, मृत्युलाई स्वीकार गरिसकेकी उनले अब डरभन्दा आफ्नो रहर पूरा गरेर बाँकी समय बिताउन चाहन्छिन्।

अन्ततः विलको परिवारबाट स्टेलाका लागि नयाँ फोक्सो मिलेको जानकारी विलले पाउँछ। करबलमा स्टेलालाई अस्पताल लैजाने कोशिस गर्छ विलले। विरोध गर्ने क्रममा स्टेला पुलबाट खसेर हिउँ जमेको पोखरीमा डुब्छिन्।

नियमानुसार सीएफका बिरामीले एकअर्काबीच ६ फिट दूरी कायम गर्नुपर्ने हुन्छ। तर, स्टेलाको श्‍वास फर्काउन विलले ‘माउथ टु माउथ सीपीआर’ दिन्छ। त्यसपछि होशमा आएकी स्टेला अस्पतालमा पुग्छिन्। तर, उनले फोक्सो प्रत्यारोपण गर्न मन गर्दिनन्। तथापि, विलको अनुरोधमा उनी विवश हुन्छिन्। यता विलको उपचारमा भने कुनै  प्रगति भएको हुँदैन।

चलचित्रको अन्त्य अन्य प्रेमकथाजस्तो मृत्युमा सकिएको त छैन। तर, वियोग पक्कै नै छ। त्यका लागि करिब डेढ घण्टाको फुर्सद निकाल्दा समयको बर्बादी महसुस हुने छैन। यो चलचित्रले औसत रेटिङ पाएको छ। यद्यपि, सुक्ष्म रूपमा ‘टच’ अर्थात् स्पर्शको महत्त्व दर्साउने प्रयास भने फरक छ। प्रेममा आदर्शलाई प्रष्ट्याइएको छ तर मानवीय संवेदनाको अभिन्‍न अंग स्पर्शलाई केन्द्रमा राखिएको छ।

फिल्मको सुरु र अन्त्यको दृश्यलाई दोहोर्‍याइएको छ, जहाँ स्टेला भन्छिन्, ‘हामीलाई ती स्पर्श उत्तिकै आवश्यक छन्, जति हामीलाई सास फेर्नका लागि हावा।

कोरोनाकाल सम्झाउने ‘फाइभ फिट अपार्ट’

यो सिनेमा मार्च २०१९ मा सार्वजनिक प्रदर्शनमा आयो। डिसेम्बर २०१९ मा चीनको वहान सहरबाट कोरोना महामारी सुरु भयो। र, विश्‍वलाई नै यो महामारीले अहिलेसम्म गाँजिरहेको छ। कोरोनाकालले मानव जातिलाई दूरीको महत्त्व सम्झायो। जस्टिन बाल्दोनी निर्देशित अमेरिकी रोमान्टिक ड्रामा फिल्म ‘फाइभ फिट अपार्ट’ले त्यही दूरीको महत्त्व बुझाउने प्रयास गरेको छ।

कोभिड-१९ महामारी विश्‍वव्यापी बन्दै गर्दा २५ अप्रिल २०२० मा फ्रान्सेस्का गिलेटले बीबीसीमा एउटा लेख लेखे, ‘कोरोना भाइरस : ह्वाइ गोइङ विदाउट फिजिकल टच इज सो हार्ड’ शीर्षकमा। लेखको सुरुमै एउटा तस्बिर छ, जसमा हजुरआमा खाना खाँदै छिन् भने नाति बाहिरबाट हेरिरहेको छ। कोरोना अनि दूरी कायम राख्नु नपर्ने भएको भए सायद ती नाति हजुरआमाको काखमा बसेर खान खाने, माया गर्नेजस्ता स्पर्श साटासाट गरिरहेका हुन्थे।

आँखासामु उपस्थित हुँदा पनि त्यो स्पर्शको अनुभवले मानिसभित्र उकुसमुकस र औडाहा सिर्जना गरिदिन्छ। लेखका अनुसार अक्स्फोर्ड विश्‍वविद्यालयमा साइलकोलोजीका प्रोफेसर रोबिन दुनबारले स्पर्श मानव सम्बन्धको आधारभूत पक्ष भएको र यसको अभावमा जति नै निकट सम्बन्ध पनि विस्तारै खुकुलो र कमजोर हुँदै जाने बताएका छन्।

स्पर्श एक आधारभूत पाटो

यस्तै, जोस्टर नामक अन्तर्राष्ट्रिय जर्नलमा ‘द थ्योरी अफ टच’मा यसबारे अझ विस्तृतमा  उल्लेख गरिएको छ। उक्त जर्नलका अनुसार बच्चा गर्भमा रहँदा सबैभन्दा पहिले विकसित हुने ज्ञानेन्द्रीय नै ‘स्किन’ अर्थात ‘छाला’ हो। अनि छाला स्पर्श अनुभव गराउने माध्यम हो। ‘ह्युमन फर्म अफ कम्युनिकेसन्स’को पहिलो माध्यम नै स्पर्श हो भनिन्छ।

अभिभावक र नवजात शिशुबीचको सुरुका केही महिनाको स्पर्शलाई ‘कंगारु केयर’ भन्‍ने गरिन्छ, जहाँ मातापिताको स्पर्शद्वारा हुने स्याहारले बच्चाको शरीरमा सकारात्मक ऊर्जा फैलिने जर्नलमा उल्लेख छ। कंगारुले आफ्नो बच्चालाई थैलीभित्रै राखेर स्याहार गर्छ, जहाँ बच्चा सुरक्षित हुन्छ। सायद त्यो स्पर्श नै होला, जसले सुरक्षा अनि राहतको आभास दिन्छ।

लेखको एक अनुच्छेदमा भनिएको छ, ‘स्पर्श मानवीय सम्बन्धमा आधारभूत पाटो हो। जहाँ बाल्यावस्थामा बच्चा र केयर टेकर (हजुरबा, हजुरआमा, मातापिता वा अन्य कोही) सँग संवाद हुने भनेकै स्पर्शको माध्यमबाट हो। बच्चालाई तेल लगाइदिने, नुहाइधुवाइ, काउकुती लगाउने, माया गर्ने यी सबै एक मानिसको जीवनको सुरुवाती चरणमा सबैभन्दा बढी हुन्छ।’

एउटा नाबालक जन्मँदा उसको बोली फुट्नुअघि स्पर्श नै संवादको माध्यम हुन्छ। पाठेघरमा बच्चाको विकास भएसँगै उनीहरूको छाला विकास हुन्छ। छाला स्पर्शको माध्यम हो।

उमेर बढेसँगै स्पर्श भावनासँग जोडिएर आउँछ। बेलायती उदारवादी राजनीतिज्ञ एडवर्ड मोनटागुले पनि शाब्दिक संवादभन्दा पनि शारीरिक हाउभाउले मानिसको सम्बन्धमा धेरै फरक पार्ने बताएका छन्।

लेखकै अर्को अनुच्छेदमा भनिएअनुसार प्रेमिल जोडी तथा विवाहित दम्पतीहरूको मायालु व्यवहारमा पनि भावनात्मक स्पर्शको ठूलो भूमिका हुन्छ। लामो समयदेखि ‘कपल थोरापी’बारे अध्ययन गर्दै आएकी सु जोन्सनले आफ्नो पुस्तक ‘होल्ड मी टाइट’मा नियमित स्पर्श वा आभास नभएमा त्यसको असर भावनात्मक पक्षमा पनि फरक पर्छ। यहाँसम्म कि भावपूर्ण स्पर्शबिनाको शारीरिक सम्बन्ध पनि निरर्थक हुने उनी बताउँछिन्। यसकारण पनि सम्बन्धहरू अघि बढ्नका लागि व्यक्तिको अनुभूति अत्यावश्यक हुन्छ।

फिल्महरूमा अभिनेता, अभिनेत्रीहरूले अँगालोमा बेरिएर रोमान्टिक दृश्य दिनुमा पनि स्पर्शको महत्त्व झल्किन्छ। ‘लङ डिस्ट्यान्स रिलेसनसिप’मा रहेका जोडीबीच बढी समस्या आउँछ। किनकि, उनीहरूले स्पर्शको अनुभूति गर्न पाएका हुँदैनन्। युरोप, अमेरिकाका चलचित्रहरूमा चुम्बन, यौन सम्बन्धजस्ता दृश्यलाई फोकस गरिएको हुन्छ। त्यही कुरा पूर्वीय समाजमा भने पाच्य हुँदैन, पारिवारिक ठहरिँदैन।

पूर्वीय समाजमा चुम्बन, यौनजस्ता विषयलाई व्यक्तिबीचमै सीमित गरिन्छ। निजी जीवनलाई सार्वजनिक गर्न नहुने मनोविज्ञान छ। पश्चिमाहरू यस मामिलामा उदार देखिन्छन्। तथापि, कोरोनाकालले मानिसलाई स्पर्शबाट टाढा राखेको छ। र, एकअर्काको भौतिक उपस्थितिमा कम्तिमा ६ फिटको दूरी हुनुपर्ने नियम विश्‍वव्यापी छ। दूरीमा बस्‍नैपर्ने बाध्यताले मानव जीवन कहालीलाग्दो बनाएको छ। र, चलचित्र ‘फाइभ फिट अपार्ट’ले त्यही मनोविज्ञान उजागर गरेको छ।

प्रकाशित मिति: १२:५९ बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्