राष्ट्रकविको जन्मजयन्तीमा कविता वाचन
काठमाडौं, असोज ७ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीका अवसरमा उनका रचना वाचन गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानले आज यहाँ ‘राष्ट्रकवि घिमिरेको व्यक्तित्व चर्चा र...
काठमाडौं, असोज ७ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीका अवसरमा उनका रचना वाचन गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानले आज यहाँ ‘राष्ट्रकवि घिमिरेको व्यक्तित्व चर्चा र रचना वाचन’ कार्यक्रम आयोजना गरेको हो।
प्रतिष्ठानका लोकवार्ता र बालसाहित्य विभाग प्रमुख देवी नेपालले राष्ट्रनिर्माण, गौरी, राजेश्वरी, धर्तीमाता (खण्डकाव्य), कालीगण्डकी, नवयुवक, वैशाख (कविता) र अश्वत्थामा तथा इन्द्रकुमारी (गीतिनाटक) वाचन गरे।
प्रतिष्ठानकै योजना तथा कार्यक्रम महाशाखा प्रमुख लक्ष्मी गौतमले गौरी (खण्डकाव्य) वाचन गरेकी थिइन्।
कूलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकविका प्रकाशन गर्न बाँकी रचनालाई प्रतिष्ठानले प्रकाश गर्ने र अन्य प्रकाशित रचनालाई समेत व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गरे।
उपकुलपति जगमान गुरुङ, सदस्यसचिव जगतप्रसाद उपाध्याय र साहित्यकार रमा शर्माले राष्ट्रकविका व्यक्तित्व तथा कृतित्वबारे चर्चा गरे।
राष्ट्रकविको २०७७ साल भदौ ५ गते १०१ वर्षको उमेरमा निधन भएको थियो।












