देब्स र कल्पनाको ‘केवल तिमीभित्रै...’ सार्वजनिक
काठमाडौं, असोज ७ : गायक देब्स राई र गायिका कल्पना पाङ्देन राईको स्वरमा सजिएको ‘केवल तिमीभित्रै...’ गीत दर्शकश्रोतामाझ आएको छ।स्कुल सिंगिङ ओपन ग्रुप...
काठमाडौं, असोज ७ : गायक देब्स राई र गायिका कल्पना पाङ्देन राईको स्वरमा सजिएको ‘केवल तिमीभित्रै...’ गीत दर्शकश्रोतामाझ आएको छ।
स्कुल सिंगिङ ओपन ग्रुप (एसएसओजी) द्वारा उत्पादित म्युजिक भिडियोसहितको यो गीत सोही संस्थाको युट्युब च्यानल एसएसओजी अफिसियलबाट बुधबार सार्वजनिक गरिएको हो।
प्रेममय भाव समेटिएको यो गीतमा पदम साधना राईको शब्द रहेको छ। यसमा चन्द्र श्रेष्ठले संगीत भरेका छन् भने संगीत संयोजन दीक्षित पौडेलले गरेका छन्।
मकवानपुरको रमणीय स्थल कुलेखानीमा छायांकन गरिएको म्युजिक भिडियोमा कुन्साङ बोम्जन र सिम्रन पन्तको अभिनय देख्न सकिन्छ। टिकटकमा निकै लोकप्रियता कमाइरहेकी सिम्रन र भर्खरै म्युजिक भिडियोमा देखिन थालेका कुन्साङको अन्स्क्रिन प्रेम जाेडी निकै जमेको आभास दर्शकहरूले गर्नेछन्।
चक्र पुलामीको निर्देशनमा तयार पारिएको यो म्युजिक भिडियोको छायांकन तथा सम्पादन विनोद बिनिजरा राईले गरेका हुन्। भिडियोमा मनी के राईको कोरियोग्राफी रहेको छ।
प्रतिभा भएर पनि ओझेलमा परेकाहरुलाई आर्थिक, प्राविधकलगायत विविध सहयोग गरी अगाडि बढाउन एसएसओजी केही वर्षयता अग्रसर हुँदै आएको छ। ‘केवल तिमीभित्रै...’ पनि सोही उद्देश्यकै परिणामस्वरूप प्राप्त सुन्दर सांगीतिक कोसेली भएको गायिका कल्पनाले बताइन्।
एसएसओजीले नै यसअघि भर्चुअल रूपमा गरेको गायन प्रतियोगितामा उनी प्रथम भएकी थिइन्। ‘केवल तिमीभित्रै...’ आफूले गाएकाे पहिलो गीत भएको उनले सुनाइन्। गायनमा आफूलाई विश्वास गरेर मौका दिएकोमा गायिका कल्पनाले एसएसओजीलाई धन्यावाद दिइन्।












