Kathmandu Press

इन्टरनेटको शुल्क बढाउने गतिविधिप्रति ध्यानाकर्षण

इन्टरनेटको शुल्क बढाउने गतिविधिप्रति ध्यानाकर्षण

काठमाडौं, असोज ५ : कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) ले नेपाल विद्युत् प्राधिकरणका कारण इन्टरनेटको शुल्क महँगो हुने जनाएको छ ।

क्यानले आज विज्ञप्ति जारी गर्दै प्राधिकरणले पोल तथा फाइबरको शुल्क बढाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीले शुल्क बढाउने तयारी गरेको जनाएको हो ।

“इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन करको दरलाई विभिन्न प्रकारले समीक्षा गर्न क्यान महासङ्घ र इन्टरनेट सेवा प्रदायक सङ्घले विगतका नीति तथा कार्यक्रम र बजेटमा बारम्बार दिएको सुझावविपरीत सरकारी निकायकै गतिविधिका कारण पूर्वाधारको लागत अझ बढ्न गई इन्टरनेट सेवा प्रवाहमा प्रतिग्राहक १५० देखि ३०० सम्म शुल्क बढ्नु दुःखद् हो”, विज्ञप्तिमा भनिएको छ, “निजी–सरकारी साझेदारीमा सुरुआत भएको इन्टरनेट सेवा तथा इन्टरनेट सेवालाई देशभर पुर्‍याउन निजी क्षेत्रको अर्बौंको लगानी, नेतृत्वदायी भूमिका तथा यसमार्फत देशको अर्थतन्त्रलाई पुर्‍याएको योगदानका कारण आज नेपालको इन्टरनेट सेवा यो अवस्थामा आएको हो ।”

विद्युत् प्राधिकरणको पोल तथा अप्टिकल ग्राउन्ड वायर भाडा समसामयिक दरमा प्रयोग गर्दा इन्टरनेट सेवा प्रदान गर्न सकिएको भन्दै पोलको भाडा समायोजन नभए ९३ प्रतिशतले प्रयोग गर्दै आएको तारसहित इन्टरनेटको शुल्क महँगो हुने महासङ्घले जनाएको छ । प्रतिकिलोमिटरका दरले पोल भाडादर कायम गर्दा इन्टरनेट सेवा प्रदायक, आम उपभोक्ता तथा डिजिटल नेपाल अभियानकै लागि व्यावहारिक नहुने क्यान महासङ्घको ठम्याइ छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीले लामो समयदेखि विद्युत्को पोल तथा फाइबर तार प्रयोगको बक्यौता रकम भुक्तानी नगरेको भन्दै प्राधिकरणले तार काट्ने चेतावनी दिएको छ । प्राधिकरणले यसअघि नै सूचना जारी गर्दै असोज १५ गतेसम्म बक्यौता रकम भुक्तानी नभए तार काट्ने जनाइसकेको छ ।

प्रकाशित मिति: २०:४९ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्