Kathmandu Press

धर्म के हो ?

संसारको उत्पत्ति, सञ्चालन र जीवनसम्बन्धी दृष्टिकोण नै ‘दर्शन’ हो । जन्म, मृत्यु, मन, आत्मा, कर्म, जगतसम्बन्धी दृष्टिकोणलाई ‘दर्शन’ले समेट्छ । जीवन र जगत्को सही दृष्टिकोणले जीवन निर्वाहमा सार्थकता र परिपूर्णता प्राप्त हुन्छ, जीवन सन्तुलित र सुखशान्तिमय बन्छ ।
धर्म के हो ?

व्यक्ति वा वस्तुमा सधैँ रहिरहने स्वभाव, मूल प्रकृति वा गुणनै ‘धर्म’ हो । ‘धर्म’ व्यक्ति वा वस्तुले ‘धारणा’ गरेको आनीबानी, संस्कार र व्यवहार हो । धर्म ईश्वरीय शक्ति र सर्वोच्चता स्विकार्दै देवी–देवता र उनीहरूलाई केन्द्रमा राखेर चल्ने जीवनचर्या पनि हो । ‘धर्म’मा तर्कको कुनै अर्थ रहँदैन, ईश्वरीय शक्तिप्रति विश्वास गर्दै दैनन्दिन चलाउने परिपाटी पनि हो । 

नेपाली बृहत् शब्दकोश अनुसार, व्यक्ति वा वस्तुमा सधैं रहिरहने गुण वा मूल वृत्ति, प्रकृति, स्वभाव नै धर्म हो । स्वर्ग प्राप्त गर्न सकिने लोकविश्वास भएको पुण्य कार्य, पुण्य कर्म पनि धर्म भनेर परिभाषित गरिएको छ । कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार, लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य (जस्तो : मानव धर्म, नारी धर्म, युगधर्म) पनि धर्म भनेर परिभाषित गरिएको छ ।

संसारको उत्पत्ति, सञ्चालन र जीवनसम्बन्धी दृष्टिकोण नै ‘दर्शन’ हो । जन्म, मृत्यु, मन, आत्मा, कर्म, जगतसम्बन्धी दृष्टिकोणलाई ‘दर्शन’ले समेट्छ । जीवन र जगत्को सही दृष्टिकोणले जीवन निर्वाहमा सार्थकता र परिपूर्णता प्राप्त हुन्छ, जीवन सन्तुलित र सुखशान्तिमय बन्छ ।

Hardik ivf

दर्शनशास्त्रले विश्व ब्रह्माण्डको उत्पत्ति, निर्माण र विकासको अध्ययन गर्दछ । यसले जीवन र जगत्का रहस्य, कारण र ज्ञानको खोजी गर्ने उत्सुकताले सम्पूर्ण अभौतिक र भौतिक वस्तुहरूको यथार्थ खोज्ने उद्देश्य राखेको हुन्छ ।

धर्म व्यावहारिक जीवनको व्यापार हो, दर्शन बौद्धिक अभ्यास हो । धर्मले प्रार्थना, उपवास, जप–तप, देवी–देवता, जादू–टुनालाई बढावा दिन्छ, दर्शन दृष्टिकोणसँग नजिकिन्छ ।

सृष्टिको सुरुवातपछि समाज विकासका क्रममा दर्शनहरू धार्मिक भावनाले प्रेरित बनेर अघि बढे । आध्यात्मिक दर्शन र भौतिक दर्शन दुवै चिराबाट जीवन र जगत्लाई नियाल्न र अघि बढाउन थालियो । हिन्दू धर्म, इसाई धर्म र इस्लाम धर्म जस्ता प्रमुख धर्मका दर्शन आफैँमा अध्यात्मवादी दर्शन हुन् । यी सबै धर्मले ईश्वरीय सत्ताको कल्पना र अस्तित्व स्वीकार गर्छन् । सृष्टिको सुरुवात र सञ्चालन दुवै आ–आफ्ना ईश्वरबाट भएका हुन् भन्ने ती सबै धर्मावलम्बी विश्वास गर्दछन् ।

प्राचीन कालदेखि हालसम्मका भारत वर्षका आस्तिक तथा नास्तिक सबै दार्शनिक विचारलाई प्राच्य दर्शन वा भारतीय दर्शन भनिन्छ । प्राच्य दर्शनलाई पनि आस्तिक दर्शन र नास्तिक दर्शन गरी दुई भागमा बाँडिएको छ । आस्तिक दर्शनमा ईश्वरको अस्तित्व स्विकार्नेहरू एकातिर छन् भने अर्कातिर ईश्वरको अस्तित्व अस्वीकार  गर्ने तर वेदलाई प्रमाणको रूपमा स्विकार्ने सांख्यदर्शन र मीमांसादर्शन छन् । वेदलाई पनि मान्यता नदिने अनीश्वरवादी दर्शनहरू– चार्वाक, जैन र बौद्ध प्रमुख छन् ।

मानव सभ्यताको विकाससँगै मान्छेमा ‘धर्म’ पनि गाँसिएर आयो । धर्मले मान्छे मान्छेमा विभाजन खडा ग¥यो । समय र परिस्थिति अनुसार धर्मका मूल्य, मान्यता र आनीबानी पनि परिवर्तन हुन थाले । समय, सन्दर्भ र शक्तिको फेरबदलमा धर्म पनि कहिले कसैको पहुँच र फाइदाका लागि त कहिले अर्कै पक्षको फाइदाका लागि प्रयोग हुन थाल्यो । धर्मले राजनीति, आर्थिक, सामाजिक, नैतिक सबै पक्षलाई प्रभाव पार्दै आएको छ ।

सबै धर्मका धार्मिक ग्रन्थ तत्कालीन साहित्य हुन् । धार्मिक ग्रन्थले सामाजिक, चिन्तन, मूल्य–मान्यता, दर्शन र विचारलाई स्पष्टसँग अवलम्बन गरेका छन् । संसारको सृष्टि, स्थिति, लय, विकास र तत्कालीन जीवनको केही मान्यता बुझ्न धार्मिक ग्रन्थको अध्ययन अपरिहार्य छ ।

साहित्य जीवन र जगत्को यथार्थ चित्र हो । साहित्यले जीवन र जगत्को चित्रण गर्ने मात्र नभई तिनीहरू दुवैको रहस्य पत्ता लगाउने र उन्नतिका लागि सकारात्मक एवं नवीन मार्ग देखाउने कार्य पनि गर्दछ । धार्मिक ग्रन्थ समाजका टाठाबाठा मान्छेले लेखे । उनीहरूले आफ्नो चेतना, आफ्नो हित र समाजका टाठाबाठा र शक्तिशालीको पक्षमा लेखे । त्यसले समाजमा मानवीय असहिष्णुता फैलाउने र धार्मिक समूह भित्र र अन्तर धार्मिक समूहहरूबीचमा समेत द्वन्द्व चर्काउने काम गरे ।

समाजमा सुव्यवस्था कायम गर्न, मान्छेलाई मर्यादित, सुसंस्कृत र अनुशासित बनाउन धर्मको जन्म भएको हो । अन्तत्वगत्वा धर्मका अनुयायीले आफूअनुकूल धार्मिक व्याख्या गर्ने, त्यसअनुसार धार्मिक कृति रचना गर्ने र धार्मिक ग्रन्थमा लेखिएका कुरा समाजले अक्षरसः पालना गर्नुपर्ने मान्यता फैलाएकाले धर्म समाजको स्वतन्त्रता, विकास र उज्यालो खोस्ने माध्यम बन्न पुग्यो । त्यो असर साहित्यमा पनि प्रत्यक्ष वा परोक्ष रूपमा पर्ने नै भयो ।

धर्ममा मान्छेले कुनै दोस्रो शक्तिको कल्पना गर्दछ, त्यो शक्तिलाई श्रद्धापूर्वक ग्रहण गर्नुपर्दछ र त्यही श्रद्धाद्वारा मान्छेले आफ्ना संवेगात्मक आवश्यकता पूर्ति हुन्छन् भन्ने मान्यता राख्छ । धर्म सामाजिक वा संघीय व्यापार पनि हो । भक्तले ईश्वरभक्ति वा धार्मिक मान्यताप्रति समर्पित नहुने हो, जप, ध्यान, पूजा, प्रार्थना, अलौकिकता जस्ता पक्षलाई अस्वीकार गरिदिने हो र हरेक कल्पनाहरू र कथाहरूलाई प्रमाणको कसीमा घोट्न थाल्ने हो भने धर्मको के अस्तित्व हुन्छ र ? धर्म वास्तवमा कुनै अदृश्य शक्ति सिर्जना गरेर ‘शक्तिप्रति श्रद्धा व्यक्त गर्ने’ माध्यम पनि हो । त्यही शक्तिको शरण परेपछि सुखदुःख, क्रोध–भय, प्रेम–करुणा जस्ता संवेगाात्मक आवश्यकता पूर्ति हुन्छ भन्ने मान्छेले ठान्छ । त्यस हिसाबले मान्छेले ईश्वरलाई एउटा डरको र आशाको मूर्तिको रूपमा कल्पना ग¥यो र त्यसैबाट आफ्ना इच्छाहरू पूर्ति हुने, हर्ष विषादको टुङ्गो लाग्ने, ईष्र्या–द्वेष शान्त हुने र कुनै मायाको मिहीनता प्रकट हुने विश्वासमा बाँधियो । हाम्रो गुलामीको जड गरिबी हो र गरिबीको जड धर्म नै हो । शङ्कराचार्यले यो सारा जगत् माया अर्थात् सपना हो भनिदिएपछि श्रमको महत्त्वलाई नकार्न थाल्यो समाजले, काम र मेहनत कसका लागि किन गर्ने र सपनालाई सम्पन्न गराउन किन परिश्रम गर्ने भन्ने प्रश्न समाजमा जताततै फैलियो । टाठाबाठाले निर्धनलाई काम गराएर धन सङ्ग्रह गर्दा पनि सोझासाझा बिनाकौडी काममै मात्र जोतिइरहे । काम गर्नुको सट्टा व्रत–उपवास, यज्ञहवन, कथाकीर्तन गरेर फल प्राप्त हुन्छ र आपूmसँग भएको धन–दौलत जति दान गर्न सकियो त्यति सफलता प्राप्त हुन्छ भन्ने भ्रम छरेपछि त समाज परिश्रमको सट्टा पलायनको बाटोमा दौडिन  थाल्यो । 

संसारलाई मित्थ्या भन्नु, मान्छेको इच्छा, सङ्घर्ष र पृथ्वीमा विद्यमान जीवन प्रणालीलाई अस्वीकार गर्नु, जात, गोत्र, धर्म, सम्प्रदायमा मान्छेलाई विभाजन गर्नु, संसार र शरीर झूटा भन्ने तर आफ्नो सुख सुविधाका लागि अरूको हत्या गर्न समेत पछि नपर्ने धर्मगुरुहरूको चहलपहल बढ्नु, धार्मिक प्रणालीमा लुटखोरीले स्थान पाउनु, मन्दिर, मस्जिद, चर्च, गुरुद्वारहरूमा धर्मको नाममा व्यभिचार बढ्नु मान्छेलाई उन्नतिशील मान्छे बन्नबाट वञ्चित गर्नु, परिश्रमीलाई हेला गर्ने प्रवृत्तिलाई बढावा दिनु जस्ता कारणहरूले धर्मद्वारा मान्छे पिठो पिन्दा पिन्दै पिनिएको घुन सरह बनेको छ ।

धार्मिक जीवनमा स्वतन्त्रता भन्दा पनि आत्मसमर्पण प्रमुख पक्ष बनेर उभिन्छ । अरूमा समर्पित भइसकेपछि आफ्नो अस्तित्वनै समाप्त हुन्छ भन्ने मान्यता चम्किन थाल्छ । सन्त कविरले एक ठाउँमा लेखे पनि—

‘जब मै था तब गुरु नही, अब गुरु है हम नहीं ।।’

एउटा दार्शनिक दृष्टिकोणले भन्छ— ‘जस्तो भक्त हुन्छ उस्तै भगवान् हुन्छ, अथवा जस्तो भगवान् हुन्छ उस्तै भक्त हुन्छ । भागवत गीतामा कृष्ण भन्छन्— ‘ये यथा मां प्रवद्यन्ते तांस्तथैन भजाम्यहम्’ अर्थात् ‘मलाई जसले जुन रूपमा भज्छन् म उनीहरूलाई उसै रूपमा स्वीकार गर्छु ।’ यस हिसाबले पनि धर्म र ईश्वर भनेको पनि मान्छेको कल्पना मात्र हो, जसले जुन रूपमा कल्पना गर्छ, उस्तै रूपमा पारको महसुस गर्दछ अर्थात् धर्मको प्राप्ति कल्पनाको उडान मात्र हो भन्ने प्रमाणित हुन्छ ।

(नोट : यो आलेख दामोदर पुडासैनी ‘किशोर’को ‘धर्मको ह्याङओभर’ पुस्तकबाट लिइएको हो । यस पुस्तकका सबै आलेखलाई काठमान्डुप्रेसले क्रमशः प्रस्तुत गर्नेछ । –प्रधानसम्पादक ।) 

प्रकाशित मिति: १२:०० बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्