महिनावारी स्वच्छता : सरकार लगानी बढाउँदै, किशोरी समस्या झेल्दै
टीकापुर, २९ भदौ : कैलालीस्थित सरस्वती मावि वनगाउँमा अध्ययनरत सीता पुनमगरको महिनावारीको समयमा कहिलेकाहीँ पेट दुख्छ। सीताको मात्र होइन उनका अन्य केही साथीकोसमेत महिनावारीका...टीकापुर, २९ भदौ : कैलालीस्थित सरस्वती मावि वनगाउँमा अध्ययनरत सीता पुनमगरको महिनावारीको समयमा कहिलेकाहीँ पेट दुख्छ। सीताको मात्र होइन उनका अन्य केही साथीकोसमेत महिनावारीका समयमा पेट दुख्ने, ढाड दुख्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छन् तर उनीहरु सहेर बस्छन्। उनीहरुको विद्यालयमा आराम कक्ष छैन। उनीहरु आराम कक्ष भएको भए विद्यालयमै आराम गरेर पुनःकक्षामा सहभागी हुन पाउँथे। विद्यालयको साथी शिक्षकको जिम्मेवारी सम्हालीरहेकी सीताले सबैजसो किशोरीका गुनासो र समस्या सुन्नुपर्छ।
उनीहरुका समस्या विद्यालय प्रशासनसम्म पुगाउने काम पनि सीताकै हो तर उनी सानासाना समस्या समाधान नभएको देख्छिन्। सीताको विद्यालयमा महिनावारी भएका समयमा स्यानिटरी प्याड निःशुल्क दिइन्छ, महिनावारी स्वच्छताका लागि शौचालय, पानी र प्याड डिस्पोज गर्ने ठाउँको राम्रै व्यवस्था छ। ‘सबै कुराको व्यवस्था भए पनि हात धुने ठाउँमा नियमित साबुन हुँदैन, साबुन भए पनि साथी प्रयोग गर्दैनन्,’ किशोरी सीताले भनिन्, ‘धेरैले प्रयोग गरेको हुनसक्ने भन्दै साथी साबुन भए पनि प्रयोग गर्दैनन्, कसैले महिनावारी समयमा घरबाटै व्यक्तिगत साबुन बोकेर आएका हुन्छन्।’
सरस्वती माविमै अध्ययनरत रुवि घर्तीमगर महिनावारीको समयमा कतै रगत बाहिर देखिन्छ कि भन्ने तनावमा बित्ने गरेको बताउँछिन्। ‘विद्यालयले महिनामा एक दिन प्याड दिन्छ, विद्यालयमै महिनावारी भएँ प्याड माग्नु भनेको छ। प्याड दिने शिक्षिका तोकिएको छ तर साथी अझै माग्न लाज मान्छन्’, रुवि भन्छिन्, ‘धेरै साथीलाई प्याड प्रयोग गर्ने तरिका थाहा छैन। घरमा रहेका लुगाफाटा प्रयोग गर्ने गरेका साथीलाई प्याड प्रयोग गर्ने तरिकासमेत सिकाउन आवश्यक छ।’
टीकापुर– ४ स्थित भुवन राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत आशिका चौधरी महिनावारीको समयमा टाढाटाढाबाट साइकलमा विद्यालय आउने किशोरीलाई समस्या हुने गरेको बताउँछिन्। सधैँ साइकल चढेर आउने आशिकाकी एक जना साथीलाई महिनावारीका समयमा यौनाङ्गमा घाउ भयो। त्यसपछि केही दिन उनी विद्यालय आउन सकिनन्, उनले समस्या घरमा र विद्यालयमा पनि भन्न सकिनन्। ‘केही दिनपछि उनले मलाई भनिन्, महिनावारीको समयमा साइकल चलाउँदा यौनाङ्गमा घस्रिँदा सङ्क्रमण हुने डर हुन्छ। केही साथीलाई घाउ भएको, सङ्क्रमण भएको, विद्यालय पुग्दासम्म रगत बाहिरी लुगासम्म फैलिसक्ने जस्ता समस्या भएका छन्, आशिका भन्छिन्, ‘यस्तो समस्या भएका साथीले विद्यालयमा कक्षा छोड्नुपर्ने बाध्यता हुन्छ। रगत बाहिर देखिए यो उमेरमा धेरै लाज लाग्छ । सामान्य हो भन्ने थाहा भएर पनि पढाइमा असर परिहाल्छ।’
आशिकाको विद्यालयमा महिनावारी भएर किशोरीले प्याड मागेपछि मात्रै दिने व्यवस्था छ। धेरै किशोरी शिक्षकसँग प्याड माग्न सक्दैनन्। किशोरीले कक्षाकै एक जना किशोरीलाई प्याड वितरणको जिम्मा दिनुपर्ने माग गरेका छन्। ‘प्याड वितरणको जिम्मा कक्षाकै एक जना किशोरीलाई दिएको भए सजिलो हुन्थ्यो, महिनावारी भए प्याड दिनुस् भनेर विद्यालयमा अझै भन्न सक्दैनन्, साथै धेरैले प्याड प्रयोग गर्न पनि जानेका छैनन्,’ आशिका भन्छिन्, ‘हरेक महिनामा एक दिन किशोरीलाई पहिल्यै प्याड वितरण गर्ने, प्रयोग गर्ने तरिका, डिस्पोज गर्ने तरिका सिकाउन जरुरी छ। स्थानीय सरकारले प्याड दिएको छ तर अझै साथीले पुराना लुगाफाटा प्रयोग गरिरहेका छन्।’
कैलालीका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिका धेरै विपन्न समुदायका छन् । विपन्न समुदायका बालिकाले प्याड किनेर प्रयोग गर्ने अवस्था छैन। अधिकांश बालिकाले महिनावारीका समयमा प्रयोग गरिसकेका लुगाफाँटा प्रयोग गर्ने गरेका छन्। गत वर्षबाट सरकारले निःशुल्क प्याड उपलब्ध गराएपछि किशोरीले विद्यालयमै प्याड पाउन थालेका छन्।
जनजागृति मावि सीतापुरमा कक्षा १० मा अध्ययनरत लक्ष्मी रेग्मी भने पछिल्लो समय किशोरी महिनावारी स्वच्छताबारे सचेत हुन थालेको बताउँछिन्। जनजागृतिमा विपन्न समुदाय अर्थात् मुक्त कमैया, भूमिहीन, सुकुम्बासी बस्तीका बालबालिका बढी अध्यनरत छन्। यहाँ आउने धेरै बालबालिकाको साधन साइकल हो। साइकल चढेर आउने किशोरीलाई महिनावारीमा समस्या हुन्छ।
तराई क्षेत्रमा बालबालिकाका विद्यालय जाने सवारीमा सबैभन्दा बढी प्रयोग हुने साइकल हो। यहाँका बालबालिका साइकलका भरमा विद्यालय जाने धेरै छन्। साइकल चढेर विद्यालय जाने बालिकालाई महिनावारीका समयमा समस्या हुने गरेको छ। बालिका महिनावारीको समयमा चार दिन विद्यालय जान कठिन हुने गरेको बताउँछन्।
‘साइकल चढेर आउने साथी विद्यालय पुग्दासम्म दुखाइ बढी भएर, रगत बाहिरी लुगामा लागेर घर फर्केका पनि छन्, यस्तो समस्या कसरी समाधान गर्नु ?,’ किशोरी लक्ष्मी भन्छिन्, ‘विगतका वर्षलाई हेर्दा अहिले धेरै सुविधा छ । विगतमा शौचालयको अभाव, शौचालयमा पानीको अभाव जस्ता समस्या थिए । हाल प्रयोग गर्ने प्याडसमेत विद्यालयमै पाइन्छ।’
राष्ट्रिय माध्यमिक विद्यालय टीकापुरकी विद्यार्थी रञ्जिता चौधरीलाई महिनावारीका समयमा विद्यालयमा आराम कक्ष भएको भए हुन्थ्यो भन्ने लाग्छ। ‘महिनावारी भएको दुई÷तीन दिन समस्या हुन्छ। दिउँसो बढी थकान हुने, पढाइमा लगाव नहुने हुन्छ। यस्तो बेला एक÷दुई घण्टा आराम गर्ने कोठा भएको भए धेरै किशोरीलाई सहज हुन्थ्यो,’ रञ्जिता भन्छिन्, ‘अझै हामी अध्ययनरत विद्यालय किशोरीमैत्री बन्न सकेका छैनन्। किशोरी र शिक्षिकाबीच साथी जस्तो व्यवहार बन्न सकेको छैन।’
कैलालीको जानकी गाउँपालिकास्थित सरस्वती मावि दुर्गौलीमा अध्यनरत सन्ध्या चौधरीलाई महिनावारीको समयमा शौचालय प्रयोग गर्न निकै कठिन हुन्छ। ‘पानीसहितको सुविधा भएको शौचालयमा एकैपटक पाँच जनासम्म किशोरी छिर्नुपर्छ। अनि कसरी सरसफाइ गर्नु ? सरसफाइका लागि घरै पुग्नुपर्छ। म त महिनावारीका समयमा दिनभरि शौचालय प्रयोग नगरी घर फर्कन्छु,’ सन्ध्याले भनिन्, ‘हजारौँ विद्यार्थी रहेको विद्यायमा शौचालय निर्माणका लागि विद्यालयले पहल गरे पनि अभाव कायमै छ। विद्यालयसँगै नदी रहेकाले केही साथी नदीको पानीसमेत प्रयोग गर्छन्।’
कैलालीको जानकी गाउँपालिकाकी मिना अहिले कक्षा ११ मा पढ्छिन्। गाउँकै विद्यालयमा अध्ययनरत मीनालाई घरबाट विद्यालय पुग्न तीन किलोमिटर साइकल चलाएर जानुपर्छ। महिनावारीको समयमा मीना कहिल्यै नियमित विद्यालय जान सक्दिनन्। महिनामा चार दिन पढाई छुट्दा मीनाको पढाइमा असर पर्छ। ‘म साइकल चलाउनै सक्दिन, महिनावारीका समयमा हिँड्न पनि कठिन हुन्छ,’ मिनाले भनिन्, ‘पछि साथीका नोट मागेर पढ्छु। नियमित विद्यालय जान नसक्दा पढाइमा असर त परिहाल्छ नि।’
निःशुल्क प्याडले सहज
कैलालीका सबैजसो सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीले निःशुल्क स्यानिटरी प्याड पाउँछन्। प्याड वितरणका लागि सङ्घीय सरकारले नै रकम उपलब्ध गराएपछि यहाँका पालिकाले विद्यालयलाई प्याड उपलब्ध गराएका छन्। विद्यालय आफ्नै तरिकारले प्याड वितरण गर्छन्। अझ केही पालिकाले महिनावारी स्वच्छता, किशोर किशोरीका समस्या समाधानका लागि थप कार्यक्रमसमेत लागू गरेका छन्।
कैलालीको टीकापुर नगरपालिकाले १४ वटा सामुदायिक विद्यालयमा साथी शिक्षा कार्यक्रम लागू गरेको छ । नगरपालिकाले हरेक विद्यालयमा एक शिक्षक, एक शिक्षिका, एक किशोर र एक किशोरीलाई तालिम दिएर साथी शिक्षक बनाएको छ। विद्यालयमा समस्या भएकाले उनीहरुसँग छलफल र गुनासा गर्छन्। “साथी शिक्षकले महिनावारीबारे बढी छलफल गर्छन्।
‘महिनावारीको समयमा किशोरीमा आउने परिवर्तन, उनीहरुको मनोविज्ञानका विषयमा छलफल हुन्छ,’ टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावल भन्छन्, ‘कहिलेकाहीँ स्वास्थ्यकर्मी गएर महिनावारी नियमित प्रक्रिया हो, यो समयमा हुने समस्या, परिवर्तन र जटिलताबारे कक्षासमेत लिने गरेका छौँ।’ स्वास्थ्य संयोजक रावलका अनुसार साथी शिक्षकले विद्यालयमा महिनावारी मात्र नभई किशोरावस्थामा आउने परिवर्तनका कुरा पनि गर्छन्।
यसका साथै सामुदायिक विद्यालयमा अध्ययनरत किशोर किशोरीको स्वास्थ्यमा ख्याल गर्दै पोषण वृद्धिका कार्यक्रमसमेत पालिकाले गर्ने गरेका छन्। पालिकाले विद्यालयमा किशोरीलाई नियमित आइरन वितरण गरिरहेका छन्।
कैलालीको टीकापुर र जानकी गाउँपालिकाले विद्यालयमा पोषणसम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम गर्ने, कतिपय विद्यालयमा बालबालिकालाई तरकारी तथा फलफूल लगाउन सिकाउने कार्य हुने गरेका छन्। कैलालीको टीकापुरस्थित कर्णाली मावि टीकापुरले पोषणसम्बन्धी जानकारी दिन विद्यालयमै तरकारी खेती गरेको छ। ‘कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी आफैँ तरकारीखेतीमा सहभागी हुन्छन्, कक्षामै उनीहरुलाई पोषणको महत्वबारे सिकाइन्छ,’ प्रधानाध्यापक धर्मराज शर्माले भने, ‘प्रयोगात्मकरुपमा सिकाउँदा उनीहरु व्यावहारिक ज्ञान सिक्छन्, उनीहरुले रोपेको तरकारी बिक्रीबाट उनीहरुकै आम्दानी पनि हुन्छ।’
टीकापुर नगरपालिकाका शिक्षा प्रमुख दमनसिंह चौधरी नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरेको बताउँछन्। ‘हामीले हरेक विद्यालयमा सम्पर्क शिक्षक तोकेका छौँ, किशोरीका समस्या उनीमार्फत विद्यालय प्रशासन हुँदै पालिकासम्म आउनुप¥यो, आराम कक्ष बनाउन समस्या छैन,’ चौधरी भन्छन्, ‘स्रोतसाधनको कमी भए पनि पहल गर्नुप¥यो, हामी आवश्यकतालाई ध्यानमा राखी पूरा गर्ने प्रयास गर्नेछौँ । महिनावारी किशोरीको स्वास्थ्य र प्रजनन्सँग जोडिएको कुरा भएकाले पालिकाले महिनावारीकै कारण अध्ययनमा समस्या, सरसफाइमा समस्या नहोस् भनी लगानी गर्छ।’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विसं २०७५ को तथ्याङ्क हेर्दा देशभर २७ हजार ९१४ सामुदायिक विद्यालय छन्। विद्यालय तह ९कक्षा १ देखि १२० सम्ममा कूल ७३ लाख ९१ हजार ५२४ विद्यार्थीमध्ये करिब एक हजारको सङ्ख्यामा छात्रा बढी छन्।
शिक्षा विकास तथा समन्वय इकाइ कैलालीको तथ्याङ्कमा विसं २०७४ र विसं २०७५ मा विद्यालय छोड्ने विद्यार्थी चार प्रतिशत छन्। यसमा महिलाको सङ्ख्य उल्लेख छैन। इकाइका अनुसार कैलालीमा ५६५ विद्यालय छन् । विद्यालय छोड्नेमा महिनावारी पनि समस्या थियो। पछिल्ला दुई वर्षयता सरकारले स्यानिटरी प्याड उपलब्ध गराएपछि विद्यालयमा किशोरीको सहभागिता बढेको छ।
शिक्षा तथा समन्वय इकाइ, कैलालीका निमित्त प्रमुख प्रतापसिंह धामी महिनावारीका समयमा किशोरीमा मनोवैज्ञानिक त्रासलेसमेत असर पार्ने भएकाले सरसफाइका लागि आवश्यक शौचालय, पानी र प्याड पाउने भएपछि केही सहजता भएको बताउँछन्। ‘सामुदायिक विद्यालयमा शौचालय, पानी, हात धुने साबुन जस्ता सानासाना समस्या पालिकाले समाधान गर्न सक्छ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि समन्वयकारी भूमिका खेलिरहेको छ,’ धामी भन्छन्, ‘विद्यालयमा मनोवैज्ञानिक, सामाजिक, शारीरिक अवस्था अध्ययन गरी भौतिक निर्माणका कार्यक्रम लागू भएका छन्। धेरै मावि तहका विद्यालयमा शौचालय किशोरीमैत्री बनेका र बन्ने प्रक्रियामा छन्।’
धामी अहिले पनि शौचालय बनाउने तर फोहर हुन्छ भनी ताला लगाइराख्ने समस्याले सरसफाइमा बाधा पुगेको देखिएकाले स्थानीय सरकारले अनुगमन र कार्यान्वयनमा दबाव दिन आवश्यक रहेकामा जोड दिन्छन्।