मलेसिया गएका युवक १६ वर्षदेखि बेपत्ता

पर्वत, भदौ २८ : रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवक १६ वर्षदेखि वेपत्ता छन्।
महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन्। विसं २०६२ मा त्यसतर्फ गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन्।
छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरिन्। राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पिरमा परेको उनले बताइन्।
घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा हामी छोराकै पिरले दिनको भोक न रातको निद भएका छौं, उनले भनिन्।
मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिरने गरे पनि त्यसपछि कुराकानी हुन छोडेको उनको भनाइ छ। अहिले कहाँ कस्तो अवस्था छ, कुनै जानकारी नभएको उनले बताइन्।
काठमाडौं मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको उनका आफन्त विष्णुराम विकले बताए। चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको उनको भनाइ छ।
सर्वजितलाई विदेश पठाएको मेनपावर अहिले बन्द भएको छ। हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागेको उनले बताए। (रासस)












