Kathmandu Press

एक वर्षमा सात जनाको ज्यान लियो सेती नदीले

डोटी, भदौ २७ : सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ। एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको...
एक वर्षमा सात जनाको ज्यान लियो सेती नदीले

डोटी, भदौ २७ : सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ। एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन्। 

करिब ३९ वर्ष अघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको सो नदीले बर्सेनि यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको छ।

Hardik ivf

यसै क्रममा यही शुक्रबार मात्रै नुहाउने क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी नायब निरीक्षक खडग भुल्यालका १८ वर्षीय छोरा पवन बेपत्ता भएका छन्। उनको खोजीका लागि ठूलो सङ्ख्यामा प्रहरी टोली तथा स्थानीयवासी परिचालन भए पनि अहिलेसम्म भेटाउन सकेको छैन्। 

सेतीमा पानीको बहाव बढी हुने भएकाले नदीमा नुहाउन गएका बगेर बेपत्ता हुने गरेका र कम्तीमा पनि एक हप्तापछि नदीमा तैरिएको अवस्थामा फेला पर्ने गरेको स्थानीयवासी भरत द्वारियाले बताए। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लका एक वर्षको अवधिमा सेतीमा नुहाउन गएर ज्यान गुमाउनेमा केआइसिंह गाउँपालिका–५ का ३८ वर्षीय लोकेन्द्रबहादुर रावल, शिखर नगरपालिका–४ की १६ वर्षीया धर्माकुमारी महरा, आदर्श गाउँपालिका–५ लामिखालका ४५ वर्षीय पुस्कर सिंह, आदर्श गाउँपालिका–६ गिरीचौकाकी अन्दाजी ३५ वर्षीया बसु अधिकारी, शिखर नगरपालिका–१० का अन्दाजी पाँच वर्षीय गोविन्द बलायर छन् । 

यसैगरी आदर्श गाउँपालिका–४ का ५२ वर्षीया मनी पार्की, दिपायल सिलगढी नगरपालिका–४ राजपुर घर भएकी आठ वर्षीया बालिका करिश्मा नेपाली सेतीमा नुहाउन गएका बेला बगेर ज्यान गुमाएका छन्। सेती नदीमा पानीको प्रवाह तीव्र भएका कारण नुहाउन जाँदा सामान्य लापरवाहीले डुब्ने गरेको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए। उनले भने, ‘सेती नदीको पानी अन्य नदीको तुलनामा बढी चिसो र तीव्र छ, त्यसले गर्दा अन्य नदीमा पौडी खेलेका व्यक्ति यस नदीमा छिट्टै डुब्ने गर्छन् र बेपत्ता हुने गरेका छन् ।’ 

सेतीमा बर्सेनि स्थानीयवासीको अकालमै ज्यान जान थालेकाले नदी किनाराका बस्तीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको दिपायल सिलगढी–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए। नदीमा मान्छे बेपत्ता हुनेदेखि नदी आसपासका बस्ती पनि नदी कटानको जोखिममा पर्दै आएका छन्। यहाँका दिपायल, समूहगाढ, कालागाढ, सिरखोलीसैन, भागेतडा, घोलतडा, नारिदाङ, बानीडुग्रीसैनलगायतका बस्ती निकै जोखिममा परेका छन्। 
 

प्रकाशित मिति: १४:५३ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्