Kathmandu Press

बागलुङमा घट्दै कोरोना संक्रमण 

बागलुङमा घट्दै कोरोना संक्रमण 

बलेवा, भदौ २७ : कोरोना संक्रमण तीव्र भएपछि गत वैशाख ८ गतेदेखि निषेधाज्ञा र रेडजोनमा परेको बागलुङ सामान्यतर्फ जान थालेको छ। जिल्ला ८५ वडामध्ये अब दुई मात्रै रेडजोनमा छन्। शनिबार स्वास्थ्य कार्यालयले जारी गरेको कोरोनाको संक्रमणग्राफले बागलुङ नगरपालिका–२ र ५ मात्रै रेडजोनमा परेका हुन्।

तीबाहेक अन्य स्थान सामान्य भइसकेका छन्। वडा नंं २ मा १६ र वडा नंं ५ मा १३ कोरोनाका सक्रिय संक्रमित छन्। वडा नंं २ मुख्य बजार र वडा नंं ५ मा बिहेभोज खाएकामा धेरै संक्रमण देखिएको हो।

अब बागलुङ –१, ३, ४, ६, ७ र ८ तथा वडा नंं १२, १३ र १४ मा केही संक्रमित होम आइसोलेसनमा बाँकी छन्। नगरपालिकाभित्र कुल ४९ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए। सरकारले सात जनाभन्दा कम संक्रमित भएमा त्यस्तो वडालाई पहेँलो, सात जनाभन्दा बढी संख्या संक्रमित भएमा रातो चिह्न लगाउने प्रावधान राखेको छ।

अब गलकोट नगरपालिका–११, काठेखोलामा पाँच, बरेङमा चार, जैमिनीमा एक र तमानखोलामा एक जना सक्रिय संक्रमित बाँकी छन्। अन्य सबै वडालाई निलो रङ लगाइसकिएको छ।

गत साउन तेस्रो सातादेखि भदौ १५ गतेसम्म निरन्तर निषेधाज्ञा गरेपछि जिल्लामा संक्रमित घटेको हो। अझै पनि सुरक्षित रहनुपर्ने अवस्था भने बाँकी नै रहेको कार्यालयका प्रमुख सुरज गुरौले बताए। 

सरकारले सात जनासम्म संक्रमित भएमा टोलमात्रै सिल गर्ने, त्यो भन्दा बढी भएमा वडा सिल गर्ने नीति लिएको छ। यसअघि एकरदुई जना संक्रमित हुँदा जिल्ला नै निषेधाज्ञा गर्ने क्रमले मदजुर तथा विपन्न समुदाय बढी मारमा परेका थिए। चाडपर्वको समयमा गरिने भीड तथा राजनीतिक क्रियाकलापले हुने भीड सकेसम्म सानो बनाएर काम गर्दा संक्रमणबाट बच्न सकिने धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलको भनाइ छ।

प्रकाशित मिति: १०:१९ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्