Kathmandu Press

पहिरोले मध्यपहाडी लोकमार्गमा पाँच करोडको क्षति

गलकोट, भदौ २७ : कालोपत्रेको अन्तिम चरणमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा बागलुङ सडकअन्तर्गत पर्वत खण्डमा पहिराले क्षति पुर्‍याएको छ।भदौ १७ गते राति...
पहिरोले मध्यपहाडी लोकमार्गमा पाँच करोडको क्षति

गलकोट, भदौ २७ : कालोपत्रेको अन्तिम चरणमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा बागलुङ सडकअन्तर्गत पर्वत खण्डमा पहिराले क्षति पुर्‍याएको छ।

भदौ १७ गते राति पर्वत खण्डको आठ किलोमिटर सडक २० ठाउँमा अवरुद्ध भएको थियो। जसमध्ये सबैभन्दा क्षति कुश्मा नगरपालिकाको दोबिल्लामा भएको थियो।

पर्वतको भ्याप्लेखोलामा विष्फोटक पदार्थ प्रयोग गरी एक हप्तापछि सडक सञ्चालनमा ल्याएको भए पनि सडकमा सास्ती कायमै रहेको छ। सडकमा दैनिक घण्टौ जाम भइरहेको छ।

Hardik ivf

पर्वत खण्डको २४ किलोमिटर सडक लामा कन्ट्रक्सनले कालोपत्रेको काम अन्तिम चरणमा पुर्‍याए पनि पहिराले बढी क्षति पुर्‍याएको छ। पहिरोका कारण उक्त सडकमा झण्डै पाँच करोडको भौतिक संरचना ध्वस्त पारेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ।

निर्माण व्यवसायीले उक्त खण्डको २४ किलोमिटरमा जम्मा दुई किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी रहेको थियो तर अहिले झण्डै एक किलोमिटर सडक पुन कालोपत्रे गर्नुपर्ने अवस्थामा आएको र थप केही किलोमिटर सडक मर्मत गर्नुपर्ने आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासीनीले जानकारी दिए।

भदौ १७ गतेदेखि अवरुद्ध राजमार्ग एक हप्तापछि खुले पनि अहिले कतै हिलो, कतै सवारी फस्ने त कतै जाम हुने गर्दा पर्वत खण्ड पार गर्न यात्रुलाई घण्टौ समय लाग्ने गरेको छ। सडकको अवरोध हटेको भोलिपल्टै चुवामा दुई घण्टा सवारी जाममा परेको मोटरसाइकल यात्रु राजन कार्कीले बताए।

पहिरो खसेर क्षति पुर्‍याएको सबै सडक कालोपत्रे भइसकेको थियो। अहिले उक्त सडक एकतर्फी हुँदा सवारी जाम हुने समस्या बढ्दै गएको छ।

भ्याप्लेखोलामा सेनाको सहयोगमा चट्टान फुटाएर सडक खुलाए पनि सडकमाथि ठूला ढुङ्गा रहेका कारण जोखिम कायमै छ। आयोजनाले क्षतिको विवरण सङ्कलन गरिरहेको र पहिराले क्षति पुर्‍याएको कालोपत्रे सडक, नाली, पर्खाल, कल्र्भट तथा थप नयाँ संरचना निर्माणका लागि अध्ययन भइरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिए।

सडकमा ठूलो क्षति भएका कारण र पहिलेको अनुमानभन्दा बाहिर गएर संरचना थप गर्नुपर्ने भएकाले केही छुट्टै निर्णय आवश्यक रहेको उनले बताए। अहिले लगत सङ्कलनकै क्रममा र थप संरचना थप गर्नुपर्ने स्थानको अध्ययन भइरहेको उनले जानकारी दिए। (रासस)

प्रकाशित मिति: ०७:०९ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्