Kathmandu Press

‘जातको प्रश्न’को दोस्रो शृंखला असोजदेखि आउने 

काठमाडौं, भदौ २६ : समता फाउन्डेसनद्वारा निर्माण गरिएको कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो शृंखला २०७८ असोज २२ देखि सुरु हुने भएको छ।जात व्यवस्थाले सिर्जना...
‘जातको प्रश्न’को दोस्रो शृंखला असोजदेखि आउने 

काठमाडौं, भदौ २६ : समता फाउन्डेसनद्वारा निर्माण गरिएको कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो शृंखला २०७८ असोज २२ देखि सुरु हुने भएको छ।

जात व्यवस्थाले सिर्जना गरेको संरचनात्मक विभेदविरुद्ध सीमान्तकृत समुुदायको प्रतिरोधलाई सशक्त बनाउने अभियानका रूपमा उक्त कार्यक्रमको दोस्रो शृंखला सञ्चालनमा ल्याउन लागेको हो। उक्त कार्याक्रम कान्तिपुर टेलिभिजनमा प्रसारण गरिनेछ। 

गत वर्ष फाउन्डेसनद्वारा निर्मित उक्त टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ बाहौं अंकसम्म प्रस्तुत भएको थियो। पितृसत्ताको वर्चस्व र जात व्यवस्थाले यथावत् राखेको जातीय विभेद र जातीय छुवाछूतको विषयमा कार्यक्रममार्फत घरघरमा संवाद सुुरु गर्ने वातावरण बनेको आयोजकले जनाएको छ।

Hardik ivf

उक्त कार्यक्रम वल्र्ड जस्टिस च्यालेन्ज, २०२१ को अन्तिम ३० प्रतिस्पर्धीमा समेत छनोट भएको थियो। उक्त कार्यक्रमले राज्यबाट अनागरिक बनाइएका दलित समुुदायविरुद्ध गरिएका हिंसा, अन्याय–अत्यार, जातीय छुवाछूत र विभेदको अन्त्यका लागि प्रश्नात्मक चेत सिर्जना गर्ने विश्वास समता फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रदीप परियारले व्यक्त गरे।

राज्यका हरेक नागरिकले समान अधिकार, समावेशी पहुँच, समतामूलक र न्यायपूूर्ण समाजको निर्माणका लागि पहल गर्नुपर्ने उनले बताए। ‘कहिले आत्मसम्मानका साथ बाँच्न पाउने ?’ भन्ने दलित समुदायको सवालको जवाफ खोजी गर्ने अभियानमुखी कार्यक्रमका रूपमा जातको प्रश्न रहेको उनको भनाइ छ।

बहुुजातीय, बहुुभाषिक, बहुुसांस्कृतिक देश नेपाल जात व्यवस्थाको जगमा उभिएकोमा जातको प्रश्नले प्रश्न गर्न सिकाउने उनले बताए। जात व्यवस्थाले सिर्जना गरेको सामाजिक, आर्थिक र राजनीतिक संरचनात्मक विभेदले सबैलाई पिरोलिरहेको अवस्थामा ‘जातको प्रश्न’ जस्ता कार्यक्रमको आवश्यकता रहेको उनले बताए। ‘जात व्यवस्थामाथिको प्रश्न र यसका आयामका विषयमा कुनै संवाद नहुुने समाजमा जातमाथिको प्रश्नले विभेद र असमानताको उत्तर खोजी गर्ने बताए। 

काठमाडौंमा आयोजित एक कार्यक्रममा जातको प्रश्नको दोस्रो शृंखला सुुरु गर्ने जानकारी दिइएको हो। कार्यक्रम ‘जातको प्रश्न’लाई अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, संगीतकर्मी प्रकाश सपूत र सञ्चारकर्मी निश्मा ढुंगाना चौधरीले सञ्चालन गर्ने आयोजकको भनाइ छ।

कार्यक्रम ‘जातको प्रश्न’ को पहिलो शृंखला जसरी नै दोस्रो पनि १२ अंकको हुने बताइएको छ। कार्यक्रम ‘जातको प्रश्न’ का निर्देशक शान्ता नेपाली, पत्रकार विवेक रेग्मी, लेखक भानु बोखिमलगायत समता फाउन्डेसनका अनुसन्धानकर्ता टोली कार्यक्रममा हुनेछन्।

आयोजकका अनुसार कार्यक्रमको दोस्रो शृंखलामा नेपाली दलितले बाँचेको जीवनका यथार्थता, उनीहरूका ज्ञान तथा अनुुभवका कथाहरू समावेश गरिनेछ। कार्यक्रममार्फत प्रस्तुत गरिने कथाले समग्र दलित समुुदायको प्रतिनिधित्व गर्ने र दलित समुदायका प्रतिरोधका गाथाका रूपमा अभिलेख हुने बताइएको छ।

गैरदलित समुदायको समानुुभूतिको अन्तरघुुलनले जात व्यवस्थालाई चुनौती दिने र जातका आधारमा पाएको सुविधा र विशेषधिकारबारे आत्मप्रश्न र संरचनात्मक विभेदको अन्त्यका लागि सिजनात्मक र सशक्त हस्तक्षेप गर्ने विश्वास लिइएको फाउन्डेसनका कार्यकारी अध्यक्ष परियारले बताए। 

२०६५ सालमा स्थापना भएको फाउन्डेसनले समग्र दलित तथा सीमान्तकृत समुदायको अध्ययन–अनुसन्धान गरी ५० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको छ। फाउन्डेसनले जातीय विभेद, मानवअधिकार र न्याय, लैंगिक समानता, श्रम आप्रवासन, जलवायु परिवर्तनजस्ता जटिल विषयमा समेत समाधानमुखी बहस र पैरवी गरिरहेको छ।

नेपालका सातै प्रदेशमा दलित सशक्तीकरण र विकासका लागि निरन्तर काम गरिरहेका समता फाउन्डेसनले सामाजिक न्याय र समतामूलक समाजका निम्ति युवाको सिर्जनात्मक र अर्थपूर्ण भूमिकालाई प्रोत्साहन गर्दै ज्ञान निर्माणमा प्रतिबद्ध रहेको उनले बताए।

प्रकाशित मिति: १५:५७ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्