रुक्मशमशेरको निधनप्रति कांग्रेस सहमहामन्त्री महतद्वारा शोक व्यक्त
काठमाडौं, भदौ २६ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पूर्वसांसद, पूर्वराजदूत एवम् नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्षरुक्म शमशेरको निधनप्रति गहिरो शोक व्यक्त गर्दै...काठमाडौं, भदौ २६ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पूर्वसांसद, पूर्वराजदूत एवम् नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्षरुक्म शमशेरको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
नेपाली कांग्रेसका संस्थापक नेता, २००७ सालको जनक्रान्तिका कमाण्डर, नेपालका पहिलो अर्थमन्त्री, २०१५ सालको मन्त्रिपरिषद्का अध्यक्ष तथा बिपी कोइरालाको प्रथम जननिर्वाचित सरकारका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री सुवर्ण समशेरका सुपुत्र शमशेर राणाको असामयिक निधनको खबरले आफूलाई स्तब्ध बनाएको उनले बताएका छन्।
‘यस दुःखद घडीमा उहाँको दिवंगत आत्माको शान्तिको कामना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनीद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘अप्रत्यासित रुपमा परिवारमा आइपरेको यस बज्रपात सहन गर्ने शक्ति ईश्वरले प्रदान गरुन भन्दै समस्त शोकाकूल परिवारजन र स्वजनहरुमा गहिरो समवेदना प्रकट गर्न चाहन्छु।’
सुयोग्य पिताका सुयोग्य सुपुत्रको रुपमा रुक्म समशेर राणाले नेपालको लोकतान्त्रिक आन्दोलन,आर्थिक एवम् औद्योगिक विकास, कुटनीतिक क्षेत्र तथा खेलकूदको विकासमा पुर्याएको योगदान अतुलनीय एवम् अविस्मरणीय रहेको नेता महतको भनाइ छ। ‘उहाँका योगदानले नेपाली समाज र नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई सधैभर प्रेरणा दिने मैले विश्वास लिएको छु,’ उनले लेखेका छन्।
राणाको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति हुन गएको र मुलुकले लोकतन्त्रप्रति प्रतिबद्ध, कुशल कुटनीतिज्ञ, नेपालको खेलकूद, औद्योगिक एवम् आर्थिक विकासमा समर्पित असल व्यक्तित्व गुमाएको उनको भनाइ छ।












