Kathmandu Press

शैक्षिक गुणस्तर सुधार्न वालिङ नगरपालिका र ब्रिटिश काउन्सिलबीच सम्झौता

शैक्षिक गुणस्तर सुधार्न वालिङ नगरपालिका र ब्रिटिश काउन्सिलबीच सम्झौता

स्याङ्जा, भदौ २६ : शैक्षिक गुणस्तर सुधार गर्न स्याङ्जाको वालिङ नगरपालिका र ब्रिटिश काउन्सिलबीच सम्झौता गरिएको छ। शिक्षा क्षेत्रमा देखिएका कमी–कमजोरीलाई सुधार गर्दै आधुनिक र व्यवस्थित शिक्षण सिकाइ क्रियाकलापमा जोड दिने मुख्य उद्देश्यले सम्झौता गरिएको हो।

सम्झौतापत्रमा नगरप्रमुख दिलीपप्रताप खाँण र ब्रिटिश काउन्सिलका कन्ट्री डाइरेक्टर शाहिदा माकडौगेलबीच हस्ताक्षर गरिएको छ। नगरभित्रका सबै सामुदायिक विद्यालयमा लागू हुने गरी शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक परियोजना सञ्चालनका लागि सम्झौता गरिएको नगरप्रमुख खाँणले बताए।

Hardik ivf

परियोजनाअन्तर्गत विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन र विषयगत शिक्षकबीच शैक्षिक गुणस्तर वृद्धिका लागि आ–आफ्नो भूमिकामा स्पष्टता, एकरुपता बनाउनका लागि परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख खाँणले बताए।

‘शिक्षण सिकाइ क्रियाकलापलाई थप व्यवस्थित र समयानुकूल बनाउँदै लगिने छ,’ प्रमुख खाँणले भने, ‘विषयवस्तुप्रतिको सिकाइ र सिकाउने कलामा निपूर्णता ल्याउँदै गुणस्तरको मापन गरिने छ।’

असल अभ्यासको स्थानीयकरण र प्राप्त उपलब्धिको संरक्षण जस्ता विषयमा केन्द्रित रहेर उक्त परियोजना आगामी तीन वर्षसम्म सञ्चालन हुने प्रमुख खाँणले बताए। ब्रिटिश काउन्सिलमार्फत उक्त परियोजना पहिलो चरणमा स्याङ्जाको वालिङ र नवलपरासीको कावासोती नगरपालिकामा नमूनाका रूपमा सञ्चालन गरिएको ब्रिटिश काउन्सिलका कन्ट्री डाइरेक्टर शाहिदा माकडौगेलले बताइन् । 

परियोजना सञ्चालनका लागि पहिलो वर्ष ब्रिटिश काउन्सिलबाट कूल रकमको ७० प्रतिशत, दोस्रो वर्ष ६० प्रतिशत र तेस्रो वर्ष ५० प्रतिशत रकम उपलब्ध गराइने छ। सो नगरपालिकाले पहिलो वर्ष ३० प्रतिशत, दोस्रो वर्ष ४० प्रतिशत र तेस्रो वर्ष ५० प्रतिशत रकम खर्च गर्ने गरी सम्झौता गरिएको छ।

चालु शैक्षिक सत्रबाट यो परियोजना लागू हुने शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताए। नगरभित्रका ५६ आधारभूत विद्यालय र १६ माध्यमिक गरी कूल ७२ सामुदायिक विद्यालयमा यो परियोजना तीन वर्षसम्म सञ्चालन हुने शाखा प्रमुख सापकोटाले बताए।

पहिलो, दोस्रो र तेस्रो वर्षमा के–कसरी अगाडि बढ्ने भन्ने योजनासहित परियोजना सञ्चालन गरिएको हो। परियोजनाअन्तर्गत विद्यालयको स्पष्ट योजना, पारदर्शी कार्यान्वयन र उपलब्धि मापनयोग्य हुने प्रमुख सापकोटाले जानकारी दिए। विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालालाई आवश्यक तालिम, ज्ञान तथा सीप हस्तान्तरण गर्दै लगिने छ। रासस
 

प्रकाशित मिति: ०९:५८ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्