Kathmandu Press

सुरक्षा निकायहरू अधिक सचेत हुनुपर्नेमा जोड

काठमाडौं, भदौ २५ : अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूले अफगानिस्तानमा विकसित घटनाक्रमले क्षेत्रीय सुरक्षा चुनौती बढाएको र त्यसको असर नेपालमा पनि पर्नसक्ने औँल्याउँदै प्रतिकूल परिस्थिति...
सुरक्षा निकायहरू अधिक सचेत हुनुपर्नेमा जोड

काठमाडौं, भदौ २५ : अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूले अफगानिस्तानमा विकसित घटनाक्रमले क्षेत्रीय सुरक्षा चुनौती बढाएको र त्यसको असर नेपालमा पनि पर्नसक्ने औँल्याउँदै प्रतिकूल परिस्थिति उत्पन्न नहोस् भन्नेतर्फ सुरक्षा निकायहरू अधिक सचेत हुनुपर्नेमा जोड दिएका छन्।

अमेरिकी सेनाको फिर्तीसँगै अफगानिस्तानमा तालिवान शासनको पुनः उदय भएपछि दक्षिण एशियामा सुरक्षा चुनौती थपिएको यथार्थ प्रस्तुत गर्दै उनीहरूले भारतसँगको खुला सिमानाका कारण नेपाल अझ जोखिममा रहेकाले थप सुरक्षा सतर्कता अपनाउन अपरिहार्य भएको उनीहरूले बताए। कूटनीतिक चातुर्य र बौद्धिक परिपक्वताका साथ नेपाल अघि बढ्नुपर्ने उनीहरूको अभिमत थियो। 

Hardik ivf

‘अफगानिस्तानबाट अमेरिकी सैन्य फिर्ती ः त्यसको नेपालमा प्रभाव र  क्षेत्रीय शान्ति’ विषयमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार, उनीहरूको सुरक्षा अहिलेको पहिलो प्राथमिकताको विषय भएको बताए। 

अफगानिस्तानको अहिलेको स्थितिले नेपालमा समस्या नहोस् भन्नेतर्फ बेलैमा सचेत भएर तदनुरुप रणनीति तर्जुमा गरी अघि बढ्नुको विकल्प नभएको बताउँदै उनले त्यसनिम्ति गृह, परराष्ट्र र सुरक्षा परिषद्बीच समन्वय हुनुपर्ने र खुला सिमानाको निरन्तर अनुगमन आवश्यक रहेको बताए।

पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले अफगान मुद्दालाई लिएर दक्षिण एशियाली देशहरूले अनौपचारिक छलफलका माध्यमबाट समान अवधारणा बनाउन जरुरी भएको विचार व्यक्त गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मार्फत त्यसलाई अझ सशक्त र सङ्गठित गर्न सकिने बताए। 

पूर्वराजदूत शम्भुराम सिम्खडाले सार्कको सदस्य राष्ट्र अफगानिस्तानको शान्ति, स्थायित्व र समृद्धिका लागि सार्कका अन्य सदस्य देशले सघाउनुपर्नेमा जोड दिँदै त्यहाँको प्रभाव नेपालमा पर्न नदिनेतर्फ सम्बद्ध सबै पक्ष सचेत रहनुपर्ने बताए। ‘नेपालले बाह्य उपस्थिति र मध्यस्थता बिना नै दशवर्षे द्वन्द्व आफैँ समाधान गरेको अनुभव अफगानिस्तानका लागि उपयोगी हुनसक्छ,’ उनले भने।

प्रकाशित मिति: १८:३० बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्