ऊर्जामन्त्री भुसालसँग जर्मन राजदूतको शिष्टाचार भेट
काठमाडौं, भदौ २५ : ऊर्जामन्त्री भुसालसँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफन रुसेकले शिष्टाचार भेट गरेका छन्।मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी हित...
काठमाडौं, भदौ २५ : ऊर्जामन्त्री भुसालसँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफन रुसेकले शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विषमा छलफल भएको थियो। सो अवसरमा कार्यवाहक राजदूत रुसेकले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि जर्मन सरकारले उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा विस्तार गर्दै लैजाने बताए।
नेपालको वैकल्पिक ऊर्जाका क्षेत्रमा पनि जर्मन सरकारले सहयोग गर्दै आएको उल्लेख गर्दै सो क्षेत्रमा थप सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाए।
चिलिमे–त्रिशूली र लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन निर्माणमा आफ्नो सरकारको आर्थिक सहयोग रहेको जानकारी गराउँदै राजदूत रुसेकले ती आयोजनाको प्रगतिबारे जिज्ञासा राखेका थिए।
त्यसैगरी संसदमा पेस भएको विद्युत विधेयकबारे पनि कार्यवाहक राजदूत रुसेकले चासो व्यक्त गरेका थिए।
जवाफमा मन्त्री भुसालले नेपाल–जर्मनीबीच रहिआएको आपसी सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्दै सामाजिक एवं आर्थिक क्षेत्रमा जर्मनी सरकारले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
उनले वैकल्पिक ऊर्जा एवं प्रसारण लाइन निर्माणमा जर्मनीले उपलब्ध गराउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्रको विकासमा सहकार्य गर्दै जाने विश्वास व्यक्त गरे।
मन्त्री भुसालले जर्मनीबाट प्राप्त आर्थिक एवं प्राविधिक सहयोगलाई सही तबरले उपयोग गरिने विश्वास दिलाउँदै नेपालले राखेका लक्ष्य प्राप्तिका लागि जर्मनीबाट सहयोग रहने अपेक्षा रहेको बताए। उनले भूकम्पपछिको पुनःनिर्माण एवं कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जर्मनीले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे।
सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता थियो।












