प्रादेशिक अस्पतालमा ८५० कोभिड बिरामीको उपचार
पोखरा, भदौ २५ : गण्डकी प्रदेशस्तरीय सङ्क्रामक तथा सरुवा रोग अस्पतालले स्थापनाको १३ महिनामा ८५० कोरोनाका बिरामीको उपचार गरेको छ। अस्पतालका निर्देशक डा. विकास...
पोखरा, भदौ २५ : गण्डकी प्रदेशस्तरीय सङ्क्रामक तथा सरुवा रोग अस्पतालले स्थापनाको १३ महिनामा ८५० कोरोनाका बिरामीको उपचार गरेको छ।
अस्पतालका निर्देशक डा. विकास गौचनका अनुसार प्रदेश सरकारले कोरोना सङ्क्रमणका प्रतिबिरामी एक लाख ३९ हजार बराबरको खर्च व्यवस्थापन भएको उल्लेख गर्दै गत आवमा रु ११ करोड ४१ लाख आर्थिक सहयोग प्राप्त भएको जानकारी दिए।
पोखरा महानगरपालिका–३० मोहोरियामा सञ्चालित कूल ५० शय्याको उक्त अस्पतालमा हाल २७ कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहको छ ।
गण्डकी प्रदेशका अर्थमन्त्री राजमीप्रसाद बराल (जीवन_ ले उक्त अस्पतालको आज स्थलगत निरीक्षण गर्दै सङ्क्रामक तथा सरुवा रोग अस्पताल सञ्चालनमा प्रदेश सरकारका तर्पmबाट आवश्यक सहयोग रहने बताए।
जनतालाई स्वस्थ राख्न र सरुवा रोगबाट बच्न र बचाउन पनि पूर्वतयारी आवश्यक रहने बताउँदै उनले अस्पतालको भौतिक पूर्वाधारसहितको स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रदेश सरकारको पहिलो प्राथमिकता रहने स्पष्ट पारे।
‘सीमित स्रोतसाधन तथा जनशक्ति लिएर सकरात्मक ढङ्गले कोभिड रोकथाम र त्यसबाट सङ्क्रमितलाई बचाउन अस्पतालबाट भएको प्रयास प्रशंसनीय छ,’ मन्त्री बरालले भन्नुभयो, ‘अप्ठ्यारो अवस्थामा पनि आफ्नो पर्वाह नगरी उपचारमा खटिनु हुने स्वास्थ्यकर्मीलगायतलाई सम्पूर्ण अस्पताल परिवारलाई धन्यवाद छ।’
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा डा कृष्णप्रसाद पौडेलले मुठ्ठीदानबाट स्थापना भएको अस्पताललाई हाल प्रदेश सरकारले स्वामित्वमा लिएपछि अब कोभिडसँगै न्यूनतम २५/३० शय्याको जनरल (ओपीडी) सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।












