चितवनमा रगतको अभाव
चितवन, भदौ २५ : चितवन जिल्लामा रगतको अभाव हुन थालेको छ। चितवनसहित छिमेकी जिल्लाका बिरामीको उपचार हुने यहाँका अस्पतालमा आउने बिरामीका लागि रगतको...
चितवन, भदौ २५ : चितवन जिल्लामा रगतको अभाव हुन थालेको छ। चितवनसहित छिमेकी जिल्लाका बिरामीको उपचार हुने यहाँका अस्पतालमा आउने बिरामीका लागि रगतको अभाव भएको हो।
जिल्लामा दैनिक एक सय युनिट हाराहारीमा रगत आवश्यक पर्ने गर्दछ। नियमित रक्तदान कार्यक्रमबाट ३० प्रतिशत मात्र पूर्ति हुने गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ।
केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार रगत पुर्याउन निकै कठिन हुन थालेको छ। सम्बन्धित बिरामीका आफन्त र स्वयंसेवीहरुको भरमा रगतको माग धानिएको हो।
उनका अनुसार बिरामीको चाप बढेसँगै रगतको माग बढेको हो। कोरोनाको खोप लगाएकाले दुई साता रक्तदान गर्न मिल्दैन। मुख्य रक्तदाताहरु भएको समूहले अहिले खोप लगाइरहेको छ। यससँगै नेपाली कांग्रेसको निर्वाचन र कम्युनिष्ट पार्टीहरुको सङ्गठन विस्तार अभियानका कारण रक्तदान कार्यक्रम हुन सकेका छैनन्।
यस्तै चाडपर्व पनि रक्तदान कार्यक्रम घट्नुको अर्को कारण हो। भाइरल फिवर र कोरोनाका बिरामीले गर्दा पनि रगत आपूर्तिमा कमी आएको छ। यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा धेरै रगतको माग हुने गर्दछ।
यससँगै भरतपुर अस्पताल, दुई मेडिकल कलेज र साना अस्पतालमा यहाँ सङ्कलित रगत जाने गर्दछ। पौडेलले रक्तदान कार्यक्रमको आयोजना गरी रगत सङ्कलनमा सहयोग पु¥याउन अनुरोध गरिएको बताए।












