विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँचको मृत्यु

काठमाडौं, भदौ २४ : सिरहा, काभ्रे र रुपन्देहीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ।
सिरहाको मिर्चैया नगरपालिका–१ स्थित सूर्य सिमेन्ट फ्याक्ट्रीभित्र प्र२–०३–००१ ख। ४०९७ नम्बरको ट्रली गाडीले किचेर सोही नगरपालिका–३ बस्ने २५ वर्षीय सन्तोष धाङडको बुधबार दिउँसो मृत्यु भएको छ।
उक्त गाडी मुनी गुन्द्री ओछयाई सुतेको अवस्थामा चालकले गाडी स्टार्ट गरी ब्याक गर्दा किचिन गई गम्भीर घाइते भएका उनको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ।
यसैगरी सिरहाकै लहान नगरपालिका–१८ अमहीस्थित सडकमा प्रदेश २–०१–००१ प २८४९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीया गुजरी देवी महतोको बुधबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि राउ स्मारक अस्पताल लहानतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी सिरहाको धनगढीमाई नगरपालिका–७ हनुमान चोकस्थित सडकमा स५प २४०४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सुखिपुर नगरपालिका–९ बस्ने २० वर्षीय श्रवणकुमार महतोको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सुखिपुर नगरपालिका–१० बस्ने १७ वर्षीय मुकेशकुमार यादवको कसहा हेल्थ केयर हुँदै थप उपचारका लागि विरटानटरतर्फ पठाइएको छ।
काभ्रेको पाँचखाल नगरपालिका–८ पच्चिस किलोस्थित सडकमा बा५क ७५२७ नम्बरको कन्टेनर र बा३३प ६३८२ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका(७ सल्लेनी बस्ने ३० वर्षीय कुमार आलेको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ। कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ शंकरनगरस्थित सडकमा लु२२प ५५२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने १८ वर्षीय प्रबेश खरेलको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।












