वन्यजन्तुका लागि १७ सामुदायिक वनमा पोखरी निर्माण
दमौली, भदौ २४ : डिभिजन वन कार्यालय तनहुँको अनुदान सहयोगमा जिल्लाका १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ।वन्यजन्तुका लागि लक्षित गरी कार्यालयको अनुदान...
दमौली, भदौ २४ : डिभिजन वन कार्यालय तनहुँको अनुदान सहयोगमा जिल्लाका १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ।
वन्यजन्तुका लागि लक्षित गरी कार्यालयको अनुदान सहयोगमा गत आर्थिक वर्षमा विभिन्न १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो। भानु नगरपालिकामा १२, देवघाट, ऋषिङ र बन्दिपुरमा एक/एक, म्याग्दे गाउँपालिकामा दुई वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि वनमा पोखरी निर्माण गरिएको उनको भनाई छ।
चितुवाको सबैभन्दा बढी आतङ्क रहेको भानुमा धेरै पोखरी निर्माण गरिएको छ। वनमा पानीको स्रोत मासिदै गएपछि घरछेउ पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियान थालेको हो।
'तनहुँमा केही वर्षयता चितुवाको बढी आतङ्क छ, जङ्गलमा पानीको स्रोत मासिँदै गयो, चितुवा पानी खोज्दै बस्ती पस्न थाल्यो,' उनले भने, 'जसकारण धेरै जनाले चितुवाको आक्रमणबाट ज्यान गुमाउनुपर्यो।' मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि यो अभियानले सहयोग पुग्ने काफ्लेको भनाई छ।
१७ सामुदायिक वनमा पोखरी निर्माणका लागि कार्यालयले १४ लाख ८० हजार अनुदान दिएको छ। ११ वटा सामुदायिक वनलाई एक/एक लाख, पाँच वटा सामुदायिक वनलाई ५०/५० हजार र एउटा सामुदायिक वनलाई एक लाख ३० हजार सहयोग गरिएको छ।
कार्यालयका अनुसार भानुको देउराली, कालिका, सानो देउराली, मस्र्याङ्दी, भिमसेन थुम्की, मजुवा ओख्ले, लोहीपाखा, रातमाटे पत्थरेढुङ्गा, भानुभक्त, बेलथुम्की, तिलाहार, झाक्रीथुम्का, इन्द्रचेक, देवघाटको पालेथुम्की, बन्दिपुरको वार्से गह्रा ठकुरीडाँडा, म्याग्देको वाराही र ज्यानटाङ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। (रासस)












