Kathmandu Press

शुक्रबारदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला

काठमाडौं, भदौ २३ : नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर यही शुक्रबारदेखि खोलिने...
शुक्रबारदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला

काठमाडौं, भदौ २३ : नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर यही शुक्रबारदेखि खोलिने भएको छ।

कोरोना जोखिम कम हुन थालेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए। साढे चार महिना भक्तजनका लागि मन्दिर बन्द गर्नुपरेकामा बिहीबार क्षमापूजा गर्ने तयारी कोषको छ।

Hardik ivf

कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने छ। पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ। एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ।

मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ। एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ। विशेष पूजा भने शुक्रबारदेखि खुला नगरिने कोषले जनाएको छ। शुक्रबारदेखि मन्दिर खोल्न आज सुरक्षा समितिको बैठक बसी तयारी गरिएको कार्यकारी निर्देशक खतिवडाले सुनाए।

विसं २०७६ चैतमा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो एक बजेसम्म खुला गरिएको थियो। विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र सुरु गरिएको थियो।

महाशिवरात्रिका अवसरमा गत वर्ष फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय पशुपतिनाथ मन्दिर खुला गरिएको थियो। यसपटक पनि कोरोना जोखिमको मात्रा हेरेर विशेष पूजा, साविकबमोजिम नै मन्दिर खुलालगायत निर्णय गरिने कोषले जनाएको छ।

प्रकाशित मिति: १९:४१ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्