भन्सार छलीका सामानसहित तीनजना पक्राउ
काठमाडौं, भदौ २३ : विभिन्न स्थानबाट भन्सार छलीका सामानसहित पक्राउ परेका छन्।बर्दियाको मधुवन नगरपालिका-५ गाँउ नम्बर ११ बडगाउँबाट अवैध रुपमा भन्सार छलेर भारततर्फ...
काठमाडौं, भदौ २३ : विभिन्न स्थानबाट भन्सार छलीका सामानसहित तीनजना पक्राउ परेका छन्।
बर्दियाको मधुवन नगरपालिका-५ गाँउ नम्बर ११ बडगाउँबाट अवैध रुपमा भन्सार छलेर भारततर्फ लैजाँदै गरेको करिब २ लाख ७६ हजार ५ सय रुपैयाँ बराबरको ३९ क्विन्टल ३० किलो केराउसहित मधुबन नगरपालिका-७ बस्ने २० वर्षीय राम कुमारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
भे१त ९६५५ नम्बरको ट्याक्टरमा केराउ लोड गरी चोरी निकासी गरी भारततर्फ लैजादै गरेको अवस्थामा उक्त केराउसहित फेला पारी ट्याक्टर चालक राम कुमारलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
साथै सोही ठाउँ नजिक चोरी निकासी गरी भारततर्फ लैजानका लागि थुपारी राखेको करिब १ लाख ४५ हजार रुपैयाँ बराबरको २२ क्विन्टल केराउसमेत प्रहरीले बरामद गरेको छ।
राम कुमारलाई बरामद केराउ तथा ट्याक्टरसहित आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दिया पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका-२१ बाट भन्सार छलेर ल्याउँदै गरेको करिब १८ लाख रुपैयाँ बराबरको कपडा र ना५ख ८८४६ नम्बरको ट्रकसहित ट्रक चालक पर्सा वीरगन्ज महानगरपालिका-३२ बस्ने २८ वर्षीय अब्दुल अन्सारी र ट्रकका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय सहिल अन्सारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
कलैयाबाट काठमाडौंतर्फ जाँदै गरेको इँटा लोड भएको उक्त ट्रकलाई इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त कपडा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
त्यसैगरी पर्साको वीरगन्ज महानगरपालिका-१६ इनर्वा गाउँबाट भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको करिब ३ लाख १५ हजार रुपैयाँ बराबरको कपडा, जुत्ता, विभिन्न किसिमका सर्ट र गाडीका पार्टपुर्जा मंगलबार साँझ प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त सामान फेला पारी बरामद गरेको हो।












