Kathmandu Press

आजदेखि हरितालिका (तीज) पर्व सुरु

काठमाडौं, भदौ २३ : आजबाट चार दिने हरितालिका (तीज) पर्व सुरु हुन लागेको छ।हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ। माइतीले चेलीबेटीलाई...
आजदेखि हरितालिका (तीज) पर्व सुरु

काठमाडौं, भदौ २३ : आजबाट चार दिने हरितालिका (तीज) पर्व सुरु हुन लागेको छ।

हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ। माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा रहेको छ।

तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुले शक्ति प्राप्तिका लागि मीठामीठा एवं आडिलो परिकार दरका रुपमा खाई बिहीबारको व्रतका लागि पूर्वतयारी गर्छन्। विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन्।

दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउछन्।

महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन्। तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई सार्वजनिक गर्दछन्।

बुधबार दर खाएपछि औपचारिकरुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।

यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी भदौ २५ गते शुक्रबार, ऋषिपञ्चमी पर्व भदौ २६ गते शनिबार मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ। गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ। ऋषि पञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ। (रासस)

प्रकाशित मिति: ०७:०९ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्