कांग्रेस प्रचार विभागद्वारा १४औँ महाधिवेशनको नारा तय
कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले पार्टीको १४औँ महाधिवेशनको नारा तय गरेको छ । विभाग प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको चौथो पूर्ण बैठकले महाधिवेशनको प्रचारात्मक नारा ‘कांग्रेसमा उत्साह, एकता, रूपान्तरण, सफल बनाऔँ १४ औँ महाधिवेशन’ तय गरेको हो ।काठमाडौं, भदौ २२ : कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले पार्टीको १४औँ महाधिवेशनको नारा तय गरेको छ । विभाग प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको चौथो पूर्ण बैठकले महाधिवेशनको प्रचारात्मक नारा ‘कांग्रेसमा उत्साह, एकता, रूपान्तरण, सफल बनाऔँ १४ औँ महाधिवेशन’ तय गरेको हो ।
यस्तै, महाधिवेशनको पूर्वसन्ध्यामा नीति र विचारकेन्द्रित प्रचारका लागि ‘चिन्तन चौधौँ महाधिवेशन’ कार्यक्रम आयोजना गर्ने निर्णय पनि विभागले गरेको छ । कार्यक्रममा सिद्धान्त, विचार, देश, कांग्रेस, राजनीति, प्रवास, युवा, महिला, विभिन्न समुदाय, प्रशासन र समाज रूपान्तरणलगायत विषयमा ‘प्यानल डिस्कसन’ गरिने विभागले जनाएको छ ।
‘चिन्तन चौधौँ महाधिवेशन’ कार्यक्रम संयोजनको जिम्मेवारी विभाग उपप्रमुख डा. सुरेश आचार्यलाई दिइएको छ । कार्यक्रमको मिति भने तय भएको छैन ।
यस्तै, विभागले ‘एनसी विन’ पनि गठन र आचारसंहिता पारित गरेको छ । प्रविधिमैत्री कांग्रेस अभियानलाई निरन्तरता दिने क्रममा ‘एनसी विन’ गठन गरिएको विभागले जनाएको छ । त्यसको तत्कालीन काम पार्टीको १४ औँ महाधिवेशनको प्रचार, अल्पकालीन काम स्थानीय, प्रदेश र संघको आगामी निर्वाचनमा प्रविधि र आन्तरिक रणनीतिमार्फत पार्टीको प्रचार तथा विपक्षी प्रहारको प्रतिवाद गर्ने तय भएको छ ।
दीर्घकालीन कामको रूपमा पार्टीका विभिन्न तहलाई प्रविधिमार्फत सहजीकरण र सामाजिक सञ्जालमार्फत सकारात्मक सामाजिक प्रभावका लागि दीर्घकालीन उपयोगमा केन्द्रित रहने विभागको दाबी छ ।
‘एनसी विन’का लागि विभाग सदस्य एवं पार्टीको प्रविधि र सामाजिक सञ्जाल उपसमितिका संयोजक इन्जिनियर दीपेश विष्टको संयोजकत्वमा २७ सदस्यीय केन्द्रीय र सात प्रदेशका संरचना गठन गरिएको छ । ‘एनसी विन’का लागि कार्यविधि र आचारसंहिता पनि पारित भएको छ ।












