Kathmandu Press

बुवा, साइकलको घण्टीले तिमी आएको खबर कहाँ सुनाउँछ र?

राज्य र तत्कालीन विद्रोही माओवादीले बेपत्ता बनाएका नागरिकका सन्तानका लागि बाबुको मुख हेर्ने आजको दिनले असह्य पीडाबाहेक केही दिँदैन। बुवा फर्किने आशमा उनीहरूले बाटो हेर्न थालेको दुई दशकभन्दा बढी भइसक्यो।
बुवा, साइकलको घण्टीले तिमी आएको खबर कहाँ सुनाउँछ र?

उहिलेजस्तो आज कहाँ छ र?
कहिलेकाहीँ मन आत्तिँदा बह पोख्‍ने,
तिम्रो न्यानो अँगालो आज कहाँ छ र?

उहिलेभन्दा अहिले धेरै बुझ्ने भएछु,
आँखाबाट आँशु पनि कमै झार्छु,
तर, उहिलेजस्तो रुदाँ आँशु पुछ्ने
तिम्रो हात आज कहाँ छ र?

आज पनि घरमा तिमीलाई 
मनपर्ने खाना पाक्छ तर,
नुन चर्को हुँदा पनि मिठो छ भन्‍ने
तिम्रा ओठ आज कहाँ छन् र?

Hardik ivf

आज पनि तिम्रो जन्मदिनको 
शुभकामना दिन तिमी फर्कने बाटो हेर्छु
तर, उहिलेजस्तो तिम्रो साइकलको घण्टीले
तिमी आएको खबर कहाँ सुनाउँछ र?

यो कविता हो, स्वस्तिका माली (१९ वर्ष) काे। १४ भदौमा माइतीघर मण्डलास्थित द्वन्द्वपीडित समुदायद्वारा आयोजित दीप प्रज्वलन कार्यक्रममा आफ्ना बुवाको सम्झनामा वाचन गरेको कविताका पंक्तिहरू हुन्। स्मृतिमा बुवाको धमिलो आकृति लिएर बाँचेकी छिन्। उनी। ललितपुर थेचोकी स्वस्तिका आफ्नी दिदी नग्मा मालीसँग बस्छिन् र पद्मकन्या क्याम्पसमा स्नातक तह अध्ययनरत छिन्।

बिनाकसुर सामान्य सोधपुछका लागि घरबाट उठाएर लगिएका बुवाहरू फर्किने आशमा आज पनि कैयौँ सन्तानहरू बाटो हेरेर बसेका छन्। ती सन्तान, जसले कहिल्यै बुवाको अनुहारसम्म देख्‍न पाएनन्, देख्‍न पाएका सन्तानले बुवाको काख महसुस गर्न पाएनन्। मनको कुनै कुनामा बुवाको धमिलो आकृति लिएर बाँचेका सन्तानका आँखाका आँशु अझै ओभाएका छैनन्।

आज कुशे औँशी अर्थात् सन्तानले बुवाको मुख हेरेर आशिर्वाद लिने दिन। ‘बुवाको मुख हेर्ने’ दिन आउँदा स्वस्तिका झस्किन्छिन्। ‘बुवाको मुख हेर्ने दिन आउँदा बुवाको झनै याद आउँछ,’ उनी भन्छिन्, ‘सामाजिक सञ्‍जालमा सबैले बुवासँगको फोटो राख्दा मेरो पनि बुवा फर्केर आउनुभए हुने नि जस्तो लाग्छ।’

बुवा आफूसँगै भए प्रत्येक दिन विशेष अनि प्रत्येक दिन बुवाको मुख हेर्ने दिन हुने उनी बताउँछिन्। आफ्ना साथीहरू बुवाका लागि उपहार किनमेलमा निस्किँदा, साथीहरूका सामाजिक सञ्‍जाल बुवाको तस्बिरले रंगिँदा स्वस्तिका भने बुवाको पुरानो अनि सादा तस्बिर हेरेरै चित्त बुझाउँछिन्।

थेचोस्थित सानो माटोको घर छ, जहाँ दुई दिदी-बहिनी बस्छन्। वर्षात्का कारण घरको भुइँतलामा बस्न मिल्दैन। ओसिएर सबै हिलाम्य छ, टेक्न सकिँदैन। बुवा फर्किने आसमा बाटो हेर्दै बसेको आज २० वर्ष हुन लाग्यो। पाँचजनाको परिवार हो नग्मा मालीको- हजुरआमा, बुवा, आमा अनि सानी बहिनी स्वस्तिका। ‘बहिनीलाई जन्म दिएपछि आमा बित्नुभयो, ०६१ सालमा बुवालाई सेनाका मान्छेले सोधपुछका लागि भन्दै घरबाट लगे र बेपत्ता बनाए,’ उनी भन्छिन्।

उनीहरूका बुवा नन्दगोपाल माली मूर्तिकार थिए। ताहचलस्थित पसलमा तामाबाट विभिन्‍न देवी-देवताका मूर्ति तयार गर्थे। ‘रातिसम्म काम गर्नुपर्ने र घर फर्किन ढिला हुने भएकाले साहुकोमा बस्नुपर्छ भनी हजुरआमासँग बिदा मागेर निस्किनुभएको हो रे,’ उनी भन्छिन्।

त्यो रात साहुकामै बसेका उनका बुवा बिहान तरकारी किन्‍न जाने क्रममा केही मानिसले सोधपुछका लागि लगेको कुरा घरमा खबर आएको हजुरआमाले उनलाई बताएकी थिइन्। ‘ती समूहका मानिस सेनाका मान्छे रहेछन्, सोधपुछ गर्न लगिएको मेरो बुवा आजसम्म घर फर्किनुभएको छैन,’ उनी भन्छिन्। त्यतिबेला नग्मा सात वर्षकी बच्ची थिइन्। जब कुरा बुझ्ने भइन्, बुवाको काखबाट टाढिएको असह्य पीडा लिएर बाँचिरहेकी छन्।

बुवाको खोजी गर्न आन्दोलनमा हिँडेकी, भोकभोकै धर्ना बसेकी आमा (नग्मा र स्वस्तिकाकी हजुरआमा) बेपत्ता पारिएको छोरोको अनुहार हेर्न नपाई संसारबाट बिदा भइसकिन्। हजुरआमाले बुवाको खोजीका लागि नाराबाजी गर्दै हिँडेको कता-कता सम्झना छ स्वस्तिकालाई। भन्छिन्, ‘त्योबेला मेरो हजुरआमा थुप्रै कारागारमा बुवालाई खोज्न जानुभयो, तर बुवा कतै भेटिनुभएन।’

अहिले नग्मा र स्वस्तिका बुवाको न्यायका लागि लडिरहेका छन्। हजुरआमाको छत्रछायामा बाँचिरहेका दुई बहिनी अहिले भने एक्लिएका छन्, बिल्कुल एक्ला। दुवै दिदी-बहिनी एकअर्काका अभिाभावकको भूमिका वहन गरिरहेका छन्। ‘बुवाको काखबिनाको बालापन, बुवाको साथबिनाको जीवन अरू कसैले बिताउन नपरोस्,’ स्वस्तिका भन्छिन्। बुवाको मुख हेर्ने दिन मात्र नभई एक्लो महसुस गर्दा बुवाको धमिलो तस्बिर हेरेर आफू सम्हालिने नग्मा बताउँछिन्।

‘बेपत्ता पारिएका व्यक्ति छानविन आयोग’का अनुसार सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएकाको हालसम्मको उजुरी संख्या तीन हजार दुई सय ४३ छ। यो राज्य र विद्रोही पक्ष दुवैबाट बेपत्ता पारिएकाहरूको संख्या हो।

धमिलो स्मृति बोकेर बाँच्नेका लागि ‘बुवाको मुख हेर्ने दिन'को चासो न महत्त्व

गोर्खाका सुदन अधिकारी अहिले चितवन मेडिकल कलेजमा इन्टर्नसिप गर्दै छन्। बुवाबिनाको बाल्यकाल बिताएका उनी अहिले डाक्टर बन्‍ने तयारीमा जुटेका छन्। उनी सात वर्षको छँदा उनका बुवा माधव अधिकारीलाई सोधपुछ गर्नु छ भनी घरबाट लगिएको थियो। ‘सामान्य सोधपुछ हो, भरे त बुवा आइहाल्नु हुन्छ नि भनी लगेका थिए। बुवा आजसम्म आउनुभएको छैन,’ उनी भन्छन्।

बुवा फर्किने आशमा सुदनले आफ्नो बालापनदेखि युवावस्था बिताए। तर, बुवा फर्किएर आउने कुरा राज्यको आश्वासनमा सीमित बनेको छ। तत्कालीन शाही सेनाले उनका बुवालाई बेपत्ता पारेको आज २० वर्ष हुन लागिसकेको उनी बताउँछन्। बुवालाई अपरिचित व्यक्तिहरूले एक्कासी उठाएर लगेयता कष्‍टकर जीवन बिताउन बाध्य भएका छन् उनी। ‘जीवन निकै संघर्षमय र अभावमा गुज्रिएको छ,’ उनी भन्छन्।

बुवाबिनाको जीवनप्रति फगत बिलौना गर्नुभन्दा परिवार पाल्न विदेश भास्सिएका दाजु र आमाको अनुहार हेर्न उनले अध्ययनलाई दिन दुईगुना र रात चौगुना मिहिनेत गरे। अध्ययनकै लागि काठमाडौं आए, एक्लोपन भुलाउन अक्षरको सहारा लिए। बुवासँग कुरा गर्न मन लागे, गुनासा अनि खुशीका भावना बाँड्नु परे पनि अक्षरलाई नै माध्यम बनाए। ठेगानाबिहीन बुवाका लागि लेखिएका तर नपढिएका कैयौँ चिठ्ठी उनका साथी हुन्। सात वर्षको बाल्यकालमा सुदनको सम्झनामा रहेका उनका बुवाको आकृति ताजै छ, कहिल्यै मेटिँदैन। जीवनमा उनी थकथक मान्छन्। भन्छन्, ‘बुवासँगको कुनै फोटो मसँग छैन, त्यही दुःख लाग्छ तर केही छैन बुवाको धमिलो आकृति मेरो स्मृतिमा ताजै छ।’

लगन र मिहिनेतका साथ उनले अध्ययनमा प्रगति गर्दै गए र अहिले मेडिकल अध्यन पूरा गरी इन्टर्नसिप गर्दैछन्। जीवनका निकै कठिन घडीहरू पार गरिसकेका सुदनले बुवाको सम्झनाले सताउन थालेपछि आफूलाई अध्यनमा व्यस्त बनाइराखे उनले। ‘मेरा धेरै साथी छैनन्, म सामाजिक सञ्‍जाल पनि निकै कम प्रयोग गछुर्,’ उनी भन्छन्, ‘अधिकांश समय लाइब्रेरी र किताबसँग बिताउँछु।’ बुवासँग आफ्ना सफलता, असफलता, पीडा अनि खुशी साट्न नपाउनुको दुःख अरू केही नभएको उनी बताउँछन्।

हरेक पल आउने बुवाको सम्झनाले आमाको अगाडि कमजोर नदेखिन एकान्तमा रमाउँछन्। ‘बुवाको पिरले आमा थला पर्नुभएको थियो, शिथिल शरीर भए पनि बुवा फर्किनुहुन्छ भन्‍ने आशले बुवाको अवस्थाबारे केही थाहा पाइस् भनी सोध्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘आमाको प्रश्नले म हरेकपल स्तब्ध हुन्थेँ अनि सानो छँदा आमालाई यही प्रश्न सोधेको क्षण सम्झिन्थेँ।’

बुवाको न्यायका लागि दिएको उजुरीमा बेपत्ता आयोगले उनको पत्र नम्बर १७२६ मा कारवाहीयुक्त अवस्थामा रहेको भन्‍नेबाहेक अन्य केही नगरेको उनी बताउँछन्। बेपत्ता आयोगले न्याय दिँदैन भन्‍ने जानकारी भए पनि आमालाई सम्झाउने अनेक कोशिस र सान्त्वना दिन छाडेका छैनन्।

‘पीडादायक विगत सम्झेर अल्झिनुभन्दा जीवन जिउन सक्नुपर्ने रहेछ,’ उनी भन्छन्, ‘बुवा हुनुहुन्छ भनौँ हामीसँग हुनुहुन्‍न, हुनुहुन्‍न भनौँ मन ले मान्दै मान्दैन।’ आज नभए भोलि त पक्कै कतैबाट आउनुहुन्छ कि भन्‍ने आश भने जीवित रहेको उनी बताउँछन्। ‘आफन्त अनि छरछिमेकीले आफ्नो संस्कारअनुसार दाहसंस्कार गर भनिसके। तर, बुवाको लास वा सास नपाएसम्म कसरी त्यस्तो गर्न सकिन्छ?’ उनी प्रश्न गर्छन्, ‘बुवालाई धमिलो स्मृतिमा राखेर बाँच्नेहरूका लागि बुवाको मुख हेर्ने दिनको न कुनैै चासो, न कुनै महत्त्व।’

अरूले भनिदिएको भरमा बुवाको आकृति आफैँले बनाउनुपर्ने बिडम्बना

ममता ढकाल इन्जिनियर हुन्, जसले बुवाको मुख नदेखेको २४ वर्ष बित्यो। चार वर्षकी छँदा बुवालाई घरबाट उठाएर लगेको कुरा उनलाई अरूले सुनाएका थिए। ममताले बुवालाई देखेकी छैनन्। उनी भन्छिन्, ‘बुवाको फोटो र अरूले यस्तो हुनुहुन्थ्यो भनेको र सुनेको भरमा आफैँले आकृति बनाएकी छु।’ सानो छँदा अरूले विद्यालयमा बुवाको कुरा गर्दा उनलाई पनि बुवाको अनुहार देख्‍ने रहरले कैयौँपटक आमालाई सोध्थिन्। बुवालाई घरबाट लिएर जाँदा आफूलाई केही याद नभएको उनी बताउँछिन्। भन्छिन्, ‘अनुहार नै नदेखेको भए पनि बुवा आउनुहुन्छजस्तोे आश लाग्छ।’

बुवालाई बेपत्ता पारिएपछि आमाले कष्‍टपूर्ण ढंगले तीन सन्तानलाई हुर्काइन्। बाल्यकालको कष्‍टकर दैनिकी सम्झँदा ममताका आँखा रसाउँछन्। ‘अरूले भनिदिएको र ऊबेलाको धमिलो फोटो हेरेरै बुवालाई मन मस्तिष्‍कमा सजाएकी छु। अब सोच्नूस् योजस्तो विडम्बना अरू के होला?’ उनी प्रश्न गर्छिन्। बुवाले धानेको परिवारमा उनी नै नहुँदा जीवन सहज नहुने उनी बताउँछिन्। भन्छिन्, ‘जीवनमा दुःख हरेकलाई पर्छ, दुःखसँग जुध्न पनि सकिन्छ तर अभिन्‍न अंगबिना निकै गाह्रो हुन्छ।’

गल्ती या अपराध गरेको भए मन बुझाउने बाटो हुने तर बिनागल्ती बेपत्ता पार्दा परिवारलाई पर्ने असर शब्दमा वर्णत गर्न नसकिने उनी बताउँछिन्। परिवार, आफन्त र समाज हरेकबाट भोगेको पीडा बुवा बेपत्ता नभएको भए नहुने उनले बुझेकी छन्। हरेकका लागि बाल्यकाल निकै प्रिय र यादगार हुने भए पनि बेपत्ता पारिएकाहरूका परिवारका लागि निकै सकसपूर्ण रहेको उनी तितो अनुभव सुनाउँछिन्। बुवालाई मात्र नभएर आमा र आफूलाई समेत लैजान्छन् कि भन्‍ने त्रासमा बाँच्नु परेको उनी बताउँछिन्। ‘हामीलाई समेत बेपत्ता पार्लान् भनेर कक्षा ७ मा नाम परिवर्तन गरेर पढेकी हुँ,’ उनी भन्छिन्।

अपूरो पारिवारिक पाटोसँगै हन्डर र ठक्करका बावजुद यहाँसम्म आउँदा पनि केही छुटेजस्तो महसुस गर्छिन् उनी। उमेरसँगै जिम्मेवारी वहन गर्ने र पीडालाई दबाउन, लुकाउन सक्ने भए पनि भित्री मनदेखि बुवा आइदिएको हुन्थ्यो, कुनै दिन त पक्कै आउनुहुन्छ भन्‍ने लाग्ने उनी बताउँछिन्। बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगले आजको दिनसम्म पनि कुनै कारवाही अगाडि नबढाएको उनको गुनासो छ।

हजुरबुवाको अनुहारमा बुवाको खोजी

बुवा फर्किने आशमा कुरेर बसेकी अर्की पात्र हुन्, देवी नगरकोटी। अहिले उनी अध्ययनको सिलसिलामा युरोपमा छिन्। देवी तीन वर्षकी छँदा उनका बुवालाई ‘माओवादी’ हो भनी घरबाटै उठाएर लगेको उनी बताउँछिन्। उनका बुवा गोपाल नगरकोटीलाई कोठाबाट उठाएर लगेको कुरा देवीलाई अरूले नै सुनाएका थिए। सानो उमेरमै बुवालाई समातेर लगेपछि हजुरबुवाले खोजतलास गरे पनि पत्ता नलागेको उनी बताउँछिन्। सन्तानका लागि आमा-बुवा दुवैको माया र स्याहारको महत्त्व भए पनि बुवालाई लिएर गएपछि आमाले पनि छाडेर गएको उनको दुःखद् भोगाइ छ। आमा-बुवा कोही नभएपछि हजुरबुवाको घरमा उनी र उनका दाजु हुर्किए।

बुवाको बारेमा हजुरबुवालाई धेरैपटक सोधे पनि कहिल्यै उत्तर नपाएको उनी बताउँछिन्। ‘बुवाको बारेमा हजुरबुवासँग एकोहोरो सोध्थेँ, हजुरबुवा रिसाउँदै अब आउँदैनन्, मारेर फालिदिए तेरो बुवालाई भनेर भन्‍नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘त्योबेला हजुरबुवाको पीडा बुझ्न सक्दिनथेँ, मेरो बच्चा बुद्धिले हजुरबुवाको पीडा कहाँ बुझ्थ्यो र?’ हजुरबुवाले आफू र आफ्ना दाजुका लागि गरेको योगदान र त्यागलाई सम्झेर जति गरे पनि अपुग हुने उनको बुझाइ छ। ‘अहिले त हजुरबुवा पनि हामीमाझ हुनुहुन्‍न तर उहाँकै अनुहारमा बुवालाई खोेज्छु,’ उनी भन्छिन्।

हजुरबुवाले दुई दाजु-बहिनीलाई हुर्काउन कुनै कसर बाँकी नराखेको उनी बताउँछिन्। जीवन जिउने क्रममा बुवाको पाटो छुटेको महसुस भए पनि आफूलाई सम्हाल्दै आएकी देवी उच्च शिक्षाका लागि विदेश गएकी हुन्। ‘आफूले देखेको सपना पूरा गर्न संघर्षमा छु,’ उनी भन्छिन्, ‘बुवाको हरेक पल साह्रै याद आउँछ, बुवासँगै हुन पाए सम्झाउनुहुन्थ्यो होला, सम्हाल्नुहुन्थ्यो होलाजस्तो महसुस हुन्छ।’

गलैँचा कारखानामा कार्यरत उनका बुवा गोपाललाई ०५८ सालमा सुराकी भन्दै एक्कासी एक समूहले लछारपछार गर्दै लगेको उनले सुनेकी थिइन्। त्यही सुन्दै हुर्केकी उनलाई बुवा फर्कनुहुन्छजस्तो लाग्छ अझै। उनका दुई सन्तान देवी र भीमले फर्किने आशमा बाटो हेरेको २० वर्ष भइसक्यो। देवीका वृद्ध हजुरबुवाले छोरो फर्किने आश गर्दागर्दै यो संसार छाडिसके। उनका हजुरबुवा नधाएको कुनै अड्डा अदालत थिएन, तर बेपत्ता पारिएका परिवारको पीडा कसले सुनिदिने?

प्रकाशित मिति: १३:१० बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्