जिसस प्रमुखसहित १० जनप्रतिनिधि एकीकृत समाजवादीमा
खोटाङ, भदौ २२ : नेकपा (एमाले)बाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत...
खोटाङ, भदौ २२ : नेकपा (एमाले)बाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गराएका छन्।
जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङसहित १० जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय खोटाङमा आएर एकीकृत समाजवादीमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ।
एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने जनप्रतिनिधिमा जिल्ला समन्वय समितिकै सदस्य उदयबहादुर कार्की र रञ्जना राई तथा बराहपोखरी गाउँपालिका–४ फाक्टाङका वडाध्यक्ष भुवलराज राईसमेत रहेका छन्।
यस्तै बराहपोखरी गाउँपालिका–५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा सदस्य अनुप चाम्लिङ राई, सोही नगरपालिका–८ दोर्पा बुवालुङका वडा सदस्य हरि चाम्लिङ, जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राई र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका रामकुमार बस्नेतले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ।
एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालले दल दर्ता गरेसँगै निर्वाचन आयोगले दल रोज्नका लागि भदौ २२ गतेसम्मको समय दिएपछि जिल्लाका जनप्रतिनिधिले सो पार्टीका पक्षमा सनाखत गर्ने क्रम जारी रहेको समाजवादीका जिल्ला सचिव जलशेर राईले बताए। अहिलेसम्म ४१ जनप्रतिनिधि खुलेको र आज थप जनप्रतिनिधि आउने उले बताए।
जिल्लाका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा दुई स्थानीय तहमा उपप्रमुख जितेको थियो। स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहित ९८ प्रतिशत जनप्रतिनिधि एमालेमै रहेको एमाले खोटाङका सचिव कुमार आचार्यले बताए।
एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य राजन राईले यसअघि नै एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन्। एमाले खोटाङका इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई एमालेमै रहेका छन्।
एमालेको २०७२ वैशाख १०–१४ गते सम्पन्न अधिवेशनमा निर्वाचित ५९ सदस्यमध्ये अध्यक्ष चाम्लिङसहित २३ सदस्य एकीकृत समाजवादीमा खुलेका छन्।












