राष्ट्र सङ्कटमा परेका बेला कांग्रेसले निकास दिन्छ: नेता सिंह
काठमाडौं, भदौ २१ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्र सङ्कटमा परेका बेला निकास दिने काम पार्टीले गर्दैै आएको बताएका छन् ।नेपाली कांग्रेस...
काठमाडौं, भदौ २१ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्र सङ्कटमा परेका बेला निकास दिने काम पार्टीले गर्दैै आएको बताएका छन् ।
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ ले आज जोरपाटीमा आयोजना गरेको ‘पार्टीको १४ औँ महाधिवेशन नेतृत्व विकास र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले निकास दिनकै लागि पार्टीको नेतृत्वमा वर्तमान सरकार गठन भएको बताए । देशमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न कसैसँग सम्झौता नगरेको पार्टीको इतिहास निरन्तर कायम गरिनुपर्नेमा पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले जोड दिए ।
उनले कांग्रेसले विगतमा अराष्ट्रिय तत्वको आरोप खेपेर पनि लोकतान्त्रिक मूल्य मान्यताका लागि काम गर्दै आएको स्मरण गर्दै संविधानमा उल्लेख भएका नागरिकका मौलिक अधिकारको रक्षाका लागि कांग्रेस नेतृत्वको सरकार प्रतिबद्ध हुनुपर्ने बताए । पार्टीको १४ औँ महाधिवेशनअघि क्रियाशील सदस्यता वितरणमा विधि र प्रक्रिया मिचिएका विषयमा नेतृत्व सजग हुनुपर्ने नेता सिंहको भनाइ थियो । विगत निर्वाचनमा कांग्रेस कमजोर भएकैले लोकतान्त्रिक संविधान फाल्न खोजिएको उल्लेख गर्दै उनले वडा तहसम्म आधार बलियो पार्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
पार्टी केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी विधानमा महाधिवेशन भएको तीन वर्षसम्म साधारण र क्रियाशील सदस्य बनाउन पाइने तर चौथो वर्षमा नपाइने व्यवस्था कार्यान्वयन नहुँदा २१ जिल्लामा सदस्यता विवाद आएको बताए । देशमा संविधानको शासनका लागि लडेको काग्रेसले पार्टीमा विधिको शासन स्थापित गर्नुपर्ने उनको भनाइ थियो । आगामी स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचन कांग्रेसले कसैको बुइ चढेर नभई एकलरूपमा लडेर बहुमत ल्याउने गरी तयारी गर्नुपर्ने उनको भनाइ छ ।
पार्टी केन्द्रीय सदस्य विष्णुविक्रम थापाले कांग्रेसमा जाति, धर्म, क्षेत्रको कुरा अतिवाद हुने भएकाले यस्ता विषयभन्दा उठेर बहस गर्न नेता, कार्यकर्तालाई आह्वान गरे । सिन्धुपाल्चोक कांग्रेसका सभापति विकास लामाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सहयोगका विषयमा पार्टीको तल्लो तहसम्म बहस चलाइनुपर्ने धारणा राखे ।












