Kathmandu Press

कोरोनाले रोकियो ऐतिहासिक रामलीला मञ्चन

नेपालगञ्ज, भदौ २० : नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ। विजयादशमीका अवसरमा मञ्चन...
कोरोनाले रोकियो ऐतिहासिक रामलीला मञ्चन

नेपालगञ्ज, भदौ २० : नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ। 

विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन कोरोना भाइरस महामारी सङ्क्रमणका कारण स्थगन गर्नुपरेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिए।

Hardik ivf

उनका अनुसार कोरोना भाइरस महामारी सङ्क्रमणको जोखिम र स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै यसपटकको रामलीला मञ्चन नगर्ने निर्णय गरिएको हो। एक सय ५३औँ वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चनलाई गत वर्ष पनि कोरोना महामारीका कारण सार्वजनिकरूपमा स्थगन गरिएको थियो। 

नेपालगञ्जको रामलीला मञ्चन यस वर्ष १५४औँ वर्षमा प्रवेश गर्दैछ। ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई प्रतिकात्मकरूपमा भने केही कार्यक्रम गरिने तयारी गरिएको छ। शनिबार बसेको रामलीला सञ्चालक समितिको बैठकले के–कस्तो स्वरुपको कार्यक्रम गर्ने भन्नेबारे निक्र्योल गर्न उपसमितिसमेत निर्माण गरेकोे छ।

रामलीला सञ्चालन गर्न नसकिए पनि मैदानमा अखण्ड रामायण पाठ, राम, सीतासहितको झाँकी प्रदर्शनलगायतका कार्यक्रम गर्नेबारेमा छलफल गरिएको अध्यक्ष कनौडियाले जानकारी दिए। नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भव्यरूपमा मनाउने गरिन्थ्यो। 

रामलीलामा भारत तथा नेपालका कलाकारले मञ्चन गर्दै आएका थिए। यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको रामलीला सञ्चालक समितिका अध्यक्ष कनौडियाको भनाइ छ। रामायणमा आधारित लीला प्रत्येक दिन राति ८ः०० बजेदेखि रामको राज्याभिषेक गरुञ्जेलसम्म जारी रहन्थ्यो। भारतको वृन्दावनबाट आउने कलाकारको टोलीले रामलिला मञ्चन गर्ने परम्परा थियो। 

यस वर्ष कोरोना महामारीका कारण रामलिला मञ्चन नहुने भए पनि पुर्खाले जोगाउँदै आएको रामलीलालाई अहिलेको पुस्ताले निरन्तरता दिएर जोगाउन आवश्यक रहेको रामलीला सञ्चालक समिति सदस्य एवं नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले उल्लेख गरे। 

सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयबीच लोकप्रिय छ। विगतमा भारतको उत्तरप्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेको वैश्यले बताए।
 

प्रकाशित मिति: ११:१३ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्