रेडक्रसकर्मीद्वारा ३२ शवको निःशुल्क व्यवस्थापन
म्याग्दी, भदौ १९ : पछिल्लो पाँच महिनाको अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका ३२ जनाको शव रेडक्रसकर्मीले निःशुल्क व्यवस्थापन गरेका छन्। स्थानीय तहले...
म्याग्दी, भदौ १९ : पछिल्लो पाँच महिनाको अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका ३२ जनाको शव रेडक्रसकर्मीले निःशुल्क व्यवस्थापन गरेका छन्। स्थानीय तहले सञ्चालन गरेका कोरोना अस्पतालमा ज्यान गुमाएका सङ्क्रमितको शव व्यवस्थापन गर्न गत वैशाखमा नेपाल रेडक्रस सोसाइटीले शाखाका उपमन्त्री सुरत केसीको नेतृत्वमा स्वयंसेवकको टोली बनाएको थियो।
शाखा सभापति लेखबहादुर हमालले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका ३२ जनाको शव सरकारको मापदण्ड पूरा गरेर रेडक्रसकर्मीले निःशुल्क व्यवस्थापन गरेको जानकारी दिए। उपमन्त्री केसीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी आनन्द रिजाल, बेनी अस्पतालका कर्मचारी जनक सोनामलगायतका शव व्यवस्थापन गर्ने स्वयंसेवक टोली बनाइएको थियो।
पहिलो र दोस्रो लहरको कोरोनाबाट म्याग्दीमा तीन हजारभन्दा बढी सङ्क्रमित भएका र १०० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। रेडक्रसको स्थापना दिवसका अवसरमा आज बेनीमा आयोजित कार्यक्रममा शाखाले कोरोना महामारी नियन्त्रण, विपद् व्यवस्थापनको क्षेत्रमा गरेका गतिविधिका बारेमा जानकारी गराइएको थियो।
सोही कार्यक्रममा पत्रकारका लागि पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष प्रकाश पौडेल र सचिव सन्तोष गौतमलाई दुई हजार थान सर्जिकल मास्क र ४० बोतल स्यानिटाइजर उपलब्ध गराइएको छ। रेडक्रसले विपद् व्यवस्थापन, बेनीमा रक्तसञ्चार गृह र दरबाङमा आँखा उपचार केन्द्र, तीनवटा एम्बुलेन्स सञ्चालनका साथै रघुगङ्गा गाउँपालिकाको बेग, दग्नाम र चिमखोलामा आइरिस रेडक्रसको सहयोगमा एक हजार जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ।
कोरोना नियन्त्रणका लागि विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय, उपशाखालाई स्वास्थ्य सामग्री वितरण गरेको रेडक्रसको गोदाममा ४० हजारभन्दा बढी मास्क छन्। गत बर्खामा १४८ परिवारलाई नगद र राहत सामग्री तथा यसपालि ८० परिवारलाई राहत सामग्री उपलब्ध गराइएको थियो।
रेडक्रसले बेनी अस्पताल परिसरमा सञ्चालन गरेको रक्तसञ्चार गृहबाट सुविधा लिनेलाई स्थानीय तहहरूसँगको समन्वयमा निःशुल्क रगत परीक्षण गर्ने व्यवस्था मिलाउन लागेको छ। त्यसका लागि रघुगङ्गा गाउँपालिकाले एक लाख रुपैयाँ र जिससले एक लाख रुपैयाँ उपलब्ध गराएका छन्। रेडक्रसले दरबाङमा सञ्चालन गरेको आँखा उपचार केन्द्र भने व्ययभार थेग्न नसकेपछि बन्द गर्नुपर्ने अवस्था आएको सभापति हमालले बताए।












