Kathmandu Press

हरिराम अधिकारीलाई मूर्ति बनाउन भ्याइनभ्याइ 

यतिखेर उनी बाराको जितपुरमा निर्माणाधीन एकीकरण पार्कमा राख्न पृथ्वीनारायणको सालिक पूरा गर्नमा केन्द्रित छन्। त्यसो त सोही पार्कमा राख्न अन्य थुप्रै मूर्ति बनाउने जिम्मेवारी पनि उनैले पाएका छन्।
हरिराम अधिकारीलाई मूर्ति बनाउन भ्याइनभ्याइ 

काठमाडौं, भदौ १९ : काठमाडौंको सीतापाइलास्थित नेपथ्य कास्टिङ स्टुडियोमा राजा पृथ्वीनारायण शाहको सालिकलाई अन्तिम रूप दिँदै गर्दा भेटिए मूर्तिकार हरिराम अधिकारी। तयार भइसकेका अन्य थुप्रै आकर्षक सालिक पनि त्यहाँ देखिए, जुन उनकै कलाशिल्पका कारण सौन्दर्यले निखारिएका थिए।

हालै ललितकलामा स्नातकोत्तर पूरा गरेका ३२ वर्षीय अधिकारी पछिल्लो समय मूर्ति निर्माणमै व्यस्त छन्। गुल्मी घर भई हाल काठमाडौंमा बस्दै आएका उनी अर्डरबमोजिम मूर्ति वा सालिक बनाउने गर्छन्।

सातआठ वर्षयता मूर्ति/सालिक निर्माणकै काम गर्दै आएका उनी अहिले भने रोजाइको मूर्तिकारमा पर्न थालेका छन्। मूर्तिलाई दुरुस्त बनाउने अद्भूत क्षमताकै कारण हिजोआज उनलाई भ्याइनभ्याइ हुने गरेको छ। मूर्ति रचनाकौशलकै कारण उनलाई अचेल धेरैले मूर्तिकारका रूपमा चिन्न पनि थालेका छन्।

Hardik ivf

यतिखेर उनी बाराको जितपुरमा निर्माणाधीन एकीकरण पार्कमा राख्न पृथ्वीनारायणको सालिक पूरा गर्नमा केन्द्रित छन्। त्यसो त सोही पार्कमा राख्न अन्य थुप्रै मूर्ति बनाउने जिम्मेवारी पनि उनैले पाएका छन्। कतिपय बनाइसकेका छन् त कतिपय सुरुवातकै चरणमा छन्। मूर्ति निर्माणका लागि निकै समय खर्च हुने गरेको उनी सुनाउँछन्। ‘पृथ्वीनारायणको सालिक बनाउन झन्डै पाँच महिना लाग्यो,’ उनी भन्छन्। 

सोही एकीकरण पार्कमा राख्न उनले नेपाली सेनाको गुर्जु पल्टनलाई प्रतिनिधित्व गर्ने मूर्ति पनि बनाइरहेका छन्। नेपाल आमाको सालिक निर्माणमा पनि निकै मिहिनेत गरेको उनी बताउँछन्। एकीकरण पार्कमै राख्न जानकी मन्दिर, तलेजुु भवानी मन्दिरको प्रतिमा पनि उनी बनाउँदैछन्। 

राजा पृथ्वीनारायण शाहको एकीकरण अभियानमा सघाएका तराईका चार प्रतिनिधि जाति भोजपुरी, मैथिली, थारू र मुस्लिमका संस्कृतिलाई झल्काउने खालका मूर्तिहरू बनाउन जिम्मेवारी पनि पाएको उनी बताउँछन्। ती मूर्तिहरू पनि सोही पार्कमै राखिनेछन्।   

ललितकलाप्रति सानैदेखिको रुचिका कारण एसएलसी सकिएलगत्तै गुल्मीबाट काठमाडौं आएर भोटाहिटीस्थित सिर्जना कलेजबाट उनले पढाइ थालेका हुन्। ललितकला विषय लिएर अध्ययन थालेका उनले मूल विषयका रूपमा मूर्तिकला रोजे। उनले प्रमाणपत्र तह र स्नातक सिध्याएपछि स्नातकोत्तर भने त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट पूरा गरेका हुन्।

एकोहोरो पढाइमै घोत्लिनेभन्दा पनि जानेका कुराहरूलाई प्रयोगात्मक रूपमा उतार्ने क्रममा मूर्तिहरू निर्माणमा हात हालेको उनी बताउँछन्। ‘पढाइकै सिलसिलामा काठ, ढुंगा, माटो, मैन आदि वस्तुमा उनले मूर्ति बनाउन सिकेको थिएँ,’ उनी भन्छन्, ‘अचेल व्यावसायिक रूपमै मूर्ति बनाउँछु।’

आफूले बनाएका गौतम बुद्धको मूर्ति आफूलाई नै खुबै मन पर्ने गरेको उनको भनाइ छ। त्यसो त आर्मी हेडक्वार्टरमा राखिएको राजा पृथ्वीनारायणको सालिक, शिवपुरी सैनिक ब्यारेकमा राखिएको आर्मी कमान्डोको सालिक बनाउने सौभाग्य पाएको पनि उनी बताउँछन्। ती मूर्ति बनाउन आफू अहोरात्र जुटेको र नेपाली सेनाले पनि त्यसलाई मन पराएको उनी बताउँछन्। त्यसकारण एकीकरण पार्कमा राखिने मूर्तिहरू बनाउने अवसर आफूले पाएको उनको भनाइ छ।

उनलाई अर्का मूर्तिकार माधव पौडेलले पनि सघाउँदै आएका छन्। सुरुमा कास्टिङको काम भने त्रियबहादुर अस्लामी मगरले गर्ने गरेको उनी सुनाउँछन्। मूर्तिकार अधिकारी यो पेसामा लाग्नेले चित्रकलामा पनि पोख्त हुनुपर्ने बताउँछन् । ‘चित्रकलामा दखल राख्न नसक्नेले मूर्ति निर्माणमा सफलता पाउन सक्दैनन्,’ उनी भन्छन्।

पेसागत रूपमा मूर्ति निर्माणलाई नै आत्मसात् गरेका उनले पछिल्लो समय राम्रो कमाइ पनि गर्न थालेका छन्। कमाइभन्दा पनि आफूले गरेको काम अरूले मन पराइदिए भने अत्यन्त खुसीको अनुभूति हुने उनको भनाइ छ। 


 

प्रकाशित मिति: १३:३० बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्