Kathmandu Press

कोभिड–१९ जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थाल्यो

कोभिड–१९ जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थाल्यो

काठमाडौं, भदौ १९ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको जनाएका छन्। 

उनले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेका छन्। कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ। 

Hardik ivf

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो। उनका अनुसार स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्ने छ। 

मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो भएकाले कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ। स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ। 

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने बताएका छन्। मन्त्रालयले समयमा नै उपचार नगरे यसले गम्भीररुप लिन सक्ने जनाएको छ। 

बच्ने उपाय 

किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने जनाइएको छ। 

प्रकाशित मिति: ११:५९ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्