‘रेप्लिका’ अर्थात् प्रतिमूर्ति : साजसज्जा मात्र कि सम्पदामाथि अतिक्रमण ?
पुरातात्त्विक वस्तुको रेप्लिका अर्थात् प्रतिमूर्ति बनाउने चलन प्राचीनकालदेखि नै सुरु भएको हो। पछिल्ला वर्ष विभिन्न मन्दिरका मूर्तिहरूको पनि रेप्लिका बनाउने चलन सुरु भएको छ, जसलाई विज्ञहरू अनावश्यक मान्छन्।काठमाडौं, भदौ १९ : हनुमानढोका दरबार घुम्न जाने स्वदेशी–विदेशी पर्यटकले बुढानीलकण्ठको रेप्लिका हेर्न पाउँछन्, जुन राजा प्रताप मल्लले बनाउन लगाएको इतिहासकार त्रिरत्न मानन्धर बताउँछन् ।
मानन्धरका अनुसार राजाहरूले बुढानीलकण्ठको दर्शन गर्न नमिल्ने विश्वासका कारण पूजा आराधनाका लागि हनुमानढोका दरबारभित्र रेप्लिका बनाइएको हो । मल्लकालमै बुुढानीलकण्ठको अर्को रेप्लिका हालको बालाजु उद्यानमा पनि बनाइएको छ, जहाँ शाहवंशीय राजाहरूले पूजा आराधना गर्थे । बुुढानीलकण्ठको मूर्ति भने लिच्छछवीकालमा निर्माण भएको प्रमाणित भइसकेको मानन्धर बताउँछन् ।
रेप्लिका अर्थात् कुनै पुरातात्त्विक वस्तुको प्रतिकृति वा प्रतिमूर्ति । विशेषतः रेप्लिका मूूर्ति तथा मठमन्दिरकै बढी बनाइने गरेको छ । यद्यपि, मूर्तिहरूको रेप्लिका भने ३०–४० वर्षअघि मात्र बन्न थालेको इतिहासकार मानन्धर बताउँछन् । तर, मन्दिरकै रेप्लिका बनाउने चलन लामो समय अघिदेखि चलिआएको छ । उदाहरणका लागि मल्लकालमा बनेका मठमन्दिरहरू ।
मल्लकालमा उपत्यकाका तीन राज्य भक्तपुर, कान्तिपुर र पाटनले अर्को राज्यमा रहेका उत्कृष्ट कलाकृतिको देखासिकी गरी रेप्लिका बनाउने गर्थे । जस्तै– भक्तपुरमा यक्ष मल्लले बनाएको यक्षश्वर मन्दिर, जसलाई काठमाडौंस्थित पशुुपतिनाथको रेप्लिका मानिन्छ । यस्तै, पाटनको कृष्ण मन्दिरको रेप्लिका पनि भक्तपुरमा छ ।
उत्कृष्ट मानिएका भक्तपुरका न्यातापोल मन्दिर, काठमाडौंको पशुुपतिनाथ र ललितपुरस्थित कृष्ण मन्दिरको एक–एक रेप्लिका यी तीनै स्थानमा देख्न सकिन्छ । ख्याति र धार्मिक आस्थाका कारण मल्ल राजाहरूले रेप्लिका बनाउने गरेको इतिहासकार मानन्धर बताउँछन् ।
पशुपतिनाथकै रेप्लिका बनारसस्थित ललितघाटमा पनि छ, जसको सञ्चालन र संरक्षण नेपाल सरकारको पुरातत्त्व विभागले गर्दै आएको छ । उक्त मन्दिर पुुग्दा जोकोहीले काठमाडौं पशुपतिनाथको प्रतिमूर्तिको झल्को पाउँछन् । अमेरिकामा पनि पशुपतिनाथको रेप्लिका बनाइएको छ ।
त्रिभुवन विश्वविद्यालय इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभाग प्रमुख प्रा. डा. मदनकुमार रिमालको मत पनि त्यही छ । भन्छन्, ‘तत्कालीन राजा अझ विशेषतः मल्लकालीन राजाहरू बीच कलाकृतिका विषयमा प्रतिस्पर्धा थियो । सोही कारण खास चर्चामा आएका मठमन्दिर तथा कलाकृतिका प्रतिमूर्ति बनाउन उनीहरूबीच प्रतिस्पर्धा थियो ।’
सज्जाका लागि रेप्लिका
जर्मनी मूलका आर्किटेक्ट वल्फग्याग कर्नले आफ्नो पुस्तक ‘द शिखर्स– द ट्रेडिसनल नेवार आर्किटेक्चर अफ द काठमाडौं भ्याली’मा लेखेका छन्, ‘पाटन दरबार क्षेत्रमा रहेको सुन्दरी चोकभित्र टुुसाहिटी छ । टुसीहिटीको ठ्याक्कै माथिल्लो भागमा कृष्ण मन्दिरको सानो आकृतिमा रहेको रेप्लिका छ । यद्यपि, कृष्ण मन्दिरमा जस्तो गजुर उक्त रेप्लिकामा छैन । सन् १७३० मा बनेको उक्त सुन्दरी चोकमा कृष्ण मन्दिरकै दुरुस्त प्रतिकृति बनाइएको छ ।’
साजसज्जाका लागि मात्र कृष्ण मन्दिरको रेप्लिका बनाइएको उनले उक्त पुुस्तकमा उल्लेख गरेका छन् ।
यस्तै, उपत्यकाका विभिन्न बहाः र बिहीमा पाइने बुद्धका प्रतिकृति पनि रेप्लिका नै हुन् । ‘यस्ता रेप्लिका धार्मिक आस्था र साजसज्जाका लागि नै बन्ने हुन्,’ प्रा. डा. रिमाल भन्छन्, ‘रेप्लिका बन्नुका विभिन्न कारण हुन्छन् ।’
‘द्योः छे’मा राखिन्छन् मुख्य देवता
काठमाडौं उपत्यकाका करिब ९५ प्रतिशत मठमन्दिरस्थित मुख्य देवताका मूर्ति ढुंगाका छन् । ‘पहिले पहिले ढुंगाका मूर्तिहरूको आकार हुँदैनथ्यो । ती मूूर्ति इमेजलेस हुन्थे,’ इतिहासकार मान्नधर भन्छन्, ‘सोही मन्दिरको आकारसहितको मुख्य मूर्ति सुन, पित्तल र चाँदीका हुन्थे । जसलाई द्योः छे अर्थात् देवताको घरमा राखिन्थ्यो ।’
विस्तारै ढुंगाका मूूर्तिमा पनि कलाकृति खोपिने चलन सुरु भयो । जस्तै– गणेशको मूर्ति भए सुुँडको जस्तो आकार दिने, भगवती भए हातहरूको झलक कुँद्ने आदि । यद्यपि, मन्दिरमा ढुंगाका मूर्ति स्थापना गरेर मुख्य मूर्तिलाई भने सम्बन्धित मन्दिरहरूको ‘द्योः छे’ अर्थात् देवताको घरमा राखिने चलन छ । यसको एक ज्वलन्त उदाहरण म्हैपी र इन्द्रायणी मन्दिरका मूर्ति हुन् । यी मन्दिरमा ढुंगाका मूर्ति छन् । तिनीहरूका मुख्य मूर्ति भने ‘द्योः छे’, ‘तंलाछी’ र ‘त्योड’मा छन् । ‘द्योः छे’ सम्बन्धित मन्दिरमै छन् भने ‘तंलाछी’ असनको पूर्व र ज्याठाको दक्षिण तथा ‘त्योड’ असन र ठँहिटीको बीचमा पर्छन् ।
चैत्र शुक्लपूर्णिमामा म्हैपीमा जात्रा हुन्छ । त्यसको अघिल्लो दिन तंलाछीको ‘द्योः छे’बाट म्हैपीदेवीको चाँदीमा मूर्ति उक्त ढुंगाको मूर्तिमाथि प्रतिस्थापन गरिन्छ । जात्राको दिन मुख्य मूर्तिलाई सम्बन्धित क्षेत्रमा परिक्रमा गराइन्छ । दोस्रो दिन उक्त मुख्य मूर्तिको विसर्जन गराई पुनः देवताको घरमा सुरक्षित साथ राखिन्छ ।
इतिहासकार मानन्धर भने त्यसरी मूर्तिहरूको रेप्लिका बनाउन आवश्यक नभएको बताउँछन् । कारण– हरेक मन्दिरका मुख्य मूर्ति ‘द्योः छे’मै हुने भएकाले चिन्तित हुनु नपर्ने उनको तर्क छ ।
विष्णुुमतीस्थित इन्द्रायणी मन्दिरमा भने ढुुंगाकै मूर्ति छ । ‘त्योड’मा रहेको ‘द्योः छे’बाट इन्द्रायणीको सुनको मुख्य मूर्ति बाला चतुदर्शीको अघिल्लो दिन मन्दिरमा ल्याइन्छ । बाला चतुदर्शीको मेला अवधिभर घर–घरमा लगी पुजिने उक्त मूर्तिलाई अर्को दिन विर्सजन गरी देवताको घरमा सुरक्षित राख्ने गरिन्छ ।
लिच्छवीकालमा निर्माण भएका करिब ९५ प्रतिशत मन्दिरमा मुख्य मूर्तिको सुरक्षा गर्ने चलन रहेकाले पनि रेप्लिका बनाउन आवश्यक नरहेको मानन्धरको तर्क छ । आवश्यकताअनुसार रेप्लिका बनाउनुपर्ने उनी बताउँछन् । पछिल्लो समय बनेका महत्त्वपूर्ण मानिएका वा अस्तित्व जोखिममा रहेका मन्दिर र मूर्तिहरूको रेप्लिका बनाउनु आपत्तिजनक नहुने पनि उनको भनाइ छ । पुराना मन्दिरमा राखिएका देवताका ढुंगाका मूर्ति र देवताको घरमा राखिने देवताका मुख्य मूर्तिहरूलाई रेप्लिकाको रूपमा तुलना गर्न नमिल्ने पनि उनी बताउँछन्।
प्रा. डा. रिमाल पनि रेप्लिकालाई आपत्तिजनक मान्न नहुने धारणा राख्छन् । यद्यपि, रेप्लिकालाई नै ‘ओरिजिनल’ भएको दाबी गर्ने प्रवृत्ति मान्य नहुने उनी बताउँछन् ।
विवादमा लुम्बिनीको रेप्लिका
केही वर्षअघि भारतले लुम्बिनीको दुरुस्त प्रतिकृति तयार पारेको हल्ला फैलियो । बुद्ध मात्र नभई लुम्बिनी नै भारतमा पर्छ भन्ने अफवाहले नेपाली सशंकित भए । र, ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान नै विश्वव्यापी रूपमा चल्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आएका बेला बुद्ध नेपालमै जन्मेको स्पष्टीकरण दिनुपर्यो । नेपाली नागरिकहरूलाई थप चिढिन नदिन तत्कालीन भारतीय विदेश मन्त्री सुष्मा स्वराज लुम्बिनी नै पुगेर बुद्ध जन्मस्थल नेपालमै पर्ने र भारतले नेपालको कुनै सम्पदामाथि दाबी नगर्ने स्पष्टोक्ति दिइन्।
इतिहासकार मानन्धर र प्रा. डा. रिमाल दुवैका अनुसार खास विवाद बुद्ध वा लुुम्बिनीको दुरुस्त कपीमा नभई कपिलवस्तुुमा हो । दुरुस्त कपी बनाए भन्ने विषय गलत र अफवाह मात्र भएको उनीहरू बताउँछन् । प्रा. डा. रिमाल भन्छन्, ‘बरु, प्राचीनकालमा कपिलवस्तुुमा बस्ने शाक्यहरू, जो हाल भारतको पिप्रहवामा बस्छन्, ले बुद्धको अस्तुुको थोरै अवशेष पाएर स्तुपाको निर्माण गरे र अफवाह सुरु भएको थियो ।’
उनका अनुसार बुद्ध जन्मेर २९ वर्ष बिताएको तिलौराकोट प्राचीन कपिलवस्तुको एक भाग हो । २५ सय वर्षअघि कपिलवस्तुु राज्य हाल नेपाल र भारतको सीमांकनमा विभाजित भएको छ । जसमा प्राचीन कपिलवस्तुको पिप्ररहवा र बनवरिया भारतमा पर्छन् भने तिलौराकोट नेपालमा । ‘सोही कारण त्यो विवाद निम्तिएको हो,’ प्रा. डा. रिमाल भन्छन्, ‘जसलाई मलजल गर्ने काम भारतको पिप्रहवा र बनवरियााम बसाइँ सरेका शाक्यहरूले बनाएको स्तुपका कारण भयो ।’
रिमाल तथा मानन्धर दुवैले भारतमा लुम्बिनीको कुनै प्रकारको रेप्लिका नबनेको तथा भारत सरकारको पुरातत्त्व विभागले पनि दाबी नगरेको प्रष्ट्याए ।
तथापि, नेपालबाहिर लुम्बिनीको रेप्लिका निर्माण गर्ने प्रयास नभएको होइन । चीन र दक्षिण कोरियामा बनाउन खोजिएका रेप्लिका लुम्बिनी विकास कोषले कडा आपत्ति जनाएपछि नेपाल सरकारले स्वीकृति दिएन । दुवै मुलुकमा नेपाल सरकारबाट स्वीकृति लिएर लुम्बिनीको रेप्लिका निर्माण प्रयास भएको थियो ।
चीनमा रेप्लिकामाथि प्रतिबन्ध
अन्तर्राष्ट्रियस्तरमा पनि विभिन्न देशका उत्कृष्ट कलाकृतिका रेप्लिका बनेका उदाहरण छन् । अमेरिकाको न्युयोर्क हार्बरस्थित लिबर्टी आइल्यान्डमा निर्मित ‘स्ट्याचु अफ लिबर्टी’का रेप्लिका एक सयभन्दा बढी ठाउँमा बनाइएको ‘न्युुयोर्क टाइम्स’को एक लेखमा उल्लेख छ । तीमध्ये ३० वटाभन्दा बढी फ्रान्समै छन् । खासमा, ‘स्ट्याचु अफ लिबर्टी’ फ्रान्सका मूर्तिकारले बनाएका हुन् । र, त्यसलाई फ्रान्सले अमेरिकालाई उपहारस्वरूप प्रदान गरेको थियो ।
यस्तै, भारतको शान मानिने ताजमहलका सातवटा रेप्लिका भारतमै बनेका छन् । तीमध्ये महाराष्ट्रमा रहेको एक शाहजहाँका छोरा औरंगजेबले ‘बिबी का मकबारा’ उपनाममा बनाएका छन् । उक्त रेप्लिकालाई ‘द मिनी ताज महल’ उपमा दिइएको छ । वास्तविक ताज महलकै नक्कल गरी औरंगजेबले बनाएको ‘द ट्रिब्युन’को एक लेखमा उल्लेख छ । यस्तै, इजिप्टस्थित पिरामिडहरूका रेप्लिका पनि विभिन्न देशमा पाइन्छन् ।
‘द कन्भर्सेसन’ नामक एक अंग्रेजी न्युजपोर्टलले चीनले रेप्लिकामाथि प्रतिबन्ध गरेको उल्लेख गरेको छ । ‘केही वर्षयता चिनियाँ डेलपर्सहरू कलाकृतिका प्रतिकृति बनाउने परियोजनामा लागेका छन् । जस्तै– ग्वान्जाओ प्रान्तमा रहेको अस्ट्रियन गाउँ, ह्याङजोमा पेरिसको आइफल टावर, लन्डनको पुल, लन्डन पुल (जसलाई भत्काइएको छ) र सिड्नीको ओपेराको दुरुस्त लिआउनिङ प्रान्तमा बनाइएको छ,’ न्युजपोर्टलले लेखेको छ ।
भविष्यमा आफ्नो भूमिमा त्यस्ता प्रतिकृति बनाउन चीनले प्रतिबन्ध लगाएको हो । रेप्लिका बनाउँदा पनि चीनकै र चिनियाँ कलाकृतिमा हुनुपर्ने चीन सरकारको निर्णय छ ।
के हो रेप्लिका ?
सामान्य बुुझाइमा रेप्लिकाको अर्थ प्रतिमूर्ति वा प्रतिकृति हो । कुनै पनि मूल वस्तुको दुरुस्त नक्कल भन्न सकिन्छ, रेप्लिकालाई । मूल वस्तुुभन्दा केही सानो आकारमा हुनुपर्ने नियम भने रेप्लिकामा लागू हुन्छ ।
ल्याटिन शब्द ‘रेप्लिकेरबाट रेप्लिका बनेको हो । जसको अर्थ उस्तै कपी वा प्रति बनाउनु हो । रेप्लिकाको प्रयोग विज्ञानदेखि कलासम्म गर्ने चलन छ । संगीत क्षेत्रमा भने रेप्लिकालाई राम्रो मानिँदैन । कलाकृतितर्फ यसप्रति मिश्रित तर्क देखिन्छन् । विज्ञानले रेप्लिकालाई प्रयोगात्मक र अनुसन्धानमा ठूलो स्थान दिएको छ ।