चन्द्रागिरिमा युवा तथा तरुण भेला सम्पन्न
काठमाडौं, भदौ १८ : काठमाडौँका चन्द्रागिरिमा नगरस्तरीय युवा तथा तरुण भेला सम्पन्न भएको छ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सन्दर्भमा आज कांग्रेस चन्द्रागिरी नगर कार्यसमिति...
काठमाडौं, भदौ १८ : काठमाडौँका चन्द्रागिरिमा नगरस्तरीय युवा तथा तरुण भेला सम्पन्न भएको छ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सन्दर्भमा आज कांग्रेस चन्द्रागिरी नगर कार्यसमिति र नेपाल तरुण दल काठमाडौँ क्षेत्र नं ९ र १० को संयुक्त आयोजनामा ग्रिनल्यान्ड बैङ्केट त्रिभुवनपार्कमा नगरस्तरीय युवा तथा तरुण भेला सम्पन्न भएको हो।
कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीभित्र अग्रजको सम्मान गर्दै युवालाई समेटेर अगाडि बढेमा पार्टी गतिशील र चलायमान हुने बताए। ‘पार्टीको १४औँ महाधिवेशनमा धेरैभन्दा धेरै युवा प्रतिनिधित्व गराउनुपर्छ,’ उनले भने।
नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं १० बाट विजयी सांसद एवम् पूर्वमन्त्री राजेन्द्रकुमार केसीले युवालाई सीप र उद्यमशीलतासँग जोडे मात्र मुलुकको विकास हुने भन्दै कांग्रेसले युवालाई उद्यमसँग जोड्नका लागि विभिन्न कार्यक्रम अगाडि सारेको बताए।
कांग्रेस काठमाडौँका सचिव राजकुमार नकर्मीले देशभरका विभिन्न जिल्लाको क्रियाशील सदस्यता टुङ्ग्याए पनि काठमाडौँको अहिलेसम्म नटुङ्गिएको भन्दै चाँडो टुङ्ग्याएर निर्वाचनको वातावरण निर्माण गर्न पार्टी नेतृत्वसँग आग्रह गरे।
कांग्रेस चन्द्रागिरि नगर कार्यसमितिका सभापति एवम् चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरिमा सबै मिलेर कांग्रेसको अधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए।
काठमाडौँको सबैभन्दा ठूलो नगरपालिकामा चन्द्रागिरिमा १५ वडा छन् । उक्त भेलामा १५ वटै वडाका युवा तथा तरुणको सहभागिता रहेको कांग्रेस चन्द्रागिरिका युवा नेता सरोज थापाले जानकारी दिए।












