बाढी पहिरो पीडितको उद्धारमा नेपाली सेना
काठमाडौं, भदौ १७ : केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरो प्रभावितको उद्धार र राहतका लागि नेपाली सेनाले...
काठमाडौं, भदौ १७ : केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरो प्रभावितको उद्धार र राहतका लागि नेपाली सेनाले प्राथमिकता दिएको छ ।
१३ भदौमा वर्षाका कारण दार्चुला महाकाली नगरपालिका–१ र दुहु गाउँपालिका–३ जोड्ने दार्चुला–तिंकर सडकको निजाङ खोलामा निर्मित पक्की मोटरेबल पुल बाढीले बगाएको छ । त्यसक्षेत्रमा पैदल आवतजावत गर्नसमेत कठिन छ । जिल्ला प्रशासन दार्चुला र उक्त क्षेत्रका बासिन्दाको अनुरोधमा सेनाको टोलीले निजाङ खोलामा अस्थायी काठे पुल निर्माण गरेको छ । पुल निर्माणपछि त्यस क्षेत्रमा अलपत्र परेका करिब दुई सयजना आ–आफ्नो गन्तव्यमा पुगेका छन् ।
यस्तै, १६ भदौमा दाङ घोराही उपमहानगरपालिका–१७ स्थित सिस्ने खोलामा नेपालगञ्जबाट आउँदै गरेको प्रदेश–३–०१–०२४ च ४४४० नम्बरको कार पुल पार गर्ने क्रममा बाढीले पुलसहित बगाएको छ । सेनाको खोज तथा उद्धार टोलीले नेपाल प्रहरीको सहयोगमा सो कारमा सवार दुईजनाको शव र घाइते चालकको उद्धार गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको छ।












