डुबेर तथा खोलाले बगाएर ६ जनाको मृत्यु

काठमाडौं, भदौ १७ : कैलालीको गौरीगंगा नगरपालिका-३ कुचैनीस्थित शिबगंगा नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ५२ वर्षीय ढिग्रा चौधरीको बुधबार साँझ मृत्यु भएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह बस्ने ३० वर्षीयि लक्ष्मण कुमार ईसरको सोही नगरपालिका-२ सखर देहीस्थित कोशी नहरमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ।
शौचालय गर्न कोसी नहरतर्फ गएकोमा घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा उक्त नहरमा डुबेर घाइते भएको अवस्थामा फेला पारी उपचारको लागि भारदह अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
झापाको कन्काई नगरपालिका-१ लालपानीस्थित नालीमा डुबेर सोही ठाउँ बस्ने ६६ वर्षीया नरमाँया दर्जीको बुधबार दिउँसो मृत्यु भएको छ । घाँस काट्ने क्रममा उक्त नालीको पानीमा डुबेर उनको मृत्यु भएको हो।
रामेछापको खाँडादेवी गाउँपालिका-५ तारामणी बस्ने सानु तामाङको छोरी ९ वर्षीया अनिशा तामाङ र टारबारी बस्ने गोपाल सार्कीको छोरी १२ वर्षीया मनिता सार्कीको सोही ठाउँस्थित भटौली खोलाले बगाएर बुधबार दिउँसो मृत्यु भएको छ।
नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका-२ नारायणी नदीमा नुहाउन जाँदा उक्त खोलामा आएको बाढीले बगाउँदा चितवन भरतपुर महानगरपालिका-११ बस्ने ९१ वर्षीय देबिराम आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।












